युक्रेनबाट बाहिरिए चार सय नेपाली, नेपाली राजदूतले युक्रेन प्रवेश पाएनन्

समाचार एजेन्सी, १९ फागुन ।
रुसी आक्रमणपछि युद्धग्रस्त युक्रेनबाट बुधबार साँझसम्म चार सय नेपाली बाहिरिएका छन् । यीमध्ये पोल्यान्ड सीमाक्षेत्रबाट मात्रै तीन सय २५ भन्दा धेरै बाहिरिएका छन् ।

युक्रेनको राजधानी किभ, खार्किभ र ओडेसाबाट नेपालीहरू पोल्यान्ड, हंगेरी, रोमानिया र स्लोभाकियाका सीमाक्षेत्रमा पुग्ने क्रम जारी छ ।

युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काले बुधबार पोल्यान्ड–युक्रेन सीमाक्षेत्र पुगेर स्थलगत अवस्था बुझेका छन् । उनी हाल सीमाक्षेत्रमै छन् ।

‘नेपालीहरू सीमाक्षेत्रमा आउने क्रम जारी छ, म सीमाक्षेत्र मेडिकामा आइपुगेको छु,’ बुधबार राति करिब १० बजेतिर राजदूत खड्काले टेलिफोनमा भने, ‘पासपोर्ट भएकाहरूलाई पोल्यान्ड प्रवेश सहजै दिइएको रहेछ, तर ट्राभल डकुमेन्ट मात्रै भएकालाई केही सोधपुछ गरेर छाडिदिने रहेछन ।’

मेडिका सीमाक्षेत्रबाट पोल्यान्ड प्रवेश गर्ने नेपालीको संख्या भने न्यून रहेको उनले बताए । राजदूत खड्काको भनाइ थियो, ‘अहिले भिडभाड पनि कम हुँदै गएको रहेछ । विभिन्न समूहमा नेपालीहरू आउनुभएको छ । पोल्यान्ड पुगेपछि उहाँहरूले चाहेको गन्तव्यमा जान कुनै अप्ठ्यारो रहेनछ ।’

एनआरएनएले नेपालीलाई उद्धार गर्न सीमाक्षेत्रमा बस राखे पनि त्यो सुविधा प्रयोग गर्नेको संख्या पनि न्यून रहेको राजदूत खड्काले बताए । ‘हजार युरो तिरेर साथीहरूले बस स्ट्यान्डबाइ राख्नुभएको रहेछ, तर बस बुधबार रित्तै थियो,’ उनले भने ।

बुधबार पोल्यान्ड, स्लोभाकिया र रोमानिया प्रवेश गर्ने नेपाली भेटिए पनि हंगेरी प्रवेश गर्नेहरू नदेखिएको राजदूत खड्काले जानकारी दिए ।

युक्रेन जान पाएनन् राजदूत
राजदूत खड्का बुधबार युक्रेनको सीमामा प्रवेश गर्न खोजेका थिए, तर भिसा नभएको भन्दै उनलाई प्रवेश दिइएन ।

‘म युक्रेनतिर पनि गएर परिस्थिति बुझौँ भन्ने हिसाबले पुगेको थिएँ, तर प्रवेश पाइनँ,’ राजदूत खड्काले भने, ‘त्यहाँको परिस्थितिका कारण हुन सक्छ, कूटनीतिक पासपोर्ट भएको अवस्थामा पनि त्यहाँ जान पाइएन । त्यसकारण पोल्यान्डको सीमाक्षेत्रमा पुगेर नेपालीसँग कुराकानी गरिरहेको छु ।’

युद्धग्रस्त खार्किभमा रहेका दुईजना नेपाली विद्यार्थी पोल्यान्डको सीमानजिकको युक्रेनी सहर लिभिव प्रस्थान गरेका छन् । ‘हामी दिउँसो लिभिवतर्फ प्रस्थान गरेका छौँ । सकभर यहीँ बसौँ, परिस्थिति सामान्य होला भन्ने सोचियो, तर हाम्रै आँखाअगाडि भारतीय विद्यार्थीको मृत्यु भएपछि बस्न सकेनौँ,’ एक नेपाली विद्यार्थीले भनिन्, ‘हामी बाटोमा छौँ । तलमाथि भएन भने युक्रेनबाट बाहिरिनेछौँ ।’

उनका अनुसार किभबाट पनि नेपालीहरूको समूह लिभिव प्रस्थान गरेको छ । ओडेसामा रहेका नेपालीहरू पनि युक्रेनको सीमाक्षेत्र पुगेका छन् । पोल्यान्ड पुगेका, तर अध्यागमन पार नभएका नेपालीहरू अझै समस्यामा रहेको गुनासो पनि छ ।

त्यस क्षेत्रमा रहेका शम्भु लामाले तीन दिनअघि प्रहरीलाई पासपोर्ट केही क्षणका लागि राख्न दिएर शौचालय गएको, तर फर्केर आउँदा पासपोर्ट नभेटेपछि अलपत्र परेको जानकारी आएको छ ।

‘उहाँ एक सातादेखि युक्रेनको सिमानामा हुनुहुन्थ्यो, तर सम्पर्क भएको छैन,’ उनकी साथी जुनु मगरले ‘वार जोन’ ह्वाट्स एप समूहमा बुधबार लेखेकी छिन् । तर, उनका एकजना नेपाली साथीले भने लामाको डकुमेन्ट लुटिएको बताएका छन् ।

‘उहाँको पासपोर्टदेखि सबै डकुमेन्ट लुटिएछ,’ उनले भने, ‘खासमा प्रहरी गिरफ्तारीमा परिएला कि भनेर आत्तिएका कारण उनी सम्पर्कमा नआएको भन्ने बुझ्नमा आएको छ ।’ यस्तो समस्या रहेका चार–पाँचजना नेपाली युक्रेनमा रहेको त्यहाँ रहेका नेपालीको भनाइ छ ।

युक्रेनमा अनिश्चितता बढ्दै जाँदा लामो समयदेखि रहँदै आएका नेपाली मूलका व्यवसायी पनि अन्य मुलुक पुगेका छन् । गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरिबहादुर मल्लले परिवारसहित युक्रेन छाडेको बताए ।

‘म परिवारसहित माल्दोभा आइपुगेको छु,’ ब्ल्याक सीनजिकै चार दशकदेखि बस्दै आएका मल्लले भने, ‘सबै सम्पत्ति छाडेर हिँडेँ । ज्यान बचाउनका लागि छाड्न बाध्य भएँ । लामो समयदेखि बसेका अरू साथीहरू पनि छाड्ने क्रममा हुनुहुन्छ ।’

युक्रेनमा गरिहिँदै मानवीय संकट
रेडक्रस, संयुक्त राष्ट्रसंघ र ओएससिईलाई मानवीय करिडोरको व्यवस्था मिलाउन युक्रेन सरकारको गुहार मागेको छ । महाशक्ति रुसले पहिलो खेपको आक्रमणमा युक्रेनलाई कब्जा गर्न नसकेपछि राजधानी किभलगायत महत्वपूर्ण सहर घेर्दै शक्तिशाली हतियारसहित ठूलो संख्यामा सैनिक तैनाथी बढाएको छ ।

आक्रमणको सातौँ दिन रुस थप आक्रामक रूपमा प्रस्तुत भएपछि युक्रेन सरकारले युद्धग्रस्त क्षेत्रबाट नागरिकलाई सुरक्षित बाहिर निकाल्न मानवीय करिडोरको व्यवस्था गरिदिन रेडक्रस, संयुक्त राष्ट्रसंघ तथा सुरक्षा र सहयोगका लागि युरोपेली संगठन (ओएससिई)लाई गुहारेको छ ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा बुधबार रुसले प्याराट्रुपरहरू उतारेर युद्ध चर्काएको छ । दक्षिणी सहर खार्सनलाई रुसी सेनाले घेरा हालेर युक्रेनी सुरक्षा बललाई आत्मसमर्पण गर्न चेतावनी दिएको र समयसीमामा आत्मसमर्पण नगरे सबैलाई मारिदिने धम्की दिएको त्यहाँका मेयरको विज्ञप्तिमा उल्लेख छ ।

किभतर्फ अघि बढिरहेको रुसी सेनाको ६५ किलोमिटर लामो लस्कर सहरको पन्ध्र किलोमिटरनजिक पुगेको समाचार आएका छन् । राजधानी कब्जामा लिन रुसले विध्वंसक आक्रमण गर्न सक्ने सन्त्रास व्याप्त छ ।

युक्रेनी सेनाले छापामार शैलीमा प्रतिरोध जारी राखे ठूलो संख्यामा गैरसैनिक नागरिक मारिन सक्ने खतरा देखिएको छ । युक्रेनी उपप्रधानमन्त्री इर्ना भरेसचुकले युक्रेनका सहरहरू ‘विध्वंसको आगोमा’ झिल्सिरहेको बताएका छन् ।

युक्रेनी सैन्यबल र नागरिकबीचको सम्पर्क सञ्जाल तोड्न रुसले किभका महत्वपूर्ण सञ्चार, विद्युत् पूर्वाधारका साथै गैरसैन्य सरकारी कार्यालयहरूमाथि क्षेप्यास्त्र प्रहार गर्न थालेको छ ।

यसअघि युक्रेनी सेनाको प्रोपोगान्डा र भ्रामक प्रचार रोक्न भन्दै रुसले युक्रेनका सञ्चार पूर्वाधारका ठेगानाहरूलाई प्रिसिजन हतियारद्वारा ध्वस्त पार्न लागेकाले त्यस्ता संरचना वरपरका नागरिकहरूलाई अन्यत्र जान भनेको थियो । अहिले नै किभलगायत सहरहरूले विद्युत्, खानेपानी र औषधिसमेतको अभाव सामना गर्न थालेका छन् ।

बढ्दो चिसोबाट बच्न नागरिकहरूले सरसामानहरू बाल्न थालेको समाचारहरू आएका छन् । सयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयुक्त कार्यालय (युएनएचसिआर)का अनुसार आक्रमण सुरु भएयता युक्रेन छाड्ने शरणार्थीको संख्या आठ लाख ३५ हजार नाघेको छ ।

यसमध्ये आधाभन्दा धेरै पोल्यान्ड पुगेको युएनएचसिआरले उल्लेख गरेको छ । युरोपले शरणार्थीको बाढीको सामना गर्नुपर्ने देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमाथि आक्रमण सुरु गरेयता ६ हजार रुसी सेना मारिएको दाबी गरेका छन् ।

युक्रेनको आपत्कालीन सेवाले रुसी आक्रमणबाट अहिलेसम्म दुई हजार युक्रेनी नागरिक मारिएको भनेको छ । तर, संयुक्त राष्ट्रसंघले भने अहिलेसम्म एक सय ३६ सर्वसाधारण मारिएको पुष्टि गरेको छ । ‘हरेक घन्टा बालबालिका, महिला र सुरक्षा बलले आफ्नो जीवन गुमाइरहेका छन्,’ उसले विज्ञप्तिमा भनेको छ । रुसले भने अहिलेसम्म हताहतीको संख्याबारे प्रतिक्रिया दिएको छैन ।

युक्रेन युद्धले रुसी अर्थतन्त्र दबाबमा, युरोपमा ग्यासको मूल्य एकै दिन ६० प्रतिशतले वृद्धि
युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि आर्थिक प्रतिबन्ध बढिरहेको छ । यसले रुसी अर्थतन्त्र ठूलो दबाबमा परेको छ । रुसी मुद्रा एवं सम्पत्तिको तीव्र अवमूल्यन हुन थालेपछि ठूलो मात्रामा पुँजी पलायनको सम्भावना बढेको छ । रुसमा नगदको अभाव हुन नदिन र पुँजी पलायन रोक्न भन्दै केन्द्रीय बैंकले विदेशमा पैसा स्थानान्तरण बन्द गरेको छ ।

‘रुसी वित्तीय बजारबाट नगद निर्यात रोक्न र वित्तीय स्थिरता कायम राख्न बैंक अफ रसियाले केही समयका लागि गैरआवासीय कर्पाेरेट एवं व्यक्तिगत खाताबाट विदेशी बैंक खातामा रकमान्तर सेवा बन्द गरेको छ,’ रुसको केन्द्रीय बैंकलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

रुबलको मूल्यमा तीव्र गिरावट भएर मस्को स्टक एक्सचेन्ज लगातार तेस्रो दिनसमेत बन्द भएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो । यो बन्देज रुसी नागरिक एवं कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट (सिआइएस)का विदेशी नागरिकमा भने लागू नहुने जनाइएको छ । बढ्दो विश्वव्यापी दबाब एवं अन्तर्राष्ट्रिय प्रतिबन्धको लहरका बाबजुद रुस भने युद्ध चर्काउन दृढ देखिएको छ ।

यसैबीच युरोपमा ग्यासको मूल्यले प्रतिदिन नयाँ कीर्तिमान बनाइरहेको छ । युद्धका कारण ग्यासको आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता आपूर्तिकर्ताहरूले व्यक्त गरेपछि प्रतिमेगावाट आवर ग्यासको मूल्य दुई सय १५ डलर पुगेको छ । बुधबार एकै दिन ६० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

यद्यपि, अहिलेसम्म रुसले युरोपमा पाइपलाइनमार्फत पठाइरहेको ग्यास तथा इन्धनको परिमाण भने घटाएको छैन । तर, पानीजहाजबाट हुने आपूर्तिमा भने समस्या देखिएको छ । युरोपको झन्डै तीन प्रतिशत ग्यास पानीजहाजबाट आपूर्ति हुनेगर्छ । युरापेली संघले रुसबाट ४० प्रतिशत ग्यास आयात गर्छ ।

युक्रेनबाट बाहिरिए चार सय नेपाली, नेपाली राजदूतले युक्रेन प्रवेश पाएनन्

१२ तस्विरसहित रूस–युक्रेन युद्धमा अहिलेसम्म कतिले गुमाए

युक्रेनबाट बाहिरिए चार सय नेपाली, नेपाली राजदूतले युक्रेन प्रवेश पाएनन्

पेट्रोल प्रतिलिटर १५०, डिजेल प्रतिलिटर १३३ पुग्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *