एक शैक्षिक सत्र खेर जादैमा केहि फरक पर्दैन कि ?

थिर बहादुर थापा/प्रिन्सिपल
सैनिक आवासीय महाविद्यालय, सुर्खेत
समयको यो खास परिस्थितिमा लामो अवधि विद्यालय जाने केटाकेटी लाइ घरमै झेल्नु पर्दा अधिकतर अभिभावक दिक्क हुनु स्वभाबिकै हो। “विद्यालय कहिले खुल्ने होला सर ? वाक्क लागिसक्यो” भनि सोध्ने र ” विद्यालय खोलेपनि यो खतरनाक मौसममा केटाकेटी त पठाउन सकिन्न सर” भनि तर्सिने अभिभावक को संख्या लगभग बराबरै देखिन्छ ।
असल शिक्षा के हो ? भन्ने भेउ पाउन नसकेका हाम्रा आम अभिभावक, पाठ्यबस्तुमा आफै स्पस्ट नभइ पढाइदिने चेस्टा भयका शिक्षक , “बच्चाको भाग्य र भविष्यको ठेक्का हामी लिन्छौ” भनि च्याखे थापि बसेका बैस्यपन्थि विद्यालय र गुणस्तरीय शिक्षाको अबधारणा र अभ्यास ‘अन्यत्र यहि र यस्तै छ यहाँ पनि त्यही हुनु पर्छ’ भन्दै आफ्नो खोपडी नचलाई अरुको गिदि बाट निति, नियम र पाठ्यक्रम बनाउने शासक, प्रशासक र बिज्ञ भएको मुलुकमा हुने पनि यहि हो । भ्रम, अन्योल र अनिर्णय अनि अन्तत: दुस्परिणाम !
महामारि भनिएको चिज बास्तबिक जस्तै छ, भने पाठ्सालेहरु घरमै थन्किनु बाध्यता जस्तै। यो बिचमा देखा पर्न आटेको शैक्षिक सत्र खेर जान सक्ने आसन्न अवस्था प्रति को-कति जिम्मेवार भइ लागि परेको छ होला ? सरकार लाइ त अपुर्व अमनचैन प्राप्ति भए जस्तै प्रतित हुन्छ । काम गरि हाल्ने परिस्थिति छैन भन्यो । ढुक्क भैगो । सरकारि दाना खाने विद्यालय र तिनक शिक्षकलाइ दाना-पानी दुबै मिलेकै छ ! अर्को ढुक्क ! अब रहे वैश्य वृति अपनाएका विद्यालय । तिनको कोकोहोलो रोचक छ ! बाल बालिकाको पढ्ने अधिकार प्रति ति अभुतपुर्व रुपमा भाबुक भएर बौलाउन मात्र बाकी छ । हाम्रो आफ्नै बिशिस्ट अवस्थामा यो प्रतिकुलता लाइ चिर्दै अगाडी बढ्ने बारे के कस्ता सरकारी र सामाजिक रणनीति तय गर्नु पर्थ्यो तर स्थिति के रह्यो र हुदैछ ? भन्ने सवाल लाइ पुरै नजरन्दाज गर्दै यो गन्थन लाइ शीर्षकमा केन्द्रित गरौ होला ।
एउटा शैक्षिक सत्र खेर जादैमा एउटा विद्यार्थी जिन्दगीमा के कति घाटा बेहोर्नु पर्छ होला ? यो प्रश्नलाइ हाम्रो सन्दर्भमा शिक्षाको राष्ट्रिय यथार्थसंग जोडेर प्रगेल्न उपयुक्त होला । बालबालिकाको स्वास्थ्य सुरक्षा प्रतिको संबेदनसिलता बारे अन्नेथा अर्थ नलागोस । बालबालिकाको स्वस्थ को मुल्यमा कुनै सम्झौता हुन सक्दैन । केहि अपबादजन्य दृस्टान्तलाइ सामान्यीकरण गरि नबुझ्ने हो भने ( अपबाद को शिद्धान्त अब उप्रान्त उठने बिबिध सन्दर्भहरुमा समेत बरोबर लागु हुने गरि) हाम्रो शिक्षा ब्यबस्ता आज पर्यन्त निरन्तर चलेकै हो र यसले गरेको शैक्षिक उत्पादनको गुणस्तरीयता पनि देखिएकै हो । आजसम्म हाम्रा विद्यालय/विश्वविद्यालयले उत्पादन गरेको मान्छे बेकार छ बस्तुत: विद्यालय/विश्वविद्यालयले भिडाईदिएका एक एक थान मार्क सिट र सत्चरित्रताको प्रमाणपत्रका आधारमा सरकारी, गैर सरकारी जागिर पाई गरि खाने मेलो मिलाएका केहि भग्यमानिहरुनै सबैभन्दा बाढी शोसक ,परपीडक र भ्रष्ट छन । कतिपय पढेलेखेका अभागीहरु जेल सजाय भोग्दैछ्न । बाँकि असंख्य प्रमाणपत्र धारी मनुवाहरु की बेरोजगार, बिरक्त, असामाजिक, एकलकाटे, अन्योलग्रस्त वा अन्नेमनस्क स्थितिमा छन् कि आत्मकेन्द्रित, स्वार्थ, अहंकारी, सामन्ती सोचयुक्त र चाकडीबाज छन् । त्यहि बिशाल बृतभित्र ठुलै संख्यामा नौटङकिबाज, नक्कली, हुल्याहा र अपराधी समेत ठुलो मात्रा मा छन भने एउटा अन्तहिन मानव लर्को पलायनमुखी, परनिर्भर, चरम सुबिधाभोगि र कृतघ्न छ र परिस्थिति सहज हुनासाथ कहिल्यै नफर्किने गरि परदेश भासिने मनस्थितिमा भिसा जाप गरि बसेको छ। यसरी मुलत: प्रतिउत्पादक जिनिस सिबाय अरु केहि दिन नसकेको हाम्रो विद्यालय/विश्वविद्यालयको एक शैक्षिक सत्र खेर जाँदा आकासै खसि हाल्ला त ?
सर्बेक्षणले भन्छ कक्षा १ मा भर्ना हुने सबै बाल बालिका मध्य करिब ७०% ले मात्र माध्यामिक शिक्षा उतिर्ण परिक्षा दिन्छन । करिब ३०% बाल बालिका बिध्यालय शिक्षाको बिचमै नियतिका अनगिन्ति परिबन्दहरुले खेर जान्छन । हराउछन । माध्यामिक शिक्षा परिक्षा दिने मध्य करिब ५०% ले उतिर्ण गर्छन (अहिले सबैलाइ शतप्रतिसत नै उतिर्ण मान्नु पर्ने काकतालि सुझाइएको भए पनि) अनि बाकि ५०% को कुनै न कुनै रुपमा खेर जाने दुर्भाग्य आईलाग्छ र ति सम्भबत: भारत वा खाडितिर जल्दो जाग्दो उमेरको श्रमदान गर्न भासिन्छन् । माध्यामिक परिक्षा पार लगाउने मध्यका आधाउधि भन्दा बढीले बाबु आमा को गिदि गरेर सहर-बजारका महङा सस्ता कलेज पढि टोपल्छन् । हजारौको संख्यामा यहि बिचमा पनि खेर जान्छन् पारिवारिक, सामाजिक र आर्थिक आदि कारणले । कलेज पास गरी टोपल्ने मध्यका प्राय: सबै बिहान संकटा मन्दिरको ७ चोटी प्रदक्षिणा गरी न्युरोडमा डिभी भर्नेहरूको लामो लाइनमा बस्छन् त्यसबाट पार नलाग्ने खास खास बर्गका जिनिसहरु सहर्ष पारिवारिक समन्वयमा लगभग नफर्किने र बेला बेला बा-आमा उतै बोलाइ बिदेशाटन गराउने गरि अमेरिका युरोप तिर जाने बोइङ चद्छन् । बाकि मध्यका आधाउधि कोरियन , जापानी र हिब्रु भाषा पाठशाला भर्ना हुन्छन् आफ्नो भाषाले जीवन ठेगान नलाउने देखेर । कलेज उत्तीर्ण मध्यका लगभग १ चतुर्थाङस विद्यार्थी विश्वविद्यालय पढ्ने जमर्को उठाउछन् । यहि बिचमा माथिका कुनै पनि बिशेष अवसर नपाउने बचेखुचेकाहरु विषय जे पढेको भएपनि फेरि बाबु बाजेकै पेसा कृषि, बन्द ब्यापार आदि वा जालसाचि, राजनिति, ठेकादारि, गुन्डागिरी, चाकरी, दलालि जस्ता भटाभटा प्रगति हुने मेसो तिर लाग्छन् ।
विश्वविद्यालय तिर खुट्टा उठाएका मनुवाहरु अनेकौ बर्ष कतै निजि विद्यालय पढाएर त कतै होम ट्युसन पढाएर कडा परिश्रमका साथ दिक्षान्त समारोह सम्म सरिक हुन भ्याउँछन र फेरी vishwa विश्वविद्यालयले भिडाईदिएको एक थान प्रमाणपत्र सगौरब बोकेर रुमानि अभिमानका साथ बजारमा निस्किन्छन र स्वाभिमानसहितको देशभक्तिपुर्ण सम्मानजनक कर्म थलो माग गर्न थाल्छन् । जब सम्पुर्ण बजार माफिया, दलाल, बिचौलिया, डन, बेइमान ठेकादार र ब्यापारि, भ्रस्ट नेता र तिनको नाताबाद अनि कुशासनले कब्जा गरेको देख्छन् र आफ्नो ज्ञान, सिप र क्षमता ले केहि ननाप्ने निस्कर्स मा पुग्छन् । अनि बाकि रहन्छन् जम्मा जम्मि ३ वटा बिकल्प: कि आज पर्यन्त कमायको शैक्षिक प्रमाणपत्र सहितको स्वाभिमान र आत्मविस्वसलाई प्रमाणपत्र संगै बाकसको भित्रि चेपमा थन्काएर कसैको कृपामा पाएको स्वत्वहिन नौकरि गर्ने, कि NGO आदि दर्ता गरेर नया कलेबरको ठगि अखडाको सुरुवात गर्ने वा पछुताउदै परदेशको भिसा आबेदन गरि “उच्च शिक्षाका लागि जान लाको” भन्दै ङिच्च गर्दै बस्ने ।
यसरी प्राथमिक कक्षादेखि बिस्वबिध्यालय स्तरसम्मको शैक्षिक यात्राको दौरान बिभिन्न बर्षमा र बिभिन्न तहमा कुनै न कुनै प्रकारको प्रतिकुलताका कारण कुनै न कुनै किसिमले खेर जाने लाखौँ विद्यार्थी भएको देश र शिक्षाको उच्चतम स्तर प्राप्त गरेको बर्ग समेत निरुपाय, निरिह एवम् स्वत्वहिन जीवन बाच्न अभिसप्त हुने यो देशमा बालबालिकाको स्वास्थ्य मा सम्झौता गर्दै “लौन पढाई बर्बादै भयो” भन्ने रोइलो मच्चाउनुको के अर्थ होला ? बरु आफुसंगै भएका बालबालिकाहरूलाई सुरक्षित गर्दै जीवन मूल्य मानवोचित व्यवहार र सिर्जनाका व्यापक आयामहरू संग परिचित गराउदै घर नै एउटा बच्चाको महान पाठसाला हो र बाबुआमा नै निजका महान गुरु हुन् भन्ने सत्यलाई अंगाली अझै केहि समय घरमै बस्ने की ?





