स्याउ र ओखर विकास बोर्ड गठन गर्न कृषि विज्ञको सूझाव

सुर्खेत : कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरूले सुझाएका छन् । कृषि विज्ञहरूबीच शनिबार भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका हुन् ।
प्रवक्ता कठायतले खडेरीमा स्याउखेतीको सिँचाइ, हिउँ पोखरीजस्ता नवीन प्रविधिबारे आफ्नो प्रस्तुति राख्दै स्याउ तथा ओखरको गुणस्तर एवं यथोचित विकासका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन हुनुपर्ने बताए । उक्त प्रस्तावमा कृषि विज्ञहरू डाक्टरत्रय गिरीधारी सुवेदी, गोविन्द रिजाल र शान्ता कार्की मुलुकको अर्थतन्त्रको विकास तथा नागरिकहरूको दीगो आयआर्जनका लागि बोर्ड आवश्यक रहेको बताए ।
‘बोर्ड आवश्यक कुरा हो’, डा.सुवेदीले भने, ‘त्यसो हुन नसके भएकै संरचनाबाट काम बढाउने र मौजुदा जनशक्तिको क्षमता बढाउनतर्फ जोड दिनुपर्दछ ।’ उनले परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै भिरालो जमिनमा स्पोर (सानो तर हरेक वर्ष फल्ने) जातको स्याउखेतीतर्फ लाग्न सुझाउनुभयो । यता कृषि विज्ञ वासुदेव काफ्लेले बोर्ड गठन गर्दा राजनीतिक चलखेल बढी हुने प्रतिक्रिया दिँदै डा. कार्कीले बोर्ड नभए ‘स्याउ तथा ओखर प्रवद्र्धन केन्द्र’ बनाएर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने बताइन् ।
बहसमा मन्त्रालयका प्रवक्ता कठायतले कर्णालीमा खडेरी भएको उच्च भागमा स्याउ तथा ओखरखेती गर्न आवश्यक सिँचाइका लागि हिउँ पोखरी वा घैँटोमा वर्षातको पानी सङ्कलन प्रविधि प्रमुख वैकल्पिक उपाय भएको बताए । ‘जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएका छन्’, उनले भने, ‘अब ‘एक स्याउ बगैँचा, एक सिमेन्ट पोखरी’ कार्यक्रमलाई अभियानात्मक ढङ्गले अघि बढाउनुपर्छ ।’






