देउवाको नेतृत्वमा पार्टी एक भएर अघि बढ्छ : महत

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।
बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताए । देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनको दाबी छ ।
सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने महतले बताए ।
‘उहाँलाई जसरी समग्र पार्टी पंक्तिले समर्थन गर्यो, यसबाट पनि के देखिन्छ भने उहाँ सबै नेताहरुलाई जोड्न सक्नुहुन्छ । कसैलाई पनि असुरक्षाको अनुभुति हुने परिस्थिति आउँदैन भन्ने विश्वासले नै सबैले उहाँलाई सहयोग पनि गर्नुभयो । समर्थन पनि गर्नुभयो । उनले भने, ुमलाई के कुरामा विश्वास छ भने हाम्रो अर्जुन दृष्टि भनेको आउने आम निर्वाचन, आउने निर्वाचनमा पार्टीलाई एक बनाएर लानसक्ने जुन उहाँको खुबी छ, त्यो नै उहाँको दोस्रो कार्यकालमा निर्वाचित हुनुको मुल कारण हो भन्ने मलाई लागेको छ । शेरबहादुरजीको मुल खुबी नै पार्टी व्यवस्थापन हो ।’
पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरूले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।
देउवालाई बधाई दिन बालुवाटार पुगेका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउन पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे। आगामी दिनमा पार्टी सशक्त भएर अगाडी बढ्ने उनको भनाई छ।






