नेकपाको आधिकारिक पार्टी हुने रिजालको दावी
सुर्खेत, १३ पुस ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले सबै कमिटीमा बहुमत रहेकाले आफूहरु नै आधिकारिक पार्टी हुने दावी गरेका छन् ।
उनले अहिले चुनावी हल्लाको पछि लाग्न आवश्यक नभएको बताए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सोमवार विहान पत्रकार सम्मेलन गरी रिजालले प्रधानमन्त्रीले गरेको प्रतिगमनको कडा प्रतिवाद गर्ने बताएका छन् ।
रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको आरोप समेत लगाए । संसदमा प्रयाप्त बहुमत हुँदा हुँदै पनि एकलौटी रुपमा संसद विघटन गरेर प्रतिगमनतर्फ गएको उनको आरोप थियो ।
चिनियाँ टोली नेपाल आएको प्रसंगबारे उठेको प्रश्न दिँदै उनले चिनियाँ मित्रहरुले नेकपा एकीकृत रहोस भन्ने चाहेको बताए । यसलाई चीनले नेपालको राजनीतिमा खेलेको भन्दा पनि सद्भावका रुपमा लिनुपर्ने उनले बताए ।
रिजालले भने– ‘दक्षिणतिरबाट यो बीचमा लगातार आएका छन् । केहि देखिने र केहि नदेखिने भ्रमणहरु भारतबाट भएका छन् । कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? जुन संसदले नेपालको भूमि माथिको अधिकार स्थापित गर्यो र जसलाई यो संसद मन परेको थिएन कतै तिनीहरुकै कारण त यस्तो भएको होइन ?’
अर्का केन्द्रीय सदस्य निरज आचार्यले आधिकारिक पार्टी प्रचण्ड–माधव नेपालकै हुने भन्दै अब अब केपी ओलीको चुनाव चिन्ह बयलगाडा र पार्टी कार्यालय बालकोट हुने भन्दै व्यंग्य गरे । उनले सूर्य र नेकपाका कार्यालयमा आफूहरुको दावी रहने बताए । मंगलवार हुने आन्दोलनको तयारीका लागि नेताहरु सुर्खेत पुगेका हुन् । रिजाल र आचार्य दुवैजना माधव नेपाल निकट हुन् ।