सम्पादकीयः वीरेन्द्रनगरको मुहार बदल्ने अवसर
वीरेन्द्रनगर कर्णालीको राजधानी । प्रशासनिक र राजनीतिक केन्द्र बन्ने अवसर पाएको सहर । कुनैबेला औलो लाग्ने भन्दै मानिसहरु वीरेन्द्रनगरमा बस्न नै डराउँथे । तर विस्तार औलो उन्मुलन नै भयो । त्यसपछि वीरेन्द्रनगरमा मानव बस्नी पनि बाक्लो बन्दै गयो । हावापानी र भौगोलिक रुपमा उपयुक्त उपत्यका भएका कारण पनि वीरेन्द्रनगरलाई प्रशासनिक केन्द्र बनाउन तत्कालिन शासकहरु तयार भए । त्यही भएर यसअघि तत्कालिन मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम बन्यो । देशमा राजनीतिक परिवर्तन र शासन प्रणालीमा भएको परिवर्तन सँगै यतिबेला वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेको छ । एक हिसावले भाग्यमानी सहरका रुपमा वीरेन्द्रनगरलाई लिन सकिन्छ । प्रशासनिक र राजनीतिक केन्द्र बने पनि वीरेन्द्रनगरको भौतिक विकास भने सुरुवाती चरणमा छ । अर्थात यहाँको भौतिक विकास र अन्य पूर्वाधारको अवस्था कमजोर नै छ । तर पछिल्लो समय प्रदेश सरकार गठन भएपछि र राजधानी तोकिएपछि यहाँको विकासले गति लिने अपेक्षा गर्न थालिएको हो ।
राजधानी भनेपछि भौतिक विकास र सुविधाहरु उपलब्ध हुने अपेक्षा राख्नु स्वभाविक नै हो । नागरिकको अपेक्षा अनुसार यो अवधिमा वीरेन्द्रनगरको विकास र योजनाहरु त बनेनन् । तर अब भने प्रदेश सरकारले राजधानी सहरको विकासका लागि संकल्प भने गरेको छ । वीरेन्द्रनगर नगरपालिकासँग मिलेर प्रदेश सरकारले यहाँको गुरुयोजना अनुसार भौतिक विकास गर्नेगरी केही आयोजनाहरु संचालन गर्न थालेको छ । मुख्यगरी नगरभित्रका सडकहरु कालोपत्रे गर्ने र विस्तार गर्ने, उपत्यकामा रहेको खानेपानी समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने, चक्रपथलाई चाँडै सम्पन्न गर्ने, पर्यटकीय स्थलसम्म पुग्ने सडकको सुधार गर्ने, सोलार जडान गरेर सहरलाई उज्यालो बनाउने र सुरक्षित सहर निर्माणका लागि सीसी क्यामेरा जडान गर्ने लगायतका योजना र कार्यक्रम प्रदेश सरकारले अगाडि सारेको छ । वास्तवमा यो वीरेन्द्रनगरको भौतिक विकास र समृद्धिका लागि एउटा अवसर नै हो । यो अवसरलाई स्थानीय सरकार अर्थात वीरेन्द्रनगर नगरपालिकाले पनि कार्यान्वयनमा साथ दिन आवश्यक छ ।
वीरेन्द्रनगर नगरपालिका मात्र होइन, यो त अब एउटा प्रदेशको राजधानी सहर हो । राजधानीमा उपलब्ध हुने भौतिक सुविधा र सामाजिक तथा सांस्कृतिक विकासले समग्र प्रदेशको नै प्रतिनिधित्व गर्दछ । कर्णाली प्रदेश विगतदेखि नै भौतिक विकासमा पछाडि छ । यहाँको सामाजिक तथा शैक्षिक विकासको अवस्था पनि कमजोर नै छ । यस्तो अवस्थामा यहाँ बजेट अभाव र गरिबी मुख्य समस्या हो । एकैपटक प्रदेशको भौतिक विकास गर्न बजेटको अभावमा सम्भव नहुन सक्छ । यसकारण बजेट अभाव हुने र खर्च पनि नहुने हालको समस्या समाधान गर्न पनि प्रदेश सरकारले बजेटलाई राजधानीको पूर्वाधार विकासमा लगानी गर्न सकेमा उपलब्धि हात लाग्न सक्छ । प्रशासनिक र राजनीतिक केन्द्र बन्ने अवसर बारम्बार पाएर पनि सोही अनुसार भौतिक पूर्वाधारको विकास हुन नसकेको वीरेन्द्रनगरको विकासका लागि योपटक ठूलो अवसर आएको छ । अब खाँचो यहाँको एकीकृत विकास र गुरुयोजना अनुसारको भौतिक विकास नै हो ।