‘थुतुनो ठीक छैन’ भनेकोमा आयोगले सोध्यो स्थापितलाई प्रष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ।
आयोगले सोमबार पत्र पठाई स्थापितलाई २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो।
विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पटीकरण मागेको छ। ‘चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेका छौं,’ निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईले भने।
केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा मिटुबारे प्रश्न सोध्ने महिलामाथि दुव्र्यवाहर गरेको आरोप लागेको छ।
कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका थिए।
आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको हो ।’
‘उहाँको अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा के कसो भएको हो चौबिस घण्टा भित्र स्पटीकरण पेश गर्नु भनी भनेका छौं,’ सहसचिव भट्टराईले भने। उक्त घटनापछि ४५ वटा गैरसरकारी संस्थाले स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै विज्ञप्ति निकालेका थिए। आयोगले ती संस्थाहरुसँग पनि प्रष्टिकरण सोधेको छ।






