अफगानिस्तानमा फसेका सुर्खेतबासीलाई खोज्दै स्थानीय प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित उद्धार गर्ने सरकारको निर्णय अनुसार सुर्खेत घर भई अफगानिस्तान पुगेका नागरिकलाई नेपाल फिर्ता हुन चाहेमा एक हप्ताभित्र सम्पर्कमा आउन सुर्खेत प्रशासनले अनुरोध गरेको हो ।
सुर्खेतबाट औपचारिक तथा अनौपचारिक माध्ययमबाट अफगानिस्तान गएका व्यक्तिहरुको उद्धारका लागि विवरण संकलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खुला नेपाललाई जानकारी दिनुभयो । जसका लागि अफगानिस्तानमा रहेका नेपालीका परिवारले सुर्खेत प्रशासनमा आएर विस्तृत विवरण उपलब्ध गराउन सक्ने उहाँको भनाइ छ ।
बिहीबार एक सूचना जारी गर्दै सुर्खेत प्रशासनले अफगानिस्तानमा रहेका व्यक्तिका परिवारले यही भदौ १० गतेसम्म विस्तृत विवरण उपलब्ध गराउन सक्ने जनाएको छ ।
२० वर्षपछि तालिवानले अफगानिस्तान कब्जामा लिएपछि बाह्य देशका नागरिकले धमाधम अफगानिस्तान छाडिरहेका छन् ।
अमेरिकालगायत विश्वका सबै देशले आ–आफ्ना नागरिकको उद्धार गर्दै स्वदेश फिर्ता गरिरहेको बेला नेपाल सरकारको आदेश अनुसार सुर्खेत प्रशासनले पनि अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धारका लागि विवरण खोज्न थालेको हो ।







