जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन्। जेल जीवन बिताइरहेका जुमालाई जेलमा स्वास्थ्यमा गडबडी देखिएपछि चिकित्सकको निगरानीमा रहन शुक्रबार अस्पताल भर्ना गरिएको हो।
‘पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो’, एक अधिकारीले सञ्चारकर्मीसँग भने।
पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो।
भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेर जेल गएका थिए।
जुमा जेल परेपछि उनका समर्थकले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन गरेका थिए। त्यसका लागि सेना परिचालन गर्नुपरेको थियो।
उनका समर्थकले मच्चाएको हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने सयौँ पक्राउ परेका थिए। प्रदर्शनका क्रममा पसल लुटिएको र भवनमा आगजनी गरिएको थियो। अहिले भने अवस्था सामान्य बन्दै गएको छ।रासस






