कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

काठमाडाैं : नेपाली कांग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायतका माग गरेका छन्।
कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले यस्तो माग गर्दै केन्द्रीय कार्यालयमा धर्ना दिएको पार्टी नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए। धर्नामा पार्टीका केन्द्रीय नेताहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगनकुमार थापालगायतले ऐक्यबद्धता जनाएका थिए।
यसअघि यही भदौ ५ गते जिल्ला सभापतिका तर्फबाट काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्रमार्फत सो मागका बारेमा जानकारी गराएका थिए।
यसैबीच सोमबार राति कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ अन्तिम रुप दिएको छ। क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ।
सभापति देउवाले क्रियाशील सदस्यतामा हस्ताक्षर गरेलगत्तै सो प्रतिवेदन पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिने पार्टी कार्यालयले जनाएको छ।
सो नामावली पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण भएपछि समितिले यही भदौ १८ गते हुने पार्टीको गाउँ/नगर वडा अधिवेशनका लागि भदौ १० गतेसम्म सबै जिल्लामा पुर्याइसक्ने पनि समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए।
पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।






