संकटमा राउटे समुदायको अस्तित्व, मदिराको कुलतले बढ्यो मृत्युदर

सुर्खेत । राउटे समुदाय जंगलमा फिरन्ते जीवन विताउँथे । अन्य समुदायसँग घुलमिल थिएन । किनमेल र काठका भाँडा बिक्री गर्ने समयमा बाहेक अन्य समुदायसँग भेटघाट हुन्थेन । राउटेको जीवनसँग अन्य समुदायले पनि वास्ता गर्थेनन् । एक हिसावले भन्दा जंगल नै उनीहरुको संसार थियो ।त
र समय एकै किसिमको भएन । अरुसँग बोल्ने नरुचाउने उनीहरु अहिले अन्य समुदायसँग नजिक भएका छन् । सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि अन्य समुदायसँग सहजै घुलमिल हन थाले । घुलमिल यतिसम्म भयो कि उनीहरुको अस्तित्वमाथि नै प्रहार हुन थालेको छ ।
आधुनिक खानपानले पनि राउटे समुदायका नागरिकलाई कुलतमै फसायो । यही आधुनिकताका कारण राउटे समुदायको अस्तित्व नै संकटमा परेको छ । आधुनिक खानपान राउटे समुदायको जीवनका लागि चुनौति नै बनेको छ । परिणामतः राउटेको संख्या दिनप्रतिदिन घट्न थालेको छ ।
दैलेखको गुराँस गाउँपालिकाको तथ्याङ्क अनुसार एक बर्ष अघिसम्म एकसय ५१ जना रहेका राउटे समुदायको जनसंख्या अहिले एकसय ४१ जनामा सिमित भएको छ । पछिल्लो एक महिनाको अवधिमा मात्र राउटे समुदायमा चार जनाले ज्यान गुमाएका छन् ।
साउन महिनामा २ वर्षीया मयो शाही, ३४ वर्षीय दलबहादुर शाही र २१ वर्षीय मानसिंह शाही र भदौं २ गते ७ वर्षीया राउटे बालिका दवी शाहीको पनि मृत्यु भएको छ । एक बर्षको अवधिमा राउटे समुदायका ११ जनाको मृत्यु भइसकेको छ । मदिराको कुलतमा फसेपछि राउटे समुदायको संख्या पछिल्लो समय डर लाग्दोगरी घट्ना थालेको हो ।

अत्याधिक मदिरा सेवन, कुपोषण र व्यक्तिगत सरसफाइको कमी जस्ता कारणले राउटे नागरिकको मृत्युदर बढेको सरोकारवालाहरुले बताएका छन् । ‘प्रौढ र युवा अवस्थाका राउटेहरुको मदिरा र कुपोषणका कारण बालबालिकाको मृत्यु भइरहेको पाइन्छ’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘मदिरा, कुपोषण र व्यक्तिगत सरसफाइको कमिका कारण राउटे जीवन नै संकटमा परेको छ ।’
एकद्वार प्रर्णालीमा समेटिन नसक्दा राउटेको अस्तित्व नै संकटमा पर्ने खतरा रहेको उनको तर्क छ । ‘अघिपछि भन्दा सामाजिक सुरक्षा भत्ता बुझेको महिना दिनमा एक÷दुई जनाको मृत्यु भएकै हुन्छ’ अध्यक्ष वली भन्छन्, ‘पैसा पायो कि मदिरा खाइहाल्ने बानीले धेरै ठूलो असर गरेको छ ।’
राउटेलाई मदिराको कुलतबाट छुटाउन नसके अबको दश बर्षपछि उनीहरुको अस्तित्व संकटमा पर्ने उनको अनुमान छ । गुराँस गाउँपालिकाले विगत तीन बर्षदेखि राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिदै आएको छ । तर राउटेका लागि आउने राहत र सहयोगहरु एकद्वार प्रणालीवाट वितरण हुन नसक्दा कुलत बढेको छ ।
सामाजिक सुरक्षा बापत केन्द्र सरकारले प्रतिव्यक्ति मासिक तीन हजार र कर्णाली प्रदेश सरकारले दुई हजारका दरले रुपैयाँ दिँदै आएको छ । गएको बर्ष मात्रै करिव ७० लाखभन्दा बढी रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै राउटेको संरक्षणमा क्रियाशिल सामाजिक विकास सेवा केन्द्र (सोसेक) नेपालले पनि राउटेको मृत्युको मुख्या कारण मदिरा नै भएको दाबी गरेको छ । ‘राउटेको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्यकर्मी खटाउँदै आएका छौँ, तर मदिराको कुलत छुटाउन सकिएको छैन’ सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा भन्छन् ‘मदिराकै कारण राउटेको सुरक्षाको चुनौति थपिएको छ ।’
मृत्युको मुख्य कारण अत्याधिक मदिरा सेवन भए पनि राउटे समुदायमा व्यक्तिगत सरसफाइ र खानपानको अवस्था पनि दयनीय रहेको उनको तर्क छ । यद्यपि राउटेहरुको नियमित स्वास्थ्य परीक्षणका लागि सोसेकले स्वास्थ्यकर्मी (अहेव विनोद विसी) लाई खटाएको छ । बालबालिकाको शिक्षा, दिक्षा र सुरक्षाको लागि जोडी शिक्षकसमेत खटाउँदै आएको छ । तर अटेरी गर्ने प्रवृतिका कारण राउटेको जीवनयापनलाई सहज बनाउ सकिएको छैन ।
दुई महिनामा तीन ठाउँमा बसाइ
मृत्युदर बढेसँगै राउटे समुदायको बसाइ सराइको क्रम पनि बढेको छ । पछिल्लो दुई महिनामा तीन ठाउँ बसाइ सरेका छन् । दुई महिनाको अवधिमा सल्यान र सुर्खेतको विभिन्न ठाउँमा बासस्थान फेरेका हुन् । सुर्खेतबाट असार ७ मा सल्यानको कालीमाटी–५ काल्चेडाँडामा बस्दै आएका उनीहरू चिउरीबास हुँदै हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–१ गुर्भाकोट डाँडामा सरेका छन् ।
काल्चेमै भएको बेला राउटे समुदायका २९ वर्षीय मानसिंह शाही, ३४ वर्षका दलबहादुर शाही, ७ वर्षीया बालिका दवी शाही र चिउरीबासमा दुई बर्षिया मयो शाहीको मृत्यु भएपछि उनीहरू गुर्भाकोटमा बसाइँ सरेका हुन्
। वर्षाका कारण जताततै हिलाम्मे भएपछि उनीहरू बासस्थान अभावमा सडकमै लहरै छाप्रो बनाएर बस्दै आएका छन् । राउटे समुदायमा कसैको मृत्यु भए उक्त ठाउँलाई अशुभ मान्ने चलन छ ।
राउटेको सामाजिकरण गर्दै प्रदेश सरकार
कर्णाली प्रदेश सरकारले भने राउटे समुदायलाई पहिचान सहितको सामाजिकिरण गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले राउटे समुदायको पहिचानलाई जोगाउँदै सामाजिकीकरण गर्ने तयारी गरेको हो ।
जसका लागि मन्त्रालयले राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाइका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीवद्ध गर्दै संस्कृतिको संरक्षण गर्ने, नागरिकता उपलब्ध गराउने गरी नीति तयार गरिएको हो ।
राउटे समुदाय अहिलेसम्म नागरिकताविहिन छन् । उक्त नीतिमा उमेर पुगेका राउटे समुदायका नागरिकहरुलाई तत्कालै नागरिकता वितरण गर्ने उल्लेख छ । राउटेलाई तीन वर्षअघि गुरासँ गाउँपालिका–८ को ठेगाना राखेर अस्थायी परिचयपत्र दिएको थियो ।।






