कर्णालीबाट चिकित्साशास्त्र अध्यापन

जुम्ला,१९  साउन  ।

स्याङ्जाका सिद्धार्थ पौडेल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययनरत हुन्  । आईएस्सी उत्तीर्ण गर्दैगर्दा उनलाई जुम्लामा एमबीबीएस पढाइ हुने कलेज छ भन्नेसमेत थाहा थिएन । एमबीबीएस तयारीमा रहेको बेला जुम्लामा चिकित्साशास्त्र पढाइ हुने खबर सुनेपछि उनले जुम्लामा गएर एमबीबीएस पढ्ने निधो गरी प्रवेश परीक्षामा सहभागी भएको बताए ।

पढाइका लागि नाम निस्किएपछि जुम्ला आएको सुनाउँदै उनले  भने , “सुरुमा कस्तो होला ? कसरी जुम्ला जाने भन्ने लाग्थ्यो । अहिले यस्तो राम्रो ठाउँमा आएर एमबीबीएस पढ्न पाउँदा खुसी लागेको छ । अब जुम्लाबाट चिकित्सक बन्ने सपना पूरा गर्दै छु ।”

एमबीबीएस अध्ययनरत विद्यार्थी सिद्धार्थजस्तै सिरहाका नरुजाहँ खातुन पनि अहिले जुम्लामा एमबीबीएस अध्ययन गरेका  छन्  । सिरहाको कल्याणपुर नगरपालिका–६ निवासी नुरजाहँले आफूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डाक्टर बनाउनेमा ढुक्क भएको बताए  ।

मधेशबाट हिमालमा पढ्न आउँदा सुरुमा नौलो लागे पनि अहिले राम्रो लागिरहेको उनले बताए  । सिन्धुपाल्चोककी रेजिना ढकाल पनि जुम्लामा एमबीबीएस अध्ययनरत हुन् । रेजिनाले “सुगमबाट दुर्गम भनेर आएको जुम्ला त सुगम पो रहेछ,” हाँस्दै सुनाए  ।

उनले एमबीबीएस खुला छात्रवृत्ति कोटामा नाम निकालेर पढ्न आएको बताए  । अध्ययनका लागि नाम निकालेर जुम्ला आउन पाउँदा खुसी भएको भन्दै जुम्लाबाट चिकित्सक पढ्ने सपना पूरा हुने उनले बताए  ।

कुनै समयमा चिकित्सक नपाउने जुम्ला अहिले चिकित्सक उत्पादन गरिरहेको छ । जुम्लामा एमबीबीएससहितका स्वास्थ्यसम्बन्धी उच्च शैक्षिक कार्यक्रम सुरु भएपछि दुर्गम ठाउँमा धेरैको ध्यानाकर्षण भएको छ ।

यस वर्ष विगत वर्षभन्दा एमबीबीएसमा दसवटा कोटा थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आधारभूत मेडिकल विज्ञानका संयोजक प्राध्यापक डा। दिनेश बास्तोलाका अनुसार प्रतिष्ठानमा अघिल्लो वर्षदेखि २० जना एमबीबीएस विद्यार्थी अध्ययन गरिरहेका छन् ।

यस वर्ष ३० जनाको सिट स्वीकृत भएको बताइएको छ । अझै विद्यार्थी भर्ना हुनेक्रम जारी छ । उनका अनुसार उच्च शिक्षामा स्कुल अफ मेडिसिन, दोस्रो स्कुल अफ नर्सिङ र तेस्रो स्कुल अफ पब्लिक हेल्थ विषयका कक्षा सञ्चालन भइरहेका छन् । स्कुल अफ मेडिसिनमा एमबीबीएस र बी फार्मेसी पढाइ भइरहेको छ ।

नर्सिङमा मिडवाइफ स्नातक र बीएन अध्ययन भइरहेको बताइएको छ । स्नातकोत्तरमा एमडी एनेस्थेसिया, एमडी पेड्रियाटिक्स, एमएस अर्थो र एमडीजीपी कक्षासमेत सञ्चालन गरेको छ । २०७८ साल मङ्सिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य कार्यक्रमबीच एमबीबीएस कार्यक्रम उद्घाटन गरेपछि जुम्लामा एमबीबीएस कार्यक्रम सुरुवात भएको हो ।

स्राेत ः गाेरखापत्र

कर्णालीबाट  चिकित्साशास्त्र अध्यापन

दक्षिण कोरियामा एक नेपालीको सवारी दुर्घटनामा परी

कर्णालीबाट  चिकित्साशास्त्र अध्यापन

श्री एअरलाइन्सको विमान उडेको केहीबेरमै आपत्कालीन अवतरण

Leave a comment

Your email address will not be published. Required fields are marked *