कर्णालीका आयोजनामा एमालेको अंकुश, टुक्रे आयोजनाको ८३ करोड फिर्ता

सुर्खेत, १९ फागनु ।
कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारका आयोजनाहरुमा अंशुक लगाउन थालेको छ । एमालेको अडानकै कारण प्रदेश सरकारको ८३ करोडभन्दा बढी बजेट जिल्लाबाट फिर्ता भएको छ ।

प्रदेशका दश वटै जिल्लाबाट गरी कुल ८३ करोड ७८ लाख ८४ हजार रकम फिर्ता आएको प्रदेश सरकारले जनाएको छ । फिर्ता आएको उक्त बजेट १५ लाखभन्दा मुनिका विकास आयोजनाको हो ।

माघ १७ गते एमालेले टुक्रे आयोजना कार्यान्वयन नगर्न सरकारलाई सुझाव दिएको थियो । ‘प्रमुख प्रतिपक्ष दल एमालेका कारण टुक्रे आयोजनाको ८३ करोड बजेट जिल्लाबाट फिर्ता फिर्ता आएको छ’ मुख्यमन्त्री जीवनबहादुर शाहीले भने, ‘एमालेका कारण साना आयोजनाहरु कार्यान्वयन गर्न नसिकने भयो ।’ टुक्रे आयोजनाले विकास नहुने भन्दै एमालेले साना आयोजनाहरु तत्काल कार्यान्वयन गर्न नहुने अडान लिएको थियो ।

१५ लाखभन्दा मुनिका आयोजना कार्यान्वयन गरे संसद चल्न नदिने अडानपछि सरकारले एमालेसँग १५ लाखभन्दा कम बजेट भएका आयोजनाहरु कार्यान्वयन गर्ने सहमति गरेको थियो ।

सोही सहमतिअनुसार जिल्लाहरुबाट साना विकास आयोजनाको ८३ करोड बजेट फिर्ता आएको मुख्यमन्त्री शाहीले बताए । १५ लाखभन्दा मुनिका आयोजना कार्यान्वययन नहुँदा विकास आयोजना र बजेट कार्यान्वयनमा पनि समस्या उत्पन्न भएको छ । बजेट फिर्ता भएका अधिकांश आयोजनाहरु खानेपानीका छन् । खानेपानी आयोजनाका मात्रै झण्डै एक हजार आयोजनाको बजेट फिर्ता आएको हो ।

‘दुई लाखदेखि १० लाखसम्मको रकमले धेरै खानेपानीका आयोजना बन्न सक्थे’ मुख्यमन्त्री शाहीले भने, ‘तर सरकारले इमान्दारिता देखाएर सहमति कार्यान्वयन गरेको छ ।’ विकास बजेट फिर्ता हुँदा त्यसको असर बजेट कार्यान्वयनमा पर्ने भएको छ ।

चालु आर्थिक बर्षको सात महिना वितिसक्दा पनि सरकारले झण्डै १३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । कुल ३६ अर्ब ५७ करोड नौ हजार सातसय ७१ रुपैयाँ बजेट मध्ये सरकारले हालसम्म चार अर्ब ५५ करोड ६४ हजार दुईसय ५८ रुपैयाँ मात्रै खर्च गरेको हो ।

कुल बजेट मध्ये २२ अर्ब ११ लाख ६४ लाख ५६ हजार विकास बजेट छ । साना आयोजनाको झण्डै एक अर्ब बजेट फिर्ता हुने भएपछि सरकारलाई कार्यान्वयनमा चुनौती देखिएको हो ।

अब नयाँ आयोजनाका सञ्चालन गर्न नसकिने र थोरै रकम भएका आयोजना कार्यान्वयन नहुने भएपछि बजेट कार्यान्वयन चुनौती देखिएको हो । सरकारले सात महिनासम्म एक अर्ब ९३ करोड १४ लाख चार हजार एकसय एक रुपैयाँ मात्रै विकास बजेट खर्च गरेको छ ।

‘चालु आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि सरकारले गम्भिर भएर लागेको छ’ मुख्यमन्त्री शाही भन्छन्, ‘विकास निर्माणलाई अगाडि बढाउनकै लागि सरकारले विकासे आयोजनकाको निगरानी गरिरहेको छ ।’

बजे खर्च बढाउन अधुरा आयोजनाको गती बढाएको, सार्वजनिक सेवामा उठेका प्रश्न र गुनासो सम्बोधनका लागि सरकार प्रमुख र विभागीय मन्त्रीबाट नियमित अनुगमन र देखिएका समस्या समाधान गरिरहको मुख्यमन्त्री शाहीको दाबी छ ।

अघिल्लो बर्षका आयोजनालाई १४ करोड
प्रदेश सरकारले अघिल्लो आर्थिक बर्ष सम्पन्न भएका तर रकम भुक्तानी हुन बाँकी रहेका आयोजनाका लागि १४ करोडभन्दा बढी रकम छुट्याएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत अघिल्लो आर्थिक बर्षमा भुक्तानी हुन बाँकी रहेको आयोजनाको लागि कुल १४ करोड ८७ लाख रुपैँया सम्बन्धित कार्यालयमा पठाएको छ । कोरोना महामारी कारण प्रक्रिया नपुगेका कारण बजेट भुक्तानी भएको थिएन ।

स्थानीयलाई गाउँमै रोजगारी दिने उद्देश्यले प्रदेश सकारले हरेक बर्ष मुख्यमन्त्री रोजगार, दलित आयआर्जन प्रवद्र्धन जस्ता कार्यक्रमरु सञ्चालन गर्दै आएको छ ।

चालु आर्थिक बर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रममा लागि सरकारले एकखर्ब ५० करोड बजेट विनियोजन गरेको छ । प्रदेशका ७९ वटै पालिकामा विनियोजित बजेट कार्यान्वयनका लागि पठाइएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका कतिपय आयोजनारु कार्यान्वयन भइरहेको र केही कार्यान्वनयको चरणमा रहेको मुख्यमन्त्री शाहीले जनाकारी दिए । चालु आर्थिक बर्षमा मात्रै मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५० हजार नागरकलाई रोजागरी दिने प्रदेश सरकारको लक्ष्य छ ।

अधुरा आयोजनाको म्याद चैत मसान्तसम्म
कर्णाली प्रदेश सरकारले अधुरा आयोजनाको म्याद चैत्र मसान्तसम्म थप गरेको छ । कोरोना महामारी र अन्य कारणले अधुरा रहेका आयोजनाको म्याद चैत्र मसान्तसम्म थप गरिएको हो । म्याद थपिएका सबै आयोजनालाई चैत्रभित्रै सम्पन्न गर्न निर्देशन समेत दिएको छ ।

म्याद थप गरिएका सबै आयोजना वीरेन्द्रनगर क्षेत्रका हुन् । त्यस्तै प्रदेश राजधानीलाई पूर्वाधार सम्पन्न गराउने उद्देश्यले वीरेन्द्रनगरका विकासे आयोजनामा चासो दिएको छ ।

जसमध्ये वीरेन्द्रनगरको काँक्रेविहार–लाटीकोइली सडक, भैरवस्थान–रत्नराजमार्ग जोड्ने सडक, चपाईटोल हुँदै दैलेखरोड जोड्ने सडक, प्रदेश ट्राफिक चौकदेखि श्रीकृष्ण संस्कृत मावि जोड्ने सडक कालोपत्रे गर्न थालिएको हो ।

कर्णाली सरकारका ४ महिनाका उपलब्धी

कर्णालीका आयोजनामा एमालेको अंकुश, टुक्रे आयोजनाको ८३ करोड फिर्ता

खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा थापा

Leave a comment

Your email address will not be published. Required fields are marked *