माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

लमजुङ,१८ मंसिर ।

बेनी बजार, म्याग्दी । बुधबार राति ११ः२२ बजे । मुस्ताङ आउजाउको बाटैमा पर्ने यो बजारका अधिकांश बासिन्दा सुतिसकेका थिए । यहीँबाट चर्चित क्यानेडियन साइक्लिस्ट करी वालेसले यात्रा थाले । २० घण्टा ३० मिनेट लगातार साइकल चलाएर उनले २ सय १७.२३ किलोमिटर पहाडी र उच्च हिमाली भूभाग छिचोले । बिहीबार बेलुकी ७ः५२ बजे लमजुङको बेंसीसहर आइपुग्दा उनी पसिनाले लुछुप्प भिजेका थिए ।

विश्व चर्चित साइकल दौड प्रतियोगिता याक अट्याकको १४ औं संस्करणमा भाग लिन आएका ३८ वर्षीय करी आफ्ना यसअघिका चार रेकर्ड तोडेर पाँचौं पटक च्याम्पियन बने । यो विजयपछि एक साता आराम गरेर उनले म्याग्दीको बेनीदेखि पदमार्गको ‘उल्टो यात्रा’ थालेका थिए । चक्रीय अन्नपूर्ण पदमार्गको लमजुङ बेंसीसहरबाट सुरु हुने यात्रालाई ‘सुल्टो’ मानिन्छ ।

चक्रीय अन्नपूर्ण पदमार्गको उच्च हिमाली क्षेत्रमा आयोजित यस वर्षको याक अट्याक–२०२२ मा ८ मुलुकका ११ जनासँगै ९ जना नेपाली साइकलयात्री पनि सहभागी थिए । ८ दिनको समयावधि दिइने २ सय २० किलोमिटरको उकालीओरालीलाई साइकलमा उनले १४ घण्टा ५४ मिनेट ३७ सेकेन्डमा पार गरेर विगतको आफ्नै कीर्तिमान तोडे ।

प्रतियोगिता सकिएपछि करीले थालेको साइकल यात्राको आफ्नै उद्देश्य थियो । उनको ‘उल्टो यात्रा’ लाई माउन्टेन बाइकिङ वल्र्डवाइड लिमिटेड र माउन्टेन बाइक (एमटीबी) नेपालले सहयोग गरेको थियो ।

यो यात्राअघि उनले नेपालमा साइकल यात्राको ट्रेन्डलाई व्यावसायिक तवरले विकास गर्न काठमाडौंस्थित नेपाल साइक्लिस्ट राइड टु रेस्क्यु (एनएसआरआर) संस्थालाई सहयोग गर्न डिजिटल प्लेटफर्म ‘गो फन्ड मी’ मार्फत सहयोगको आह्वान गरेका थिए । ४ हजार क्यानेडियन डलर संकलन गर्ने लक्ष्य लिएकोमा लगभग पूरा भएको उनले बताए ।

एमटीबी नेपालका निर्देशकसमेत रहेका अजय पण्डित क्षेत्रीका अनुसार करीले च्यारिटीबाट संकलन गरेको रकमबाट नेपाली साइक्लिङ खेलाडी उत्पादन गर्ने संस्था नेपाल साइक्लिस्ट ट्रेनिङ सेन्टरलाई सहयोग मिल्नेछ ।

सडकबत्तीको उज्यालोमा सहयात्रीले तस्बिर खिचेपछि करीको साइकलयात्रा बेनीबाट भएको थियो । जोमसोम–मुक्तिनाथ हुँदै उकालोमा साइकल बोक्ने र गुडाउँदै थोराङ्ला भन्ज्याङ चढ्दा बिहान भइसकेको थियो ।

मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र दिउँसोको घाम लाग्ने समयबाहेक निकै चिसो छ । ‘माइनस डिग्रीको तापक्रम छ । म हस्याङ्फस्याङ साइकल चलाउँछु, बोक्छु, धकेल्छु । मलाई पसिनाले भिजायो,’ करिले यात्राअनुभव बताए, ‘मैले मेरो यसअघिका सबै रेकर्ड तोड्नु छ भनेर उकालोमा पनि दौडिएँ ।’

पूर्वबाट उदाउँदै गरेको घामको लालीसँगै थोराङ्ला पुगेपछि उनले लामो सास फेरे । त्यसपछिको ओरालो साइकलमा हुइँकिएका उनले बाटोमा को आए, को गए कसैलाई हेरेनन् । माथिल्लो मनाङ, मनाङ सदरमुकाम चामे, धारापानी भएर लमजुङ–मनाङ सीमाक्षेत्रको तालगाउँमा आएपछि उनलाई गाह्रो भयो । बेंसीसहर आइपुग्दा झमक्क अँध्यारो भइसकेको थियो ।

‘याक अट्याक’ मा ८ दिन लगाएको यात्रालाई उनले यसअघिका आफ्नो ३ वटा कीर्तिमान तोड्दै लगातार साइकल चलाएर नयाँ बनाए । ‘मलाई मेरो गन्तव्यमा सकेसम्म छिटो पुग्नु थियो । यसअघिको मेरो कीर्तिमानलाई भंग गर्नु थियो । मैले मेरो यात्राबाहेक अरु कहींकतै केही देखिनँ ।

बेंसीसहरमा आएर साइकल पल्टाएर लामो सास फेरें । एकछिन आँखा चिम्लिएपछि हेरें । त्यसपछि होटल आएँ,’ उनले भने । उनले आफ्नो फेसबुकमा ‘हिमालयको मुटु १७ हजार ८ सय फिट भएर २ सय १७ किलोमिटर पार गरेको यो दिन आफ्नो लागि जीवनभर सम्झना रहने छ’ भनी लेखेका छन ।

यात्राको सुरुवातमा मुक्तिनाथसम्म उनलाई साथीहरू राजन भण्डारी र अजय कार्कीले साथ दिएका थिए । ‘थोराङ्लासम्मको उकालो र त्यहाँबाट बेंसीसहरसम्मको यात्रामा एक्लै थिएँ’ उनले भने, ‘मेरो शक्ति ताल (लमजुङ र मनाङको सीमाना) सम्म राम्रै थियो ।

त्यसपछि घट्दै गयो । बेंसीसहरसम्म आइपुग्दा मलाइ निकै गाह्रो भइसकेको थियो ।’ तालदेखि बेंसीसहरसम्मको ३५ किलोमिटर दूरी पार गर्न निकै सकस भएको अनुभव उनले सुनाए । २००८ देखि साइकल रेसहरूमा भाग लिन थालेका करी वालेस यो क्षेत्रमा विश्वप्रसिद्ध छन । साइक्लिङ प्रतियोगिताहरूमा थुप्रै रेकर्ड राखेका करीले चक्रीय अन्नपूर्ण पदमार्गमा हुने साइकल प्रतियोगितामा भने २०१७ देखि भाग लिन थालेका हुन ।

पहिलो यात्रामा बेंसीसहरबाट म्याग्दीसम्मको दूरीलाई उनले २३ घण्टा ५७ मिनेटमा पार गरेका थिए । यही दुरी सन् २०१८ मा २१ घण्टा २७ सेकेन्डमा छिचोले भने २०१९ मा २० घण्टा ३३ मिनेटमा पार गरे । यस पटकको ‘उल्टो यात्रा’ मा भने उनले यी तीन कीर्तिमान तोडेका छन ।

साइक्लिङको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वल्र्ड सोलो ट्वन्टी फोर आवर माउन्टेन बाइक’ मा सन् २०१७ यता चार पटक च्याम्पियन बनेका कोरीले पछिल्लो यात्राको दूरी जीपीएस प्रयोग गरेर नापेका छन । दुईपटक क्यानेडियन म्याराथन च्याम्पियन बनिसकेका उनले २०१७ मा इटाली र सन् २०१८ मा स्कटल्यान्डमा आयोजित विश्व च्याम्पियनसिपमा २० देशका ३ सय ५० भन्दा बढी सहभागीलाई उछिन्दै उपाधि जितेका थिए ।

अमेरिका, ग्वाटेमाला, मंगोलिया, श्रीलंका, अस्ट्रेलिया, युरोप, अफ्रिकालगायत ४० देशमा साइकल दौडाइसकेका उनले नेपालका खुम्बु, सोलखुम्बु, मनास्लु, चितवन, लुम्बिनी, कालिञ्चोकलगायत क्षेत्रमा साइकल कुदाइसकेका छन । सन् २०१४ मा याक अट्याक प्रतियोगितामा भाग लिँदा उनले नमिठो अनुभव बटुलेका थिए ।

त्यतिबेला उनी एक सातासम्म पखाला चलेर बिरामी परेका थिए । त्यसबेला आफूलाई प्रदूषणका कारण त्यस्तो भएको उनको ठम्याइ छ । त्यसैले उनी यात्रामा प्रदूषण घटाउन साइकल चलाउनुपर्छ भन्ने सन्देश दिन्छन । उनी भन्छन्, ‘सबैले साइकल चलाउनुपर्छ ताकि प्रदूषण घटाउन मद्दत मिलोस्  ।’

कान्तिपुर

माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई

माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

जुम्लामा जन्ती गएर फर्किएका पुरुषको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *