मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत

काठमाडौं । विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ स्वीकृत गरेको छ ।

विपद व्यवस्थापन कार्यकारी समितिको गृहमन्त्रालयमा बुधबार बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना ,२०७८ का साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८ , गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि ,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि २०७८ लाई स्विकृत गरेको हो ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षति भएका विवरणहरू आइरहेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *