म्यानचेष्टर सिटीलाई हराउँदै लेस्टरले जित्यो कम्युनिटी शिल्डको उपाधि

काठमाडौं : लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो।
लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे। केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो।
लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। सिटी भने सातौं पटक उपाधि जित्नबाट बन्चित भएको छ। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्। लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन्।






