देशमा रक्तपात नहोस् भनेर देश छाडें : घानी

एजेन्सी : अफगानिस्तानमा तालिबान काबुल प्रवेश गरेसँगै देश छोडेका अफगानी राष्ट्रपति असरफ घानीले देशमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले देश छोडेको बताएका छन्।
उनले तालिबानीसँगको रक्तपातपूर्ण युद्ध वा प्यारो देश छोड्नुपर्ने कठिन विकल्प आफ्नो सामु आएपछि देश छोडेको बताएका हुन्। घानीले आफ्नो फेसबुकमा तालिबानले बन्दुक र हतियारले सत्ता कब्जा गरेको भन्दै अब देशवासीको सम्मान, सम्पत्ति तथा स्वाभिमानको रक्षाका लागि उनीहरु नै जिम्मेवार रहने बताए।
उनले अब तालिबान अफगानिस्तानको नाम र सम्मान गर्ने वा अरु कुनै द्वन्द्वमा फेरि फस्ने ऐतिहासिक परीक्षाको घडीमा पुगेको उल्लेख गरेका छन्।
राष्ट्रपति घानी उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित ताजकिस्तान पुगेको बताइएको छ। उनकी पत्नी, सेना प्रमुख तथा राष्ट्रिय सुरक्षा सल्लाहकार भने उज्बेकिस्तानको राजधानी ताशकन्द पुगेको अल जजिराले उल्लेख गरेको छ।






