कोरोनाको संक्रमण बढेको बढ्यै

निषेधाज्ञामा पनि घटेन संक्रमण दर, मृत्युदर पनि बढ्दो, कडाइ गर्ने तयारीमा प्रशासन

सुर्खेत । समयमै पर्याप्त पूर्वतयारी भएन । भारतमा कोरोना बढेपछि नेपालीहरु गाउँ फर्किए । तर गत वर्षको जस्तो गरेर यसपाली क्वारेन्टाइन र आइसोलेसनहरु तयार गरिएनन् । भारतबाट नागरिकहरु गाउँ पुगेसँगै कोरोना पनि गाउँ–गाउँमा पुग्यो । परिणामतः कर्णालीमा तीन हप्तामै कोरोना प्रदेशभर फैलियो ।

संक्रमणको दर यसरी फैलिएको छ कि बैशाख महिनामै साढे २३ सय नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार तीन हप्ताको अवधिमा दुई हजार तीनसय ६४ जना नयाँ संक्रमित थपिएका छन् । चैत मसान्तसम्म कर्णालीमा जम्मा ३६ जना मात्र सक्रिय संक्रमित थिए । तर तीन हप्तामै बढेर कुल संक्रमितको संख्या दुई हजार चारसय पुगेको छ ।

तथ्याङ्क अनुसार सुर्खेतमा सबैभन्दा बढी एक हजार तीनसय ३५ जना संक्रमित भएका छन् । यस्तै दैलेखमा दुईसय ३६ जना, जुम्लामा नौ जना, कालिकोटमा एकसय २८ जना, जाजरकोटमा एकसय ४३ जना, सल्यानमा तीनसय १६ जना, रुकुमपश्चिममा एकसय ९६ जना, मुगुमा पाँच जना र डोल्पामा ३२ जना संक्रमित थपिएका छन् ।

संक्रमण मात्रै बृद्धि भएको छैन, नागरिकको मृत्युदर पनि डरलाग्दो रुपले बढेको छ । कोही अक्सिजनको अभावमा त, कोही अस्पताल जान नपाउँदै ज्यान गुमाउन बाध्य छन् । बैशाख लाग्नु अघिसम्म कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ जना मात्र थियो । तर पछिल्लो तीन हप्तामा मात्र ३२ जनाको मृत्यु भएको छ ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण बैशाख ५ गतेदेखि नागरिकको मृत्यु हुन थालेको थियो । परिणामतः तीन हप्तामै संक्रमण र मृत्यु दर बढेका कारण कर्णालीलाई फेरि निषेधाज्ञा लागु गर्नुपर्ने अवस्थामा पु¥याएको छ ।

संक्रमण नियन्त्रण बाहिर जाने खत्तरा बढेपछि हाल कर्णालीका आठ जिल्लामा निषेधाज्ञा लागू गर्नु गरिएको छ । संक्रमणदर उच्च भएपछि सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, कालिकोटमा (आंशिक) निषेधाज्ञा लागू छ । आज (बुधबार) देखि दैलेख, हुम्ला र डोल्पामा पनि निषेधाज्ञा लागु भएको छ ।

 

‘तत्काल जनशक्ति र पूर्वाधार थपौं’

प्रदेशमा संक्रमण फैलिंदै गएपछि चिकित्सकहरुले तत्काल जनशक्ति र पूर्वाधार थप गर्नुपर्ने बताएका छन् । ‘अहिलेको संक्रमण निकै जटिल छ, अधिकांशलाई अक्सिजन विना उपचार सम्भव छैन’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्का भन्छन्, ‘अवस्था भयावह हुन नदिन तत्काल दक्ष जनशक्ति र पूर्वाधार थपौं ।’

संक्रमणलाई नियन्त्रण गर्न सरकारले पूर्वाधार र जनशिक्त व्यवस्थापनमा लगानी बढाउनुपर्ने उनको सुझाव छ । ‘प्रदेशभरका अस्पतालले दुईसयभन्दा बढी संक्रमितलाई सेवा दिन सक्ने अवस्था छैन, पूर्वाधार भए पनि जनशक्ति अभावमा प्रयोगविहीन छन्’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेल भन्छन्, ‘पूर्वाधारको उचित प्रयोग र जनशक्ति व्यवस्थापन नभए अवस्था नियन्त्रण बाहिर जान्छ ।’

जटिल प्रकृतिका संक्रमितको उपचारका लागि अस्पतालहरुको तत्काल स्तरोन्नती गर्नुपर्ने उनको सुझाव छ । ‘अहिले अस्पतालहरु आइसोलेसन छन्, जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट छैनन्’ डाक्टर पौडेलले भने, ‘जिल्लामा दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चालन नभए अक्सिजन अभावकै कारण संक्रमितको ज्यान गुमाउनुपर्ने अवस्था आउँछ ।’

अक्सिजन विना जटिल प्रकृतिका संक्रमितको उपचार सम्भव नहुने बताउँदै उनले जिल्ला अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर र एचडीयू सेवा थप गर्नुपर्ने बताउँछन् । ‘अहिलेको जनशक्तिले दुईसय हाराहारीका संक्रमित उपचार गर्न सम्भव छ’ उनी भन्छन्, ‘आधा जनशक्ति संक्रमित हुन वित्तिकै सेवा कटौती गर्नुपर्ने हुन्छ ।’

बैशाख मसान्तसम्म निषेधाज्ञा आजबाट थप कढाइ गरिने

सुर्खेतमा बैशाख मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर नघटेपछि निषेधाज्ञा बैशाख मसान्तसम्म थप गरिएको सुर्खेतका प्रमुख जिल्लाअधिकारी छलिलाल रिजालले जनाए ।

‘संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा थप्नुको विकल्प भएन’ रिजालले भने, ‘बैशाख मसान्तसम्म निषेधाज्ञा थपिएको छ, अब निषेधाज्ञामा कडाइ गरिन्छ ।’ वीरेन्द्रनगरमा संक्रमण दर उच्च भएपछि आजदेखि निषेधाज्ञामा थप कडाइ गर्ने प्रशासनको तयारी छ ।

निषेधाज्ञाको सयमा विकास आयोजनामा कार्यरत मजदुरलाई पनि आउजाउमा कडाइ गरिने छ । मजदुरबाट पनि संक्रमण फैलिने खत्तरा रहेको भन्दै उनले निषेधाज्ञामा सञ्चालन भएका विकास आयोजनामा कार्यरत मजदुरलाई सम्बन्धित आयोजनाले निर्माणस्थलमा बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

निषेधाज्ञाको उलंघन गरेको खण्डमा एक महिना कैद र एकसय रुपैयाँ जरिवाना वा दुबै सजाय दिइने छ । त्यस्तै निषेधाज्ञा कार्यान्वयनमा बाधा पु¥याउनेलाई भने ६ महिना कैद र ६ सय रुपैयाँ वा दुबै जरिवाना गरिने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया