दुर्घटना नियन्त्रण गर्न टाइम कार्ड लाग


सल्यान : राप्ती राजमार्गमा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले समय निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ । राप्ती राजमार्गको दाङ कपुरकोट हुँदै रुकुम चल्ने गाडीमा समय निर्धारण गरिएको छ ।
टाइम कार्ड लिएका सवारीसाधनले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो पुगेमा यातायात नियमावली अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख लक्ष्मण विकले बताए । प्रत्येक सवारीसाधनलाई एक एकवटा समय निर्धारण कार्ड वितरण गरिएको र सो कार्ड प्रहरी चौकीमा देखाई तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र नगराएका कानुनी कारबाही अघि बढाइने उनको भनाइ छ ।
टाइम कार्ड लागु भएपछि सवारीसाधनको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी आउने र यात्रुलाई सडकमा यात्रा गर्न पनि सजिलो हुने विकले विश्वास व्यक्त गरे । सडकमा सवारीसाधनको चाप बढ्दै जानु तथा सडकको अवस्था दर्दनाक भएका कारण दुर्घटना बढी रहेको र लेन अनुशासनको पालना पनि नहुँदा टाइम कार्ड लागु गरिएको प्रहरीको भनाइ छ ।
यसअघि पनि सल्यानमा टाइम कार्ड लागु गरिएको थियो तर सम्बन्धित निकायको फितलो कार्यान्वयनका कारण रोकिएको थियो । यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चालकसँगै १ मिनेट कार्यक्रम सञ्चालन गरेको छ ।
सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, अस्वस्थ गति प्रतिस्पर्धा नगर्न तथा सडक लेनको प्रयोगबारे चालकलाई सचेत बनाउने काम गरिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको प्रहरीको भनाइ छ ।






