अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाई

काठमाडौं : नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए। प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन्।
पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतादन भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भइसकेका छन् ।
मंगलबार राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २७ सय ३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गरेका थिए ।
दोस्रो चरणको निर्वाचनमा कुल चार हजार ६२३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो। सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने बताइएको छ ।






