स्थानीय तह जनप्रतिनिधिका पाँच बर्ष : ‘जे सोचेका थियौं, त्यो गर्न सकेनौं’

सुर्खेत, २१ फागुन ।
‘सामुदायिक विद्यालयको गुणस्तर सुधार्छु, हरेक वडामा पक्की सडक पु¥याउँछु’ यही सोचेका थिए सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्दै गर्दा उनले केही प्रतिबद्धताहरु पनि मतदाताको बिचमा गरेका थिए ।
‘तपाइँ भोट दिनुस्, म विकास दिन्छु’ उनले चुनावी आमसभामा मतदातालाई यसैगरी फकाए पनि । त्यतिमात्र होइन, निर्वाचन जितेपछि कार्यपालिकाको पहिलो बैठकमै उनले हरेक वडालाई सडक सञ्जालमा जोड्ने निर्णय पनि गरे ।
तर सोचेजस्तो भएन । ‘सबै वडाहरुमा ट्याक त खोलेँ, तर बाह्रै महिना गाडी चल्ने अवस्था छैन’ उनी भन्छन्, ‘चुनावमा जे सोचेका थिएँ, त्यो सबै पुरा गर्न सकिएन ।’
चुनावमा होमिदा गाउँगाउँमा पक्की सडक, सामुदायिक विद्यालयको गुणस्तर सुधार, आधारभूत स्वास्थ्यमा सबैको पहुँच र घरघरमा खानेपानी पु¥याउने उनको योजना थियो । ‘सडक, खानेपानी र शिक्षामा आमूल परिवर्तन गर्छु भन्ने सोचेको थिएँ’ उनी भन्छन्, ‘जनताको घरदैलोमा विकास पुरयाउँछु भनेको थिएँ, तर आर्थिक स्रोत र जनशक्ति अभावका कारण सोचे जति कामै गर्न सकिएन ।’
सडकसँगै सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने उनको योजना थियो । तर न शिक्षा ऐन बन्यो, न विद्यार्थीको चापअनुसार शिक्षक नियुक्त हुन सक्यो । केन्द्र सरकारले दरबन्दी अनुसारको शिक्षक नै दिएन ।
यहीकारण सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न नसेकेको उनले बताए । ‘गर्नुपर्ने त धेरै थिए, तर कार्यकाल सकिन थालिसक्यो’ उनी भन्छन्, ‘बजेट र जनशक्ति अभावका कारण सोचे जस्तो विकास गर्न सकिएन ।’ उनी जस्तै बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्माले पनि निर्वाचनमा जनतासँग गरिएका सबै बाचा पुरा गर्न सकिनन् ।
‘चुनावमा जाँदा कम्तिमा जनताको घरदैलोसम्म सडक पुरयाउँछु भन्ने सोचेकी थिएँ’ उनले भनिन्, ‘तर बजेट अभावकै कारण सबै वडामा सडक नै पु¥याउन सकिएन ।’ प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको बराहतालको वडा नं. १ र वडा नं. ३ अझैं सडक सञ्जालमा जोडिएको छैन ।
‘केन्द्र सरकारले रानीघाटमा पुल बनाउन ढिलाइ गरेका कारण वडा नं. १ र ३ मा सडक पु¥याउँन सकिएन’ उनी भन्छिन्, ‘पुल बनाउन केन्द्र सरकारले चासो दिएन, गाउँपालिकासँग बजेट भएन ।’ पुल बनाउने चाहना भए पनि गाउँपालिकामा करोडौं बजेट नभएको उनले बताइन् ।
बराहतालकै वडा नं २ र ४ मा पनि सडकको राम्रो पहुँच छैन । ‘भर्खर ट्याक खोलिएका बाटोमा बाह्रै महिना गाडी नै चलाउन सकिदैन’ उनी भन्छिन्, ‘बजेट भए विकासका लागि पुल र पक्की बाटाहरु बनाउँथ्यौं, त्यो भएन ।’
त्यहाँ पनि बजेटसँगै जनशक्तिको उस्तै अभाव भयो । ‘स्थानीय तहमा त कर्मचारीहरु आउनै मानेनन्’ उनी भन्छिन्, ‘बजेट र जनशक्ति बिना कसरी कसरी काम गर्नु ?’ हस्त र शोभा मात्रै होइनन्, कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा प्रायः जनप्रतिधिले यस्तै महशुस गरेका छन् ।
उनीहरुले बजेट र जनशिक्त अभावकै कारण सोचे जस्तो विकास निर्माण गर्न सकेनन् । विकास निर्माणका लागि ठूलो बजेट आवश्यक हुन्छ । तर अधिकांश स्थानीय तहको आम्दानीको स्रोत छैन । बजेटको ठूलो हिस्सा केन्द्र र प्रदेश सरकारको मातहतमा छ ।
नयाँ संरचना भएका कारण जनशक्तिको चरम अभाव भयो । अधिकांश जनप्रतिधिमा अनुभव थिएन । अनुभव सिक्दा सिक्दै जनप्रतिनिधिको कार्यकाल सकिन थालेको छ । अब चाहेर पनि ठूला आयोजना पुरा गर्न सक्ने अवस्था छैन ।
‘कानुनले नै छेकबार गरयो’
स्थानीय तहको विकास निर्माणका लागि बजेट र जनशक्तिसँगै कानुनले पनि छेकबार लगाएको जनप्रतिनिधिको गुनासो छ । ‘पहिले स्थानीय तहका आफ्नै संरचना थिएनन्, केही गर्न खोज्यो कि कानुनले छेकबार लगायो’ बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मा भन्छिन्, ‘पहिलो बर्ष खासै काम भएन, फूलमाल लगाउँदैमा समय थित्यो ।’
दोस्रो बर्ष विकास निर्माणले गति लिए पनि त्यसपछि कोरोना महामारीका कारण सोचेअनुसार काम नभएको उनको भनाइ छ । ‘स्थानीय तहलाई कर्मचारी नियुक्त गर्ने अधिकार भएन’ डोल्पाको ठूलोभेरी नगरपालिकाका उपप्रमुख योगेन्द्रबहादुर शाहीले भने, ‘दुर्गममा त कर्मचारीले अभावकै कारण सोचेजति विकास निर्माण गर्न सकिएन ।’
गुर्भाकोट नगरपालिकाका मेयर पुनले पनि जनशक्ति भर्नाका लागि कानूनी अड्चनका कारण सामुदायिक शिक्षाको गुणस्तर सुधार्न नसकेको बताउँछन् ।
कानुन र संरचना बनाउँदै समय घर्कियो
वितेका पाँच बर्षमा स्थानीय तहले धेरै कानुन र संरचना बनाएका छन् । सोचेजस्तो भौतिक विकास निर्माण नभए पनि वडादेखि पालिकाका संरचनाहरु बनेका छन् ।
यहीकारण अब आउने जनप्रतिनिधिलाई काम गर्न सहज हुने जनप्रतिनिधिहरु बताउँछन् । ‘हाम्रो कार्यकाल त कानुन र संरचना बनाउनमै वित्यो’ ठूलीभेरी नगरपालिकाका उपप्रमुख शाही भन्छन्, ‘अब आउनेलाई हाम्रो जस्तो दुःख हुँदैन ।’
वितेको पाँच बर्षमा हरेक पालिकाले आफ्ना संरचनाहरु बनाएका छन् । पालिकाको टुङ्गो लगाएका छन् । गाउँगाउँमा सडक पु¥याउन ट्याक खोलिएका छ ।
यहीकारण अब आउने जनप्रतिधिलाई काम गर्न सहज हुने र विकास निर्माणको जस पनि पाउने गुर्भाकोटका मेयर पुन बताउँछन् । ‘हामीले विकासको खाका कोरीदिएका छौँ’ उनी भन्छन्, ‘अब आउनेलाई कुनै अप्ठेरो छैन, यही बाटोमा हिँडे पुग्छ ।’
निर्वाचनअघि गुर्भाकोटको आफ्नै भवन थिएन । अहिले गुर्भाकोटको सुविधा सम्पन्न भवन छ । नगरपालिकाले सबै वडामा मोटरबाटो पुरयाएको छ । अब आउने जनप्रतिनिधिले त्यही बाटोलाई ग्राभेल र कालोपत्रे गरेमात्रै जश पाउने उनले बताए ।






