आठ महिनादेखि किन अड्कियो सुर्खेत विमानस्थल विस्तारको योजना ?
सुर्खेत । कर्णाली बाहेकका प्रदेशहरुमा सहजै रात्रीकालिन उडान भर्न सकिन्छ । तर कर्णालीको अवस्था फरक छ । हाल कर्णालीका ६ जिल्लामा विमानस्थलहरु चालु अवस्थामा छन् । तर एउटा पनि विमानस्थल रात्रीकालिन अवरतणका लागि योग्य छैनन् ।
यतिसम्म कि प्रदेश राजधानी सुर्खेतमासमेत सुविधायुक्त विमानस्थल छैन । धावनमार्ग सानो हुँदा साना जहाजले मात्रै सेवा दिँदै आएका छन् । यही बाध्यतालाई ध्यान दिँदै केन्द्र र कर्णाली प्रदेश सरकारले तत्कालका लागि सुर्खेत विमानस्थलको विस्तार गर्ने प्रयास गरेका छन् । तर लामो समयदेखि विभिन्न माग र वहानामा विमानस्थल विस्तारको प्रक्रिया अलपत्र परेको छ ।
यो विमानस्थल विस्तारको प्रयास गरिएको झण्डै आठ महिना वित्यो । यति लामो समयसम्म पनि विमानस्थल विस्तार हुने कि नहुने टुङ्गो लागि सकेको छैन । विमानस्थल विस्तारका लागि गत असोज १५ गतेदेखि हालसम्म धेरै प्रयासहरु भए । प्रभावित क्षेत्रका स्थानीयलाई सहमतिमा ल्याउन पटक–पटक वार्ताहरु पनि भए । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, नागरिक उड्डयन कार्यालय, कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालाय र प्रदेश सरकार नै लाग्यो ।
बैशाख १६ गते मुख्यमन्त्री मेहन्द्रबहादुर शाही नै प्रभावित क्षेत्रका स्थानीयसँग वार्तामा बसे । प्रभावितलाई उचित व्यवस्थापन, रोजेकै स्थानमा पुनस्र्थापना, न्यायोचित मुआब्जा वितरण गर्ने लगायतमा प्रतिबद्धता जनाए । तर विमानस्थल विस्तारको विषयमा मिलन विन्दु भेटिएन । छलफलमा सहभागि अधिकांशले तत्काल विमानस्थल विस्तार गर्नुपर्ने बताए । तर केहीले असहमति जनाए ।
‘५० प्रतिशत नागरिकले तत्काल विमानस्थल विस्तार हुनुपर्छ भन्नुभएको छ, तर दुईचार जनाले निरन्तर विरोध गर्दै आउनु भएको छ’ प्रभावितसँग पटक–पटक वार्ता गर्दै आएका एक सदस्य भन्छन्, ‘स्थानीयको विरोधभन्दा पनि राजनीतिक स्वार्थ पूरा गर्न खोजिएको छ, यसले समस्या भइरहेको छ ।’ बैशाख १५ गते मुख्यमन्त्रीसँगको छलफलमा १५ जना नागरिकले धारणा राखेका थिए । ति मध्ये चार जनाले मात्रै विमानस्थल विस्तारको विकल्प खोज्नुपर्ने बताएका थिए ।
अधिकांशले तत्काल विमानस्थल विस्तार गर्न सुझाव दिएका थिए । तर पनि विमानस्थल विस्तारको योजना हालसम्म अगाडि बढ्न सकेको छैन । यसले कर्णालीको यो आयोजना नै असफल हुने चिन्तासमेत बढेको छ ।
‘तत्काल यही विमानस्थल विस्तार गरौं’
सुर्खेत विमानस्थलको विस्तार सिंगो कर्णालीका साढे १७ लाख नागरिकको आवश्यकता भएको प्रदेश सरकारको भनाइ छ । ‘सुर्खेत विमानस्थल त कर्णालीवासीको आवश्यकता हो’ प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले भन्छिन्, ‘प्रभावित क्षेत्रका नागरिकलाई हामी न्यायोचित व्यवस्थापन गर्छौं, तर विमानस्थल जसरी भए पनि बनाउनुपर्छ ।’
उनले प्रभावित क्षेत्रका नागरिकको मागलाई सम्बोधन गरेर विमानस्थल विस्तारको गर्नुपर्ने बताइन् । प्रतिनिधिसभाका सदस्य एवम् नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले पनि तत्काल यही विमानस्थललाई नै विस्तार गर्नुपर्ने बताए । तर दीर्घकालिन रुपमा समस्या समाधानका लागि सुर्खेतमै अर्को अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको पनि खोजी हुनुपर्ने उनको भनाइ छ ।
‘तत्काललाई यही विमानस्थल विस्तार गर्दा राम्रो हुन्छ’ उनले भने, ‘कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न र दीर्घकालीन समस्या समाधानका लागि सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको खोजी गरिनुपर्छ ।’ त्यस्तै नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नागरिकलाई चित्त बुझाएर विमानस्थल विस्तार गरिनुपर्ने बताए । ‘प्रभावित क्षेत्रका नागरिकलाई मर्का नपर्नेगरी तत्काल विमानस्थल विस्तार गरिनुपर्छ’ उनले भने, ‘पुनस्र्थापनाको ग्यारेन्टी सरकारले लिनुपर्छ, नागरिकले पनि विकासमा सहयोग गर्नुपर्छ ।’
विमानस्थल विस्तारको विषयमा तत्काल निर्णय लिनुपर्ने रेग्मीले बताए । ‘यो वा त्यो वहानामा लामो समयसम्म अवरोध गर्नु हुँदैन’ उनले थपे, ‘विस्तार गर्न दिनुप¥यो, काम अल्झाउनु भएन ।’ नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसी पनि सुर्खेत विमानस्थल विस्तार गर्नुको विकल्प नभएको बताउँछन् । ‘विमानस्थल आम कर्णालीवासीको आवश्यकता हो’ उनले भने,
‘नागरिकलाई सहमतिमा ल्याएर सुर्खेत विमास्थल विस्तार गर्नुको विकल्प छैन ।’ यस्तै लामो समयदेखि सुर्खेत विमानस्थलको विस्तार गर्नुपर्ने आवाज उठाउँदै आएको निजी क्षेत्रले पनि तत्काल विमानस्थल विस्तार गरिनुपर्ने पक्षमा छ । ‘कर्णालीको समृद्धि र आर्थिक विकासका लागि विमानस्थल विस्तार गर्नुको विकल्प छैन’ उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने,
‘प्रभावित क्षेत्रका नागरिकले उठाएका मागको सम्बोधन गर्दै विमानस्थल विस्तार गरिनुपर्छ ।’ सुर्खेतमा सुविधा सम्पन्न विमानस्थल नभएकै कारण कर्णाली प्रदेश आर्थिक रुपमा पछाडि परेको उनको तर्क छ ।
‘कर्णालीले नसके नेपालगंजले अवसर लिनसक्छ’
सुर्खेतमा क्षेत्रिय स्तरको विमानस्थलको खोजी गरिएको लामो समय भयो । वैकल्पिक विमानस्थलका लागि छिन्चुस्थित मदानेचौर, नेपाल ट्रष्टको नाममा रहको भेरी नदी र सुब्बाकुनाबीचमा रहेको जग्गा र हालकै विमानस्थलको विस्तार गर्नुपर्नेबारेमा धेरै चर्चा भयो ।
तर विमानस्थललाई यहाँका राजनीतिक दलहरुले केवल राजनीतिक मुद्दा मात्र बनाए । विमानस्थल निर्माण गर्नेभन्दा पनि यसको जश कसले लिने भन्नेमा दलहरुबीच स्वार्थ बाझिएका कारण यो समस्या भएको हो । दलहरुबीच एकमत नभएकै कारण हाल मदानेचौरमा विमानस्थल बनाउने विषय हराएको छ ।
कर्णालीमा ठूला जहाज अवतरण गराउने विषयमा दलहरु गम्भिर नबन्दा हालको विमानस्थल विस्तारको योजना पनि तुहिने आशंका बढेको छ । यहाँका राजनीतिक दलहरु गम्भिर नबने, केन्द्र सरकारले पठाएको बजेट फिर्ता हुने अवस्था आएमा यसको फाइदा फेरि पनि नेपालगंजले उठाउन सक्छ । अर्थात कर्णालीमा आयोजना कार्यान्वयन नहुने अवस्था आएमा नेपालगंजमा सरकारले लगानी बढाउन सक्छ ।
विमानस्थलसँग चासो राख्ने जानकारहरुका अनुसार पनि यो आर्थिक वर्षभित्र सुर्खेत विमानस्थल विस्तारको काम अगाडि नबढे नेपालगञ्ज विमानस्थलतर्फ नै केन्द्र सरकारको प्राथमिकतामा पर्नेछ । योजना कार्यान्वयन नभए सुर्खेत विमानस्थल विस्तारको योजनाबाट केन्द्र सरकारले हात झिक्न सक्ने चिन्ता सरोकारवालाले गरेका छन् । साथै उनीहरुले कर्णालीले यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
एमालेलाई गढ भत्कने चिन्ता !
विमानस्थल विस्तारमा राजनीतिक स्वार्थ घुसेका कारण समस्या भएको जानकारहरु बताउँछन् । सुर्खेत विमानस्थल विस्तार हुँदा वीरेन्द्रनगरमा मुग्यगरी वडा नम्बर ११ र १२ मा प्रभाव पर्ने देखिन्छ । अ
र्थात यी दुई वडाका नागरिक विस्थापित हुन सक्छन् । यहीकारण पनि दलहरुले यसलाई राजनीतिक स्वार्थ पूर्तिगर्ने मुद्दा बनाउँदा समस्या भएको सरकारी अधिकारीहरुको बुझाइ छ । राजनीतिक रुपमा वीरेन्द्रनगर–११ र १२ लाई एमालेले आफ्नो पकड क्षेत्रको रुपमा लिएका छ ।
स्थानीय तहको निर्वाचनमा पनि दुबै वडा एमालेले जितेको छ । अहिले प्रदेश सरकारले पनि विमानस्थल विस्तारमा स्थानीय एमालेका नेताहरुले नै असहयोग गरिरहेको निस्कर्ष निकालेको छ । सुर्खेत विमानस्थल विस्तार भएको खण्डमा प्रभावित क्षेत्रका बासिन्दाहरु विस्थापित हुनेछन् ।
एकै ठाउँमा रहेका मतदाता विस्थापित भएपछि यसबाट आफूहरुलाई राजनीतिक रुपमा नोक्सान हुने चिन्ता स्थानीय एमालेका नेताहरुमा छ । यही भयका कारण पनि विमानस्थल विस्तार हुने भए प्याकेजमै सहमति हुनुपर्ने र आफूहरुको एकीकृत रुपमा पुनस्र्थापना हुनुपर्ने माग अगाडि सारिएको, विकासमा अवरोध गरिएको र सहमतिका लागि स्थानीयहरु तयार नै नभएको बुझाई प्रदेश सरकारको छ ।
वीरेन्द्रनगरका कतिपय काँग्रेस र माओवादीका नेताहरु पनि एमालेले चाहेमा समस्या समाधान हुने दाबी गर्छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र अन्य दलका प्रतिनिधिहरुले भने जसरी भए पनि विमानस्थल विस्तार गर्नुपर्ने पक्षमा देखिन्छन् । तर स्थानीयले भने आफूहरु विकास विरोधी नभएको भन्दै आफूहरुको पुुनस्र्थापनाको सुनिश्चितता भए कुनै अवरोध नहुने बताउँछन् ।