फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधी दिने

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलर (करिब ८ अर्ब ४० करोड) डलर बराबरको औषधी पठाउने भएको छ। सो औषधी भारतलाई निःशुल्क उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ।
कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई मानवीय सहायतास्वरूप अत्यावश्यक औषधी पठाउन लागिएको जानकारी दिएका छन्। कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो आकारको मानवीय राहत प्रयास भएको पनि उनले बताएका छन्।
भारतका सरकारी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूले आउँदो ९० दिनसम्म निःशुल्क औषधी प्राप्त गरुन् भन्ने उद्धेश्य रहेको फाइजरले जनाएको छ। यसो गर्न सक्दा भारतका हजारौं संक्रमितको ज्यान जोगिने बोर्लाले बताएका छन्।
फाइजरले भारततर्फ दुखाइ कम गर्ने, रगत जम्न नदिने र ब्याक्टेरियाविरुद्ध लड्ने एन्टीबायोटिक औषधी पठाउन लागेको हो। यो औषधी वितरण गर्न भारतको सरकारी कम्पनी र आफ्ना एनजीओहरूले संयुक्त रुपमा काम गर्नुपर्ने अमेरिकाको शर्त छ।






