बालविवाहले बढ्दै पारिवारिक संकट

सुर्खेत, २२ फागुन ।
जाजरकोट जुनीचाँदेका विक्रम (नाम परिवर्तन) ले सुर्खेतको लेकबेशी नगरपालिकाकी कौशिला (नाम परिवर्तन) ले तीन वर्षअघि प्रेम विवाह गरे । दुबैजना वीरेन्द्रनगरको एउटा विद्यालयमा सँगै अध्ययन गर्थे । दुबै जनाको डेरा पनि सँगसँगै थियो । त्यसबेला विक्रम १९ र कौशिला १७ वर्षकी थिइन् । तर उनीहरुको विवाह धेरै टिकेन ।

पढ्ने उमेरमा विवाह गरेको भन्दै विक्रमको परिवारले अस्वीकार गरे । त्यसपछि उनीहरु वीरेन्द्रनगरमै बसे । दुबै जनाको पढाइ बिग्रियो । परिवारसँग पनि सम्बन्ध राम्रो भएन । आर्थिक समस्या भएपछि विक्रम रोजगारीका लागि भारत हानिए ।

विक्रम भारत पसेको केही समयमै कौशिलाले दोस्रो विहे गरिन् । सँगै जिउने–बाँच्ने कसम खाएको यो जोडी विवाहको दुई वर्ष पनि टिक्न सकेन । तीन महिना अघि मात्र स्वदेश फर्किएका विक्रम भन्छन्, ‘उसैका लागि परिवारबाट छुट्टिएँ, पढाइ छाडेर विदेश गएँ । धन कमाएर घर बनाउने सपना थियो, तर म नफर्किँदै ऊ अन्तै पो गइछ ।’

सुर्खेतको सिम्ताकी गरिमाले कक्षा ९ मा पढ्दै गर्दा सोही ठाउँका कविराजसँग बिहे गरिन् । एउटै विद्यालयमा पढ्ने उनीहरुको गाउँ पनि नजिकै थियो । १६ वर्षको कलिलो उमेरमा विवाह गरेकी उनी १७ वर्षमै आमा बनिन् ।

विहेपछि दुबैको पढाइ छुट्यो । श्रीमान् कमाउन रोजगारीका लागि विदेश गए । तर गरिमा परिवारसँग बस्न सकिनन् । बच्चासहित माइतीको शरणमा पुगिन् । परिवारले माइतीमा बसेर अर्कैसँग हिमचिम गरेको आरोप लगाए । कविराजले गरिमालाई खर्च पठाइरहे । तर परिवारका सदस्यले अनेक आरोप लगाए । यही शंकामा गरिमा र कविराजको सम्बन्ध बिग्रियो । कविराजले उनलाई खर्च पनि पठाउन छोडे ।

कविराज विदेशबाट फर्किए । तर गरिमालाई बेवास्ता गरे । दुबै जनाले पछि दोस्रो विवाह गरे । बच्चालाई कसैले साथमा लिएनन् । बच्चालाई अहिले मावलीले पालनपोषण गर्दै आएका छन् । माथि उल्लेखित जोडी केही प्रतिनिधिमुलक घटना हुन् ।

कर्णालीमा धेरै बालबालिकाले कलिलै उमेरमा विवाह गर्छन् । परिपक्व नहुँदै विहे गरेका अकिकांश जोडीको समय धेरै टिक्दैन । उनीहरु मध्ये अधिकांशले दोस्रो विवाह गर्ने गरेका छन् । पढ्दा पढ्दै बालविवाह गर्ने र बुझ्ने भएपछि पछुताउने धेरै जोडी छन् ।

बालविवाहका कारण अधिकांशले बीचमै पढाइ छोड्नु परेको छ । विवाहपछि घर व्यवहारमा व्यस्त हुनुपर्दा अधिकांशको पढाइ छुट्ने गरेको हो । यस्तै बालिकाहरु उमेर नपुग्दै आमा बन्दा स्वास्थ्यमा गम्भीर असर देखिने गरेको छ ।

अधिकांश किशोरीमा पाठेघर खस्ने समस्या देखिएको छ । सानै उमेरमा बुहारीको भूमिकामा परिवारको बोझ थेग्नुपर्ने बाध्यताका कारण पनि किशोरीहरु शारीरिक र मानसिक रुपमा पीडित बन्ने गरेका छन् । विवाहपछि किशोरहरु घरव्यवहारमा बाँधिन्छन् । जसका कारण पढाइ छोडेर रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हुन्छ ।

कुन जिल्लामा कति बालविवाह ?
कर्णालीका दश जिल्ला मध्ये रुकुमपश्चिममा सबैभन्दा धेरै बालविवाह हुने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार रुकुमपश्चिममा ७१ प्रतिशतले बालविवाह गर्ने गरेको देखिएको छ ।

त्यस्तै दैलेख र सल्यानमा ७० प्रतिशत, जुम्लामा ६९ प्रतिशत र सुर्खेतमा ६७ प्रतिशतले बालविवाह गर्ने गरेका छन् । जाजरकोटमा ६५ प्रतिशत, कालिकोटमा ६९ प्रतिशत मुगुमा ५७ प्रतिशत, हुम्लामा ५२ प्रतिशत र डोल्पामा ५० प्रतिशत नागरिकले बालविवाह गर्ने गरेको छन् ।

बालविवाहविरुद्धको अभियान हरायो
तत्कालिनन लेखफर्सा गाविसबाट सुर्खेतमा पहिलो पटक बालविवाहविरुद्धको अभियान थालिएको थियो । हालको लेखबेशी नगरपालिकामा पर्ने उक्त स्थान जिल्लामै पहिलो बालविवाहमुक्त गाउँ बन्यो । तर अभियान हराएसँगै बालविवाह गर्नेक्रम पनि बढ्दै गएको छ ।

विभिन्न गैरसरकारी संस्थाको पहलमा बालविवाहमुक्त गरिएका क्षेत्रमा पछिल्लो समय बालविवाहको दर बढ्दै गए पनि त्यसतर्फ कसैको ध्यान पुगेको छैन । उमेर नपुग्दै विवाह गर्ने कलिला जोडी जग्गेबाटै खोसिए ।

जिल्लालाई नै बालविवाहमुक्त घोषणा गर्ने उदेश्यसहित सुरु भएको यो अभियान अहिले सुस्ताएको छ । स्थानीयदेखि र प्रदेश सरकारले बालविवाह न्यूनिकरणका लागि कार्यक्रम ल्याएका छैनन् ।

बालविवाह न्यूनीकरणका लागि सरकारी निकायबाट पनि प्रभावकारी पहल भएको छैन । स्थानीय तह र प्रदेश सरकारले बालविवाह न्यूनीकरणका लागि ठोस योजनाहरु ल्याएका छैनन् ।

बालविवाहले बढ्दै पारिवारिक संकट

कुमाखको नेटामा एमाले अगुवा कार्यकर्ता भेला

बालविवाहले बढ्दै पारिवारिक संकट

आमाले गरिन् आफ्नै १२ बर्षीया छोरीको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *