कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले एक विद्यालयमा भएको अनियमिततासम्बन्धी उजुरीबारे दुल्लु नगरपालिकासँग कागजात माग गरेर पठाएको पत्र कर्मचारीको मिलेमतोमा सार्वजनिक भएको छ ।

दुल्लु नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विव्यस अध्यक्ष हुँदा अनियमितता गरेको भन्दै अख्तियारले वैशाख ४ गते कागजात माग गर्दै पत्र पठाएको थियो ।

दुल्लु नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार शाहीविरुद्ध परेको उजुरीको बारेमा अख्तियार सुर्खेतले आवश्यक जाँचबुझ गर्न भन्दै नगरपालिकालाई कागजात पठाउन इमेलमार्फत लिखित पत्र पठाएको थियो । तर त्यो पत्र सार्वजनिक गरिएपछि निर्वाचन आचारसंहितासमेत उल्लंघन भएको भन्दै स्थानीय आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

भाषामै अनियमितता गरेको पुष्टि
अख्तियारले पठाएको पत्रमा ‘दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ६ स्थित महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विभिन्न आर्थिक वर्षहरुमा विभिन्न शीर्षकको रकममा अनियमितता गरेको हुनाले’ भन्ने उल्लेख छ । अख्तियारले अनियमितता पुष्टि नहुँदै अनियमितता गरेको भन्ने पुष्टिसमेत गरेको छ । पत्रमा शाखा अधिकृत अनन्तकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

‘अख्तियारमा विभिन्न व्यक्तिका बारेमा उजुरी पर्ने गरेका छन् । उनीहरुको उजुरीका बारेमा पत्र पठाउने प्रचलन पुरानै हो । त्यो पत्र गोप्य रहन्छ । त्यो पत्र सार्वजनिक गर्न हुन्थेन’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक शाखा अधिकृतले भने, ‘त्यो गलत हो । पुष्टि भएपछि मात्रै त्यस्तो गर्न मिल्छ । नभए यो त सरासर गलत भएको हो ।’

यता उजुरी परेको पत्र सार्वजनिक भएपछि शाहीले भने आपत्ति जनाएका छन् । ‘त्यो विद्यालयको कुनै चेकमा मेरो हस्ताक्षर हुँदैन । मैले विव्यसको अध्यक्षको हैसियतमा माइन्युटमा हस्ताक्षर गर्ने काममात्रै हो । यो अरु केही होइन चुनाव प्रभावित पार्न खोज्ने दुस्प्रयासमात्रै हो’, उनी भन्छन्, ‘नगरपालिकाका कर्मचारी र मेरो पक्षमा जनताको लहर देखेर डराएकाहरुको मिलेमतोमा चैत ३० गते मैले टिकट पाइसकेपछि अख्तियारमा उजुरी हालेर बदनाम गर्न खोजिएकोमात्रै हो । यसबारेमा म नेताहरुसँग सल्लाहमा छु । मैले के गर्नुपर्छ कानूनी उपचार खोज्न पर्ला ।’

इमेलको दुरुपयोग भयोः नेपाल
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले पत्र सार्वजनिक भएको आइतबार बेलुकामात्रै थाहा पाएको बताए । ‘हाम्रो नगरपालिकाको इमेल शाखाका कर्मचारीदेखि मेयर सावसम्मले चलाउनुहुन्थ्यो । कसले त्यो गोप्य पत्र सार्वजनिक गरेको हो, आज अनुसन्धान हुन्छ । यसबारेमा साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन प्रहरीलाई हिजै बेलुका खबर गरिसकेको छु’, नेपालले भने, ‘अख्तियारबाट यस्ता गोप्य पत्र इमेलमा आउँछन् । कसैको स्वार्थपूर्तिका लागि पत्र सार्वजनिक भएको छ ।’

उनले अब इमेल प्रयोगमा ध्यान दिइने बताए । ‘कार्यालयबाट यो गम्भीर गल्ती भएको हो । यस्तो गल्ती गर्नेलाई कारबाही गरिन्छ’, उनले भने, ‘सबैलाई इमेल चलाउन दिनु गल्ती भयो ।’ (Nepalpress)

कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप

एकीकृत समाजवादी दैलेखका उपसचिव एमालेमै फर्किए

कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप

‘थुतुनो ठीक छैन’ भनेकोमा आयोगले सोध्यो स्थापितलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *