कर्णालीका धेरै स्थानमा बाढीपहिरो, आठ हजार घरधुरी जोखिममा

सुर्खेत । असार लागेसँगै यसपालीको मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएपछि कर्णाली लगायत देशभरका विभिन्न स्थानमा बाढी र पहिरोले वितण्डा नै मच्चाएको छ । अन्य प्रदेश जस्तै कर्णालीमा पनि बाढी र पहिरोको उच्च जोखिममा छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कर्णाली प्रदेशभर आठ हजार भन्दा बढी घरधुरी बाढी र पहिरोको उच्च जोखिममा छन् । तथ्याङ्क अनुसार सुर्खेत बाहेक कर्णालीका सबै जिल्लामा बाढी र पहिरोको उच्च जोखिम छ । बाढीपहिरोका कारण प्रदेशभर कुल आठ हजार तीन सय ६० घरधुरी जोखिममा रहेको प्राधिकरणले जनाएको छ । जसअनुसार सल्यानमा सबैभन्दा बढी अर्थात दुर्इ हजार पाँचसय २३ घरधुरी बाढीपहिरोको जोखिममा छन् ।
त्यस्तै डोल्पामा चारसय ४३ घरधुरी, हुम्लामा एकसय १८ घरधुरी, जाजरकोटमा एक हजार पाँचसय ९१ घरधुरी बाढीपहिरोको जोखिममा छन् । जुम्लामा एक हजार तीनसय १२ घरधुरी, मुगुमा तीनसय ३३ घरधुरी, रुकुमपश्चिममा चारसय ३४ घरधुरी र दैलेखमा दुई हजार ५४ घरधुरी बाढीपहिरोको जोखिममा रहेको प्राधिकरणको तथ्याङ्क छ ।
यता कर्णाली प्रदेश सरकारले जोखिमपूर्ण बस्तीमा क्षति न्यूनिकरणका उपायहरु खोजी गर्न थालेको छ । जोखिमपूर्ण बस्तीमा बाढी पहिरो आउनु अघि नै स्थानीयलाई सुरक्षित स्थानमा लैजानेगरी सूचना प्रणालीलाई व्यवस्थित बनाउन थालिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् महाशाखा प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए ।

खोलाको किनार, बगर र पहाडी इलाकाका बस्तीहरुलाई बाढी आउनुपूर्व नै सूचना दिएर बस्ती छोड्न आग्रह गरिने छ । जोखिममा रहेका नागरिकको ज्यूधनको रक्षा र क्षति न्यूनिकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने अभ्यास थालिएको हो । मन्त्रालयले सम्बन्धित जिल्ला र स्थानीय तहसँगको समन्वयमा बाढीपहिरोको जोखिममा रहेको बस्तीमा प्रभावकारी सूचना प्रवाह बनाउने रोकायाले बताए । यस्तै जोखिबाट हुने क्षति कम गर्नका लागि वडास्तरमा स्वयंसेवक परिचालन गरिनेछ ।
स्वयंसेवकहरुलाई नेपाल प्रहरीले उद्धारको तालिम दिने मन्त्रालयको तयारी छ । बाढीका कारण प्रदेशभर अघिल्लो आर्थिक बर्षमा मात्रै दुईसय घरमा क्षति पुग्गेको थियो । एकसय ३३ परिवार विस्थापित भएका थिए । भौगोलिक विकटतापूर्ण कर्णालीमा हरेक बर्ष बाढीपहिरोबाट करोडौँको धनजनको क्षति हुँदै आएको छ ।
दैलेखमा ६ घर भत्किए
अविरल वर्षाका कारण दैलेखमा ६ वटा घरहरु भत्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुल्लु नगरपालिकामा ६ भत्किएका छन् । वडा नं. ९ को यादुराका तीन र धामीगाउँका तीन वटा घर भत्किएका हुन् । प्यादुरा गाउँका उर्मिला विक, हिरा भण्डारी, मन्दरा भुल र धामीगाउँका रामसरा सार्की, खम्ब विक र झुपा कामीको घर भत्किएको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुई वटा घर पूर्णरुपमा र चार वटा घर आंशिक रुपमा भत्किएका छन् । घटनामा मानवीय क्षति भने भएको छैन । घर भत्कीएपछि २६ जना नागरिकको विचल्ली भएको छ । उनीहरुलाई आफन्तको घरमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुई मुख्य राजमार्ग अवरुद्ध
तीन दिनदेखिको बर्षाका कारण कर्णाली प्रदेशका दुई मुख्य राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण कर्णाली राजमार्ग र राप्ति राजमार्ग अवरुद्ध भएका हुन् । कर्णाली राजमार्गको दैलेख–कालिकोट खण्डको विभिन्न ठाउँ–ठाउँमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै अविरल वर्षापछि आएको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ–सल्यान खण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ बसारेमा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो । बर्षा नरोकिएका कारण तीन दिनदेखि पहिरो पन्छाउन सकिएको छैन । यसैबीच सडकमा रोकिराखेका दुई वटा गाडीमा बिहीबार विहान क्षति पुगेको छ ।
त्रिवेणी गाउँपालिकाको रा १ ज १६२ न एम्बुलेन्स र ना १ ख ८७८६ न. को टिप्परमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रामप्रसाद श्रेष्ठले जानकारी दिए । पहिरो टिप्परको आधा भाग पुरिएको छ भने एम्बुलेन्सको सिसा फुटेको श्रेष्ठले जनाए । टिप्पर र एम्बुलेन्समा नागरिकहरु नभएका कारण मानविय क्षति हुनबाट जोगिएको छ । राजमार्ग अबरुद्ध भएपछि मालवहाक तथा एम्बुलेन्स सवारीसाधनहरु बाटोमै अलपत्र परेका छन् ।






