रेस्लर जुरेलीले दिइन् युवा संघका केन्द्रीय सदस्यविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं,१७ असार ।
आफूमाथि दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् । ललितपुर महानगरपालिकास्थित फर्सिडोलमा असार १५ गते बुधबार धान दिवसको दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले धान रोप्ने कार्यक्रम आयोजना गरेको थियो ।

त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएकी हुन् । बोहरा युवा संघका केन्द्रीय सदस्य हुन् भने जुरेली सदस्य हुन् । उनले बिहीबार परिसरमा पुगेर जाहेरी दिएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । ‘हिजो साँझ आएर जाहेरी दिनुभएको हो । आजबाट प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
जुरेलीले दुई वटा विषय समावेश गरेर जाहेरी दिएकी हुन् । उनले दुर्व्यवहार र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन् । उनीमाथि दुर्व्यवहार भएका भिडिओहरू सामाजिक सञ्जालमा समेत आएका थिए । जाहेरी आएसँगै बोहरालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाउने प्रहरी उपरीक्षक शाहले बताए । ‘हामी पक्राउ गर्छौं । अब पक्राउ गर्ने प्रक्रियामा जान्छ,’ उनले भने ।
स्रोत ः सेतोपाटी






