पाटन उक्लिँदै भेडाका बथान

कालिकोट, १६ असार ।
जिल्लाको ग्रामिण समुदायमा भेडा पालक किसानले भेडाका बथान पाटन क्षेत्रमा सार्न थालेका छन् । बर्षेनि भेडापालक किसान यस सिजनमा भेडाका बथानलाई पाटन क्षेत्रमा चरनका लागि लैजाने गर्छन् ।

बर्षेनि जाडोयाम सुरु भएपछि अउलतिर र गर्मी याम सुरु भएपछि लेकतिर भेडा सार्ने गरिन्छ । बैशाख महिनाबाट लेकतिर उकालिएका भेडाका बथान असारमा पाटन क्षेत्रमा पु¥याउने गरिएको जिल्लाको नरहरीनाथ गाउँपालिका ४ रुप्साका दल सिकालले बताए । उनले भने, ‘अहिले भेंडीगोठ पाटनतिर सारेको छौँ ।
वैशाखबाट पाटनतिर लिन थालिएका भेडाका बथान ठाउँठाउँमा बसाल्दै चरिचरन गर्दै असारमा मात्र त्रिवेणी पाटनमा पुगाएका हौँ ।’ उनले भने, ‘हरीयाली पाटनमा भेडाका लागि चरिचरन राम्रो हुने भएकाले गाउँका सबै भेडापालक किसानले भेडाका बथान पाटनतिर उकालेका हुन् । गर्मी छल्न पाटन उक्लेका भेडा चार महिनापछि फेरी जोडो छल्न गाउँतिर झारिन्छन् ।’
हरेक वर्षको चैतदेखी गाउँबाट नहरीनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकाको लेकाली क्षेत्र थ्याप्च्या, बल्ला काँधहुँदै त्रिवेणी पाटनमा भेडाका बथानसँगै ठाँउठाँउमा रोक्दै लिने गरिन्छ । साउनमा हुने बढीमालिकाको पूजासहित जात्राको रमाइलो हेर्नका लागि पनि यहाँका अधिकांश भेडापालक किसान असारमा नै पाटनमा भेडाका बथान पुगाएर बसोबासको बन्दोबस्तो गर्ने गर्छन् । परापूर्वकालदेखि भेडापालन गर्दै आएका सिकालका ७० वटा भेडा छन् ।
गर्मी समय पाटनतिर चिसो समय औलतिर भेडाको बथान डुलाएर जीवन चलाउँदै आएका छन् । यस्तै नरहरीनाथ गाउँपालिका ५ का चम्फ सहकारीले पनि भेडाको बथान पाटन उकालेका छन् । उनका पनि ५० भेडा छन् । त्रिवेणीको पाटनमा पाल हालेर बस्ने व्यवस्था मिलाएका छन् । उनी भन्छन्, ‘पाटनमा पुगेपछि भेडासँगै दिन बितेको पत्तै हुँदैन ।
हामीलाई गाउँमा बस्न मन लाग्दैन । भेडासँग पाटनमै रमाउँछौँ । भेडाका बथानसँग त्रिवेणी पाटनको जाडो, निरन्तरको झरी, असिना पानी, चट्याङ केही पनि डर लाग्दैन् ।






