दैलेखमा ६९ हजारले लगाए दुवै मात्रा खोप


दैलेख : दैलेखमा हालसम्म ६९ हजार ३ सय ८० जनाले कोरोनाविरुद्ध खोपको दुवै मात्रा लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले उक्त जानकारी दिएका हुन् । यसैगरी ७८ हजार ९० जनाले हालसम्म कोरोनाको पहिलो मात्रा खोप लगाएका जनाइएको छ ।
रेग्मीका अनुसार हाल दैलेखमा कोरोना संक्रमितको संख्या शून्य रहेको जनाएका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा पहिलोपटक आठविस नगरपालिकामा १ मा ०७६ जेठ ४ गते कोरोनाका पहिलो बिरामी फेला परेका थिए । जिल्लामा ३ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । कोरोनाका ३ हजार ८ सय १ जनामध्ये पुरुष २ हजार ४ सय ८४ जना र महिला १ हजार ३ सय १७ जना रहेका निमित्त कार्यालय प्रमुख रेग्मीले बताए ।
दैलेखमा कोरोनाको पहिलो र दोस्रो चरणमा गरी २९ जनाको मृत्यु भएको जनाइएको छ । पुस र माघ महिनाभित्र १२ वर्षदेखि १८ वर्षसम्मका ४० हजार किशोरकिशोरीलाई कोरोनाविरुद्धको ‘ मोडर्ना’ खोप लगाइने लक्ष्य रहेको रेग्मीले बताए ।
उनले जिल्लामा अझै २ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने लक्ष्य रहेको भए पनि आम नागरिकले नमान्ने गरेका कारण समस्या हुने गरेको बताए । जिल्लामा खोपको उपलब्धता पर्याप्त मात्रामा रहेको छ । स्थानीय सरकारले जनतालाई खोप लगाउन जागरुक गराउनुपर्ने दायित्व भए पनि उनीहरूले भनेजति चासो नदेखाउने गरेकाले खोप अभियानमा लक्ष्य प्राप्ति गर्न सकिएको छैन ।






