कांग्रेसद्वारा विभिन्न जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरूबाट प्राप्त आर्थिक सहयोग उपयोग गरी कोभिड–१९ संक्रमण उपचारमा अत्यावश्यक अक्सिजन कन्सेन्ट्रेटर वितरण गरिरहेको जनाएको छ। सार्वजनिक अस्पतालहरूमा कांग्रेसले यो उपकरण उपलब्ध गराइरहेको हो ।
सो पार्टीले गठन गरेको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको ५० थान अक्सिजन कन्सेन्ट्रेटर अत्यावश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालमा वितरण गर्दै आएको छ। यस्तो प्रकारको एउटा मेसिनबाट दुई बिरामीलाई एकैपटक मेडिकल अक्सिजन दिन सकिन्छ ।
समिति संयोजक एवं कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विज्ञप्तिमार्फत उक्त सहयोगका लागि पार्टीका विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई धन्यवाद दिएका छन्। साथै, थप आउँदै गरेको आर्थिक सहयोगबाट पनि आगामी दिनमा आवश्यक ठाउँमा सहयोग गर्दै जाने उनले उल्लेख गरेका छन् ।
कोभिड–१९ संक्रमणको रोकथाम, उपचार र राहत सहयोग कार्यमा कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समिति पनि सक्रिय छन्। जनसम्पर्क समितिले समय–समयमा नेपालका विभिन्न जिल्लामा त्यस्तो सहयोग गर्दैआएको छ।
सभापति शेरबहादुर देउवाको अनुरोधमा केन्द्रीय समितिलाई कोभिड–१९ संक्रमणका स्वास्थ्य सामग्री खरिद गरी बिरामीको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी रहेको समेत महतले उल्लेख गरेका छन्।
कोरोना महामारी रोकथामका लागि सचेतना अभियानअन्तर्गत देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका कांग्रेसका संरचना, कोभिड–१९ अनुगमन जिल्ला समिति, भ्रातृ एवं शुभेच्छुक संस्था क्रियाशील रहेको डा. महतले जानकारी दिए।
अभियानअन्तर्गत पार्टीले मास्क र स्यानिटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकालाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटरलगायत स्वास्थ्य सामग्रीसमेत वितरण गर्दै आएको छ ।






