भारतमा कोरोना बढिरहेको भन्दै सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे।
उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढिरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए। पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको उनले बताए।
सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम सुरु गरिसकेको पनि बताए। सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ। विश्वव्यापी रुपमा संक्रमण घटेको भए पनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ। त्यसमाथि पनि विशेष त भारतमा बढिरहेको छ। हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ। पहिलो लहरमा भारतमा संक्रमण्को उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्था हामीले भोगेका छौँ। अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ।’
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाति रहेको प्रारम्भिक तथ्य फेला परेको पनि बताए। यद्यपि यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताए।
उनले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडविरुद्धको खोप लगाउनु पर्ने बताए। उनले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनीकरण गर्न सकिने बताए।
सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरे। उनले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिए।
सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरे।उनले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाविरुद्धको खोप लगाउन पनि अपिल गए।






