कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा ‘ख्रीष्टमस’ को शुभकामना

सुर्खेत, १० पुस ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ईसाई धर्मावलम्बीहरुको महान् पर्व ‘ख्रीष्टमस’ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, “ईसाई धर्मालम्बीहरुको पर्व ‘ख्रीष्टमस’ले आम नेपाली दाजुभाइ, दिदीबहिनीमा आपसी सद्भाव, स्नेह, धार्मिक सहिष्णुता र भातृत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकता, शान्ति र विकास निर्माणका लागि समेत योगदान दिने विश्वास लिएको छु ।”

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतासहितको विविधतायुक्त देशभित्र मानिदै आएका विभिन्न धर्म, संस्कृति एवं पर्वहरुले नेपाली समाजलाई अँझ बढी मौलिक र सम्पन्न बनाएको उल्लेख गर्दै उहाँले कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै भौतिक दूरी कायम गरेर तीनै तहका सरकारले निर्देशन गरेका स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डहरुलाई पालना गरी सावधानीका साथ ख्रीष्टमस’ पर्व मनाउन हार्दिक आग्रह गरेका छन् ।

त्यसैगरी, कर्णाली प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को सोच साकार पार्न सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, संघ संस्था, निजी क्षेत्र, पत्रकार सञ्चारकर्मीलगायत समग्र कर्णालीवासीलाई ‘ख्रीष्टमस’ले प्रेरित गर्ने विश्वास लिएको मुख्यमन्त्री शाहीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *