उपमहानगर बनाउने सपना

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर । सहरीकरण र जनघनत्व बढेसँगै नगरपालिका बनेको वीरेन्द्रनगरलाई भाग्यमानी सहर पनि भन्ने गरिन्छ । कुनै बेला सानो क्षेत्रमा फैलिएको र कम जनसंख्या रहेको यो नगरपालिकाको क्षेत्रफल अहिले विस्तार भएको छ । १२ वडाबाट विस्तार भएर १६ वटा वडा भएका छन् ।
त्यसमा पनि पछिल्लो समय जनसंख्या पनि एकाएक बढेको छ । सहरीकरण र औद्योगिक विकास फराकिलो बन्दै गएको छ । कुनै बेला सुर्खेत जिल्लाको मात्र सदरमुकाम रहेको वीरेन्द्रनगर यसअघि तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम थियो । १५ जिल्लाको सदरमुकाम हुने अवसर पाएको यो सहर संघीयतासँगै प्रदेशको राजधानी बन्न सफल भएको छ ।
यस हिसावले पनि वीरेन्द्रनगरलाई भाग्यमानी सहरका रुपमा लिने गरिएको छ । प्रशासनिक केन्द्र बनेकाले पनि वीरेन्द्रनगरमा भौतिक विकासको गति बढ्दो क्रममा छ । शैक्षिक र औद्योगिक पूर्वाधार तयार भइरहेका छन् । भौतिक सुविधाको आशमा बाहिरबाट मानिसहरु बसाइ आउनेक्रम पनि बढेको छ । ऐतिहासिक र शैक्षिक नगरको विरासत बोकेको वीरेन्द्रनगरलाई पछिल्लो समय उपमहानगर बनाउने बहस चलेको छ ।
उपमहानगर बन्दा राज्यबाट पाउने अनुदान र सुविधाहरु अवस्य बृद्धि हुन्छ नै । त्यसभन्दा पनि कर्णाली देशको एउटा प्रदेश हो । जहाँ हालसम्म एउटा पनि उपमहानगरपालिका छैन । यहाँको भौगोलिक अवस्था र जनसंख्याको कारण पनि कर्णालीका अन्य स्थानमा तत्काल उपमहानगर बन्ने सम्भावना छैन ।
एकमात्र विकल्प भनेको वीरेन्द्रनगर नै हो । अर्कोतर्फ प्रदेशमा एउटा पनि उपमहानगर नहुनु दुखद हो । त्यतिमात्र होइन, वीरेन्द्रनगरलाई उपमहानगर बनाउनका लागि आवश्यक पर्ने मापदण्डहरु पनि पुगेका छन् । उपमहानगर बन्नका लागि नगरमा कम्तिमा एक लाख मानिस बसोबास गर्नुपर्छ भने नगरको बार्षिक आम्दानी एक करोड आवश्यक पर्दछ । त्यो मापदण्ड वीरेन्द्रनगरले पूरा गरिसकेको छ ।
यसकारण आधुनिक सहरीकरणतर्फ विकास भइरहेको वीरेन्द्रनगरलाई उपमहानगर बनाउने सपना देख्नु अन्यथा होइन । यहीकारण पनि नगरपालिकाले आफ्नो स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । अब वीरेन्द्रनगरलाई उपमहानगर बनाउने वा नबनाउने केन्द्र सरकारको हातमा छ ।
केन्द्र सरकारले नै आवश्यक मापदण्ड केलाएर उपमहानगर घोषणा गर्ने गर्दछ । खासमा मापदण्ड पुगेर मात्र हुँदैन । राजनीतिक पहलकदमी र एकता आवश्यक हुन्छ । वीरेन्द्रनगरलाई उपमहानगर बनाउने सपना कोही व्यक्ति र दल विषेशको मात्र होइन । यो त सिंगो कर्णालीबासीको सपना हो । प्रदेशको राजधानी सहरको विकास भएको हेर्ने चाहना सबैको छ ।
यसका लागि अब एकपटक पुनः राजनीतिक एकता र सहकार्य आवश्यक छ । यहाँका दलहरुले यसलाई साझा मुद्धा बनाएर केन्द्र सरकारलाई आवश्यक दबाव दिन आवश्यक छ । सबैको एकता, सहकार्य र समन्वयबाट मात्र वीरेन्द्रनगरलाई जतिसक्यो चाँडो उपमहानगरपालिका बनाउन सम्भव हुनेछ । यसतर्फ यहाँको राजनीतिक र प्रशासनिक नेतृत्व सजग र सक्रिय हुनै पर्दछ । अनिमात्र उपमहानगर सपना पूरा हुनेछ ।






