मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले नेतृत्वको लागि मार्गप्रसस्त गरेको घोषणा गरेकी हुन् ।
आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो । तर, प्रदेशसभाबाट विश्वासको मत नपाउने लगभग भएपछि शाक्यले राजीनामा दिएकी हुन् । उनी भदौ २ मा मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

प्रदेशसभामा रहेका एक सय नौ सांसदको बहुमत संख्या ५६ जना सांसद रहेको एमालेको एकल बहुमतको सरकारको नेतृत्व गरेकी मुख्यमन्त्री शाक्य पार्टी विभाजन भई १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि अल्पमतमा परेकी थिइन् ।
प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन् ।
गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भएको छ ।






