२०८२ बैशाख १८ गते
×

Now Playing

बोको हरामका नाइके अबुबकारले आत्महत्या गरेको दाबी

एजेन्सी । नाइजेरियाको उग्रवादी समूह बोको हरामका नाइके अबुबकार सेकाउले आत्महत्या गरेको दाबी भएको श्रव्य-रेकर्ड सार्वजनिक भएको छ।

दुईटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोट गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) ले सो रेकर्डमार्फत जानकारी दिएको हो।

अघिल्लो महिना पनि सेकाउ मारिएको दाबी भएको थियो। त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो। बोको हराम वा नाइजेरिया सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि नगरेका बीबीसीमा उल्लेख छ ।

मिति उल्लेख नगरिएको सो रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको’ बताएका छन्। ‘भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन्,’ एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा उल्लेख छ।

अघिल्लो महिना भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजेरियाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने बताएको थियो । सुरक्षा निकायसँग निकट सम्बन्ध भएका एकजना पत्रकारले आइएसडब्लूएपीले उत्तर पूर्वी नाइजेरियाको साम्बिसास्थित जंगलमा रहेका बोको हरामका अखडाहरूमा हमला गर्दा सेकाउ मारिएको बताए।

सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई प्रहरीले मारिदिएपछि उनले उक्त समूहको नेतृत्व गरेका थिए। त्यसयता उत्तर पूर्वी नाइजेरियाको द्वन्द्वमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन्।

पछिल्लो दशकमा उक्त क्षेत्रका अधिकांश हिस्सामा बोको हराम लडाकूहरू सक्रिय छन्। सन् २०१४ मा बोर्नो राज्यको एउटा विद्यालयबाट बोको हराम समूहले सयौँ छात्राहरूको अपहरण गरेको थियो त्यसमध्ये कैयौँ अझै बेपत्ता छन्।

अर्को उत्तर पूर्वी राज्य योबेबाट विद्यार्थीहरूको त्यस्तै किसिमको अपहरण सन् २०१८ मा गरिएको थियो। आइएसडब्लूएपी बोको हरामबाट सन् २०१६ मा अलग भएको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *