मेलमिलाप आयोगले कर्णालीमा सुरु ग¥यो पीडीत परिचयपत्र वितरण


सुर्खेत, १५ माघ ।
कर्णालीमा सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडितहरुलाई विहीबार देखि परिचयपत्र वितरण सुरु गरेको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारी पक्षबाट द्धन्द्धका समयमा पीडित भएका पूर्ण प्रसाद पौडेललाई परिचय पत्र प्रदान गर्दै कर्णालीमा समुदघाटन गरेका हुन । परिचयपत्र पाइसकेपछि पीडित पौडेलले हरेक दश बाह्र वर्षमा नेपालीले पीडा भोग्नु परेको इतिहास कोट्याउँदै विगतका सबै पीडीत तथा शहिद भएकाहरुको बलिदानीको सम्मान गर्न राज्य तथा राजनीतिक दलहरु असफल भएको बताए । ‘हामीले कम दुःख पाएनौं । हामी पीडित भएको दशौं वर्षपछि एक परिचयपत्र मात्र पाएका छौं ।’ उनले भने, ‘यो परिचयपत्रले मात्रै के हाम्रा चाहना पुरा हुन्छन ? के हामीले जुन सपना देखेर बलिदानी दिने आँट गरेका थियौं ती पुरा हुनसक्छन ? सक्दैनन् ।’ उनले सबै मिलेर जानपर्ने बताउँदै प्राप्त उपलब्धीलाई रक्ष ागर्न र लोकतन्त्रलाई जोगाईराख्न सबैलाई आग्रह गरे ।
आयोगका अध्यक्ष गणेशदत्त भट्टले देशभरमा आयोगमा ६३ हजार ७१८ उजुरी परेको बताउँदै त्यसमध्ये ३७८७ मा प्रारम्भिक कारवाही भएको बताए । ‘१९९० मुद्दाको हामीले छानविन गरिसकेका छौं । १७३ मुद्दाको विस्तृत छानाविन गर्दैछौं । १०१ मा परिपूर्णको फाराम भराइरहेका छौं भने ३८१ उजुरी तामेलमा पठाएका छौं ।’ उनले भने, ‘अबको केहि दिनमा मुकाम थपेर भएपनि आयोगले द्धन्द्धपीडितहरुको उजुरीलाई किनारा लगाई न्याय दिलाउने प्रयास गर्छ । यसमा सबै पीडितहरु ढुक्क भए हुन्छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जतिसक्दो चाँडो मुद्दाको किनारा लगाउन आग्रह गरे । ‘तपाईहरु मुद्दाको किनारा तत्काल लगाउनुहोस । उहाँहरुको पीडामा मल्हम हामी कसरी लगाउनुपर्छ लगाउँछौं ।’ उनले प्रदेश सरकार द्धन्द्धपीडितका लागि राहत दिने उदेश्यका साथ कानून नै बनाएर अघि बढने बताए । ‘हामी पीडितलाई कसरी समाजमा न्याय दिलाउन सकिन्छ र उनीहरुलाई पुर्नस्थापित गर्न सकिन्छ भन्नेमा गम्भीर छौं ।’ मुख्यमन्त्री शाहीले भने ।






