चामुण्डाविन्द्रासैनीमा बहिरंग उपचार केन्द्र स्थापना

चामुण्डा, दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिकाको लयाटी विन्दसैनी स्वास्थ्य चौकीमा बालबालिकामा हुने कृपोषणको उपचार गर्न बहिरंग उपचार केन्द्र स्थापना भएको छ ।
आईतबार लयाटी विन्द्रासैनी स्वास्थ्य चौकीको आयोजना, यु.एस.ए.आई.डी. सुआहारा कार्यक्रमको आर्थिक सहयोग र एभरेष्ट क्वलको सहजिकरणमा भएको कार्यक्रमका बीच उपचार केन्द्रको उद्घाटन भएको हो ।
बहिरंग उपचार केन्द्र स्थापना भएसंगै बालबालिकाको कुपोषणको उपचार गर्न दैलेख सदरमुकाम जानुपर्ने छैन । कम तौल, पुड्कोपन, ख्याउटेपन लगायतका लक्ष्यण देखिएकालाई कुपोषण भएको मानिन्छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाहीले कुपोषणबाट जोगाउन आयमुलक जंगल र सडक बनाउन कार्य अघि बढाईएको बताए ।
कुपोषण हुन नदिन नगरपालिकाले सडकमा दायाँ बाँया आयमुलक फलफलु लगाइएको उहाँले बताउनु भयो । उनले भने ‘आर्थिक रुपमा सम्पन्न व्यक्ति बजारमा खरिद गरेर खान सक्छ,आर्थिक रुपमा विपन्न व्यक्तिहरु पोषणयुक्त खान किनेर खान सक्दैन ।,
‘त्यसैले नगरपालिकाले आर्थिक विपन्न नागरिकहरुले पेटभरी पोषणयुक्त फलफुल खान पाओस भन्ने उद्देश्यका साथ आयमुलक सडक र जंगल बनाइएको छ ।’ शाहीले भने ‘पोषणका लागि नगरपालिकाले ‘‘आउ, खाउँ, लिएर जाऔ’’ नारालाई अघि सारिएको छ ।’ साथै नगरपालिकाले सबै वडा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरी जेष्ठ नागरिक, गर्भवति महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको घरदैलो उपचार तथा परामर्श सेवा सुचारु गरेको जानकारी दिए ।

कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री)ले कुपोषणका कारणले कोही पनि दिदि विहिनीहरु दैेलेख सदरमुकाम जानु नपर्ने बताइन् । उनले भनिन्, ‘उपचार केन्द्र स्थापना भएर मात्र हुदैन, गुणस्तरीय सेवा दिन आवश्यक पर्दछ ।, गुणस्तरीय सेवा दिन स्वास्थ्य कर्मी र कर्मीको महत्वपुर्ण भुमिका हुन आवश्यक छ ।’
चामुण्डाविन्द्रासैनी नगरपालिका–८ का वडाअध्यक्ष एवम् लयाटी विन्द्रासैनी स्वास्थ्य चौकीका अध्यक्ष वीरबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वडा–१ का अध्यक्ष रंगबहादुर तामाङ, वडा–३ का अध्यक्ष निरकबहादुर शाही, वडा–९ का वडाअध्यक्ष नन्दप्रसाद न्यौपाने, नगर स्वास्थ्य शाखा प्रमुख मानकुमारी शाही, सुआहारा जिल्ला कार्यक्रम संयोजक इन्द्र आउजी लगायतको उपस्थिति रहेको एभरेष्ट क्वल सुआहारा कार्यक्रम पालिका स्तरीय सहजकर्ता खड्कबहादुर विकले जानकारी दिए ।
विशेषगरी विपन्न वर्गका महिला तथा बालबालिका विभिन्न सूक्ष्मपोषक तत्वहरूको अभावले कुपोषण भएको पाइएको छ भने ५ वर्षमुनिका एक तिहाई बालबालिकाको मृत्यूको कारण दिर्घकालीन कुपोषण रहेको छ । कुपोषणका शिकार भएका बालबालिकाहरू पछि गएर दीर्घरोगी हुने सम्भावना बढी हुने चिकित्सकहरु बताउछन् ।






