एमयूको ११ औं स्थापना दिवस

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) लाई देशकै नमूना विश्वविद्यालय बनाउने उद्घोष गरिएको छ । बिहीबार विश्वविद्यालयको ११ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवाला निकायले विश्वविद्यालयलाई देशकै नमूना बनाउनुपर्ने उद्घोष गरेका हुन् ।
प्रदेश प्रमुख गोविन्द कलौनीले समृद्ध कर्णाली र सुखारी कर्णालीवासीको अभिभारा पुरा गर्न विश्वविद्यालयलाई देशकै नमूना बनाउनुपर्ने बताए । विश्वविद्यालयले कर्णालीको जल, जमिन, जलविद्युत र जैविक विविधतालाई भरपुर उपयोग गर्नेगरी जनशक्ति उत्पादन गरेमात्रै समृद्धिको यात्रा पुरा हुने उनको भनाइ छ ।
यस्तै उपकुलपति पाडा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई देशकै उत्कृष्ट विश्वविद्यालय बनाउने दाबी गरे । विश्वविद्यालयले दक्ष जनशक्ति व्यवस्थापन गरेर विद्यार्थीको भविष्यलाई उज्जवल बनाउने उनको दाबी थियो । ‘म कसैलाई जागिर खुवाउन यहाँ आएको होइन’ उनले भने, ‘कर्णालीको विश्वविद्यालय बनाउनु २४ घण्टा खटिएर काम गर्छु ।’
उनले कुनै जानकारी नदिई नाम परिवर्तन गर्दा आफू आश्चर्यमा परेको बताए । उनले ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय’ नामका २५ लाख बराबरको कागजपत्र खेर गएको बताए । उनले विश्वविद्यालय चिट चोरेर पास हुने ठाउँ नभएर गुणस्तरीय जनशक्ति उत्पादन हुने प्रागिक थलो भएकाले शिक्षक र विद्यार्थीले कसैले पनि बदामासी गरे त्यस उपर कारवाही गर्ने बताए ।
त्यस्तै विश्वविद्यालयका रजिस्ट्रार नारायणप्रसाद पौडेलले चालू आर्थिक वर्षमा २३ करोड रुपैयाँ खर्च भइसकेको बताए । चालु आर्थिक वर्षका लागि विश्वविद्यालय अनुदान आयोगबाट ५२ करोड प्राप्त भएको र पुँजीगत पूर्वाधार विकासका लागि काम गरिहेको बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलव्ध गराउन पाठ्यक्रमलाई परिर्वन गर्दै व्यवहारिक र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने तर्फ अघि बढाउने बताए ।






