कछुवा गतिमा कोरोनाविरुद्धको खोप अभियान

सुर्खेत । पछिल्लो दुई हप्तादेखि कर्णालीमा कोरोना संक्रमण बढ्दो छ । संक्रमणदर ६५ प्रतिशत पुग्दा अस्पतालमा जटिल प्रकृतिका संक्रमितहरु थपिदै गएका छन् । एकदिनको फरकमा संक्रमितको मृत्यु पनि भइरहेको छ । तर संक्रमण रोकथामका प्रयासहरु भने शुन्य जस्तै छन् ।
कोरोना रोकथामको उत्तम विकल्प भनेको सबै नागरिकलाई खोप लगाउनु हो । तर कर्णाली प्रदेशमा भने कोरोनाविरुद्धको खोप अभियान नै सुस्त बनेको छ । संक्रमण बढ्दा समेत खोपको मात्रा बढाइएको छैन । यतिसम्म की खोप अभियान सुरु भएको ६ महिना पुरा भइसकेको छ । तर कर्णालीमा ७७ हजार जनाले मात्रै खोपको पूर्णमात्रा पाएका छन् । जबकी प्रदेशको जनसंख्या १७ लाख छ । अधिकांश नागरिक अहिले पनि खोपकै प्रतिक्षामा छन् ।
कर्णालीमा गएको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । ६ महिनाको अवधिमा प्रदेशका दुई लाख ४४ हजार पाँचसय १२ जनाले खोप पाएका छन् । त्यसमा ७७ हजार पाँचसय ७४ जनाले मात्रै खोपको दुबै मात्रा पाएका छन् । बाँकीले दोस्रो डोज पाएका छैनन् ।
पहिलो डोज नै नपाएका नागरिकले कहिले खोप पाउने हुन् अहिले नै भन्न सकिने अवस्था छैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको तथ्याङ्क अनुसार २५ हजार आठ सय १६ जनाले कोभिडशिल्ड, २६ हजार पाँचसय १० जनाले भेरोसेल र २५ हजार दुई सय ४८ जनाले जोनसन एन्ड जोनसन खोप लगाएका छन् । प्रदेशका एकलाख आठ हजार चारसय ८६ जनाले कोरोनाविरुद्धको कोभिडशिल्ड खोप लगाइएको थियो । तर २५ हजार आठसय १६ जनाले मात्रै कोभिडशिल्डको दोस्रो मात्रा अर्थात पूर्णखोप लगाउन पाए ।
भारतबाट खोप आपूर्ति बन्द भएपछि प्रदेशका ८२ हजार ६ सय ७० जना नागरिकले अहिलेसम्म कोभिडशिल्डको दोस्रो डोज पाउन सकेका छैनन् । दोस्रो मात्रा नपाउनेहरुमा डोल्पाका दुई हजार नौ सय सात जना, मुगुका तीन हजार चारसय ६ जना, हुम्लाका तीन हजार नौसय ४१ जना, जुम्लाका सात हजार दइसय ३८ जना छन् । त्यस्तै कालीकोटका सात हजार ११ जना, दैलेखका १४ हजार दुइसय २२ जना, जाजरकोटका आठ हजार दुइसय ८८ जना, रुकुमपश्चिमका ६ हजार सातसय ६९ जना, सल्यानका दश हजार आठसय ७३ जना र सुर्खेतका १८ हजार आठसय १५ जनाले कोशिडशिल्डको दोस्रो मात्रा पाउन सकेका छैनन् ।
पहिलो मात्रा लगाएको ६ महिना वितिसक्दा पनि दोस्रो मात्रा पाउने÷नपाउने टुङ्गो छैन । तर प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले अब छिट्टै कोभिडशिल्डको दोस्रो मात्रा पाउन पाउने दाबी गरेको छ । ‘पहिले भारतमा कोरोना ह्वात्तै बढेपछि खोप आपूर्ति हुन सकेन’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना खोप फोकल पर्शन नोदनारायण चौधरीले भने, ‘अहिले अवस्था सहज भइसक्यो, अब छिट्टै दोस्रो मात्रा पनि लगाउँछौं ।’
भारतबाट खोप आउने निश्चित भइसकेका कारण दुई हप्ताभित्र कोभिडशिल्डको दोस्रो मात्रा लगाईन पाउने उनको दाबी छ । प्रदेशमा अनुमानित १७ लाख जनसंख्या मध्ये अझै १२ लाख नागरिकलाई खोप आवश्यकपर्ने निर्देशनालयको अनुमान छ ।
‘कुल जनसंख्या मध्ये तीन लाख बढी बालबालिकाहरु छन्, दुईलाख नागरिक विदेशमा होलान्’ उनले भने, ‘कर्णालीका करिव १२ लाख नागरिकलाई खोप आवश्यक पर्नसक्छ ।’ अबको महिना दिनभित्रै खोप सहज रुपमा आपूर्ती हुने १८ बर्षभन्दा माथिका सबै नागरिकले खोप पाउने उनको दाबी छ । ‘जोखिममा रहेको नागरिकले यसअघि नै खोप पाइसकेका छन्’ उनले भने, ‘भारतबाट खोप आएपछि सबैलाई सहज रुपमा खोप पाउँछन् ।’ प्रदेशका सबै नागरिकलाई खोप पुग्नेगरी केन्द्र सरकारसँग माग भएको उनको दाबी छ ।
एक लाखले लगाए चिनियाँ खोप
कर्णाली प्रदेशमा एक लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको चिनियाँ खोप (भेरोसेल खोप) लगाएका छन् । प्रदेशभर एक लाख १० हजार सात सय ७८ जनाले चिनियाँ खोप लगाएका हुन् । ति मध्ये २५ हजार पाँचसय दश जना नागरिकले मात्रै खोपको पूर्णमात्रा (पहिलो र दोस्रो चरणको) खोप लगाएका छन् ।
तथ्याङ्ुक अनुसार डोल्पाका चारसय ३९ जना, मुगुका दुई हजार पाँचसय ३७ जना, हुम्लाका दुई हजार आठसय ४७ जना, जुम्लाका एक हजार नौसय ९१ जना, कालीकोटका एक हजार एकसय ६२ जना, दैलेखका चार हजार दुई सय २९ जना, रुकुमपश्चिमका दुई हजार दुइसय ७३ जना, सल्यानका दुई हजार पाँचसय ७४ जना र सुर्खेतका ६ हजार एकसय ५३ जना नागरिकले भेरोसेलको दुबै मात्रा लगाइएको हुन् ।
त्यस्तै ८४ हजार नागरिकले भने भेरोसेलको पहिलो मात्रा मात्र लगाउन पाएका छन् । डोल्पाका नौ सय ६३ जना, मुगुका तीन हजार नौ सय ७६ जना, जुम्लाका ६ हजार चार सय ५७ जना, कालीकोटका दुई हजार आठसय ६३ जना, दैलेखका ११ हजार एकसय ८० जना, जाजरकोटका तीन हजार पाँचसय ५१ जना, रुकुमपश्चिमका ११ हजार चारसय ५६ जना, सल्यानका १४ हजार आठसय तीन जना र सुर्खेतका २९ हजार १९ जनाले खोपको पहिलो मात्रा लगाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
चार जिल्लामा अमेरिकन खोप
कोरोनाविरुद्धको अमेरिकन खोप (जोनसन एन्ड जोनसन) कर्णालीका चार जिल्लामा लगाइएको छ । हालसम्म मुगु, कालीकोट, दैलेख र सुर्खेतका नागरिकलाई अमेरिकन खोप लगाउन लगाइएको हो ।
जस मध्ये मुगुका दुई हजार पाँचसय चार जना, कालीकोटका एक हजार दुई सय ९० जना, दैलेखका तीन हजार नौसय ७५ जना र सुर्खेतका १७ हजार चारसय ७९ जना गरी कुल २५ हजार दुईसय ४८ जनाले अमेरिकन खोप लगाएका छन् । यो खोप एउटा मात्रा लगाउनु पर्छ । एकपटक मात्रै लगाए पुग्ने भएका कारण यो खोप विशेषगरी विदेश जाने नागरिकलाई प्राथमिकतामा राखिएको छ ।






