संस्था चलाएर नक्कली बिल भरपाई बनाई भुक्तानी लिने विरुद्ध मुद्दा

सुर्खेत, १८ जेष्ठ ।
नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिने सुर्खेतका दुई जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित गैरसरकारी संस्था नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेले भ्रष्टाचार गरेकोले विशेष अदालतमा मुद्दा दायर भएको हो ।
उनीहरुको मिलेमतो र संलग्नतामा नक्कली बिल भरपाई तयार गरी १३ लाख ३७ हजार २० रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
सुर्खेतको गढी, लेखगाउँ, कुनाथरीमा नेपाल नागरिक समाज (सिस नेपाल) संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनि नक्कली बिल भरपाई बनाई रकम भुक्तानी लिएका थिए ।
अदुवा खेती प्रबद्र्धधन कार्यक्रमका लागि राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोषसँग नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतले मिति २०७३ चैत्र २७ मा गरेको सम्झौता गरी अनुदान रकम लिएका थिए ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा जनही बिगो १३ लाख ३७ हजार २० रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम ऐ. ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (च) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानि नोक्सानी पु¥याएको बिगो असुलउपर हुन मागदाबी गरिएको छ ।






