स्वरोजगार सिर्जना

आर्थिक विकासमा कर्णाली पछाडि छ । भौगोलिक विकटता, भौतिक विकास कमजोर र लगानी अभावमा कर्णालीमा औद्योगिक विकास हुन सकेको छैन । यसको परिणाम आज पनि यहाँ उद्योग र कलकारखाना छैनन् ।

कलकारखाना नभएकै कारण स्थानीयले रोजगारी पाउन सकेका छैनन् । रोजगारी उपलब्ध नभएकै कारण प्रदेशमा गरिबी छ । आज गरिबीका कारण अधिकांश परिवार वर्षभरी खान पाउँदैनन् ।

गरिबीले नै यहाँ रोग, भोक र अभावले जेलिएको छ । यस्तो अवस्थामा यहाँका अधिकांश परिवार मजदुरीका लागि शहर र भारत लगायतका देशमा पस्न बाध्य छन् । कर्णालीबासीलाई छाक टार्ने एकमात्र विकल्प भनेको कृषि पेशा हो ।

तर सिचाइँ र मलको अभावमा उत्पादन कम हुन्छ । कृषिमा आधुनिकरण हुन नसक्दा उत्पादन कमजोर छ । उत्पादन नहुँदा धेरै कर्णालीबासी भारत पस्ने गरेका छन् । भारतमा गरेको मजदुरीले पनि छाक टार्न र एकसरो कपडा लगाउन हम्मेहम्मे हुने गरेको छ । यही कारण कर्णालीमा कुपोषण र अन्य रोगले नागरिकलाई सताउने गरेको हो ।

यतिबेला देशमा संघीयताको अभ्यास भइरहेको छ । संघीयता आएसँगै नागरिकले आँगनमै रोजगारी पाउने अपेक्षा गरेका छन् । स्थानीय र प्रदेश सरकारले पनि गरिबी निवारणका लागि विभिन्न प्रयासहरु जारी राखेका छन् । आँगनकै सरकार भएका कारण पनि हिजोको तुलनामा अब विकासले गति लिने अपेक्षा बढी छ ।

गाउँमा विकास र औद्योगिकरण हुनु भनेको रोजगारीका अवसरहरु पनि सिर्जना हुनु हो । पछिल्लो समय प्रदेश सरकारले कर्णालीमा रोजगारी सिर्जना गर्न र नागरिकहरुलाई आत्मनिर्भर बनाउन मुख्यमन्त्री रोजगार कार्यक्रम संचालन गरेको छ । जुन प्रदेशका सबै वडाहरुमा लागू छ ।

यसको उदेश्य भनेको नागरिकलाई रोजगारी दिनु हो । यसले एकातिर गाउँमा नागरिकलृे काम अर्थात रोजगारी पाएका छन् भने अर्कोतर्फ गाउँमा भौतिक विकासको लहर पनि चलेको छ । यो कार्यक्रममार्फत गाउँमा स्थानीयले सडक, सिचाइँ कुलो, बाटो र अन्य सार्वजनिक संरचनाहरु निर्माण गरिरहेका छन् । यसले उनीहरुलाई वर्षमा कम्तिमा एकसय दिनको रोजगारी दिलाएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमकै कारण यहाँका विपन्न परिवारले आँगनमै रोजगारी पाएका छन् । यसबाट कालापहाड नै धाउनुपर्ने बाध्यताबाट धेरैले मुक्ति पाएका छन् । यो निकै सुखद हो । यद्यपी यो कार्यक्रमका केही सुधार गर्नुपर्ने पक्ष पनि छन् । अब यो कार्यक्रमलाई स्वरोजगारमुलक बनाउन आवश्यक छ ।

अर्थात दैनिक जयालादारी सँगै उत्पादनमुलक क्षेत्रमा पनि प्रदेश सरकारले लगानी गर्नु आवश्यक छ । साना तथा लघु उद्यममा लगानी गरेर धेरै रोजगार दिने र एकपटक लगानी गरेर धेरै समयमसम्म आम्दानी दिने खालका क्षेत्रमा लगानी हुनु पर्दछ । यसले कर्णालीबासीलाई स्थायी प्रकृतिको रोजगारी उपलब्ध हुनेछ ।

स्वरोजगारमुलक क्षेत्रमा लगानी बढाएमा यहाँका विपन्न परिवारलाई मजदुरीका लागि भौंतारिनुपर्ने अवस्था पनि अन्त्य हुनेछ । यसले एकातिर सरकारी लगानीको सदुपयोग हुनेछ भने अर्कोतर्फ गाउँमा नागरिकहरु आत्मनिर्भर पनि हुनेछन् ।

स्वरोजगार सिर्जना

विद्यार्थी नेताहरूको ताल !

स्वरोजगार सिर्जना

घुँयत्राे

Leave a comment

Your email address will not be published. Required fields are marked *