स्थायी जागिर नै छोडेर पढ्न गएँ

पीताम्बर ढकाल/शिक्षाविद्

संघर्षको लामो समय शैक्षिक सेवामै बिताएका पीताम्बर ढकाल अहिले समाज सेवामा सक्रिय छन् । शिक्षण पेशामा अनुभव बटुलेका उनी समाज सेवाभन्दा ठुलो धर्म अरु केही ठान्दैनन् । शैक्षिक सेवामा योगदान पु¥याउने रहर पुरा भए पनि समाज सेवाप्रतिको भावना बढ्दै गएको छ । राजनीतिमा खासै रुची नभएका उनलाई राजनीतिक अवसर पनि नआएका होइनन् । तर उनले जीवनमा राजनीति गर्ने र लोकसेवामा परीक्षा दिने चेष्टा नै गरेनन् । रोग, भोक र गरिबीलाई जित्दै जीवन संघर्ष गर्नेक्रममा उनले भोगका जीवनका भोगाइ र अनुवभबारे आजको जम्काभेटमा हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सारांश उनकै शब्दमा :-

यस्तो थियो बाल्यकाल
मेरो जन्म २०११ साल बैशाख ३० गते भएको हो । म सुर्खेतको सिम्तामा जन्मेको हुँ । तर म एक वर्षको हुदाँ बुवाहरु बस्ती सरेर लेकफर्सा आएकाले स्थायी ठेगानामा लेकफर्सा नै लेखियो । लेकफर्सामै बसेँ । त्यही पढेर हुर्किएँ । त्योबेला औलो रोगले खुबै सताएको थियो । पछि औलो उन्मुलन पनि भयो । हाम्रो बसाइँ पनि समय अनुसार परिवर्तन हुन्थ्यो । हाम्रा तीन वटा सानासाना घर थिए । खेतीपातीका लागि लेकफर्साको फाँटमा, अन्नबाली जम्मा गर्नका लागि खर्कमा र लेकमा गरी तीन वटा घर थिए । हामी समय र मौसम अनुसार बसाइँ सथ्र्यौ । जहाँ जहाँ गयो, उतैका स्कुलमा पढ्थेँ । त्यसले गर्दा पढाइ मा असहज हुन्थ्यो । तर पनि घरको काम गर्दै पढ्न छोडिन ।

घरमा तीन दिनमा तीन जनाको मृत्यु
म आठ वर्षको हुदाँको घटना हो । म आफै पनि विरामी भएर बेहोस् थिए । मेरो घरका सबै परिवार एक्कासी विरामी भएर थला परे । मेरो घरबाट लगातर तीन दिनसम्म तीन वटा लास निस्किए छन् ।  पहिलो दिन भाईको लास, दोस्रो दिन बहिनीको लास र तेस्रोदिन आमाको लास घरबाट निस्कियो । म बेहोस् भएकाले आठ दिनपछि मात्रै मेरो आमा वितेको थाहा पाएँ । अहिलेको जस्तो सहज यातायात, टेलिफोन र स्वास्थ्य संस्थाको सुविधा थिएन । गाउँमा रोगको उपचारभन्दा झारफुक गर्न थालेछन् । त्यो घटना सम्झदा अहिले पनि मन भक्कानिन्छ ।

पढ्नलाई संघर्ष
गाउँकै स्कुलमा कक्षा ५ पास गरेँ । कोखानन्द माविबाट एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि म नेपालगंज गएँ । त्योबेला सुर्खेतमा ठुला कलेजहरु थिएनन् । तर नेपालगंजमा गर्मीले बस्न नसकिने जस्तो लागेपछि बुवासँग सल्लाह गरेर त्रिभुवन कलेज पाल्पामा पुगेर भर्ना भएँ । कसैले के कति पढ्ने हो ? भनेर सोध्यो भन्यो भनेपनि म आइएड पढ्ने हो भन्थेँ । त्यो बेलाको चलनमा आइएड नै ठुलो जस्तो लाग्थ्यो । मैले त्रिभुवन कलेज पाल्पाबाटै आइएड पास गरँे । पाल्पामा आइएड सकिएपछि पञ्चायतको नीति मान्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा भर्ना भएर वीए पास गरेँ । त्यसपछि त्रिभुवन विश्व विद्यालय कीर्तिपुरमा भर्ना भएर राजनीतिक शास्त्रबाट एमए पास गरँे । घरको आर्थिक अवस्था पनि कमजोर थियो । बुवाले कृषि पेशाबाटै कमाएको पैंसाले मलाइ पढाउनुभयो । म पाल्पामा पढ्दा पाँच रुपैयाँमा मासिक कोठा भाडा र पाँच रुपैयाँमा पानी ल्याएर खाना पकाउने मान्छे भेटिन्थ्ये । होटलमा खाँदा मासिक ७० रुपैंया जति लाग्थ्यो ।

पछि एक चरणको पढाइ सकेर म रोजगारी खोज्ने अवस्थामा थिएँ । २०३६ सालको कुरा हो । पहिलो पटक गाउँमा प्राथमिक विद्यालयमा पढाउने अवसर पाएँ । मेरो मासिक तलब ९५ रुपैया मात्रै थियो । त्योबेला मासिक त्यही ९५ रुपैंया पनि खर्च हुदैन थियो । त्यसपछि दशरथपुरको जीवनज्योति माविमा मासिक एकसय ५० रुपैयामा काम गरँे । त्यो बेला वीए पास भएको थियो । घरमा बुवा विरामी भएपछि एमए पढ्न जान पाइँन ।  बुवालाई छोड्न नमिल्ने भएपछि मैले आनन्द माविमा अस्थायी शिक्षकमा काम गरँे । यो बेला जिल्ला शिक्षा समितिले स्थायीको लागि सूचना खोलेको थियो । अहिलेको जस्तो प्रतिस्पर्धाको जमाना थिएन । एउटा फारम भरेपछि स्थायी भईन्थ्यो । म ०३६ सालमै स्थायी शिक्षक पनि भए । तर मलाई काम गर्न मन लागेन । अँझ धेरै पढ्नुपर्छ भन्ने सोच आयो । बुवासँग सल्लाह गरेर मावि शिक्षकको स्थायी जागिर छोडेर मास्टर डिग्री पढ्न गएँ ।

अध्यापनको यात्रा
त्रिभुवन विश्वविद्यालयबाट म प्रथम श्रेणीमा एमए पास भइसकेपछि २०३७ साल फागुन महिना जागिरको शिलसिलामा डोटी क्याम्पसमा पुगेँ । त्यहाँ सहायक प्राध्यापक पदमा दुईवर्ष काम गरँे । त्योबेला सातसय २५ रुपैंया तलब थियो । पछि सुर्खेतमा पनि क्याम्पस खोल्नुपर्छ भन्ने अभियान सुरु भयो । मलाइ पनि बाहिर गएर काम गर्नुभन्दा आफ्नै जिल्लामा सेवा गर्नुपर्छ भन्ने सोच आयो । मैले डोटीबाटै स्वर्गीय मामा तुलशीप्रसाद शर्मालाई क्याम्पस खोल्ने बिषयमा चिठि लेखेर पठएँ । उहाँ तत्कालिन जिल्ला पञ्चयातको सभापती हुनुहुन्थ्यो ।

उहाँले सबै बुद्धिजीवी, समाजसेवी लगायत सरोकारवालासँग छलफल गरेर वीरेन्द्रनगर बहुमुखी क्याम्पस स्थापना गर्नुभयो । त्यसपछि २०३८ सालमा मैले पनि डोटी छोडेर वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आएँ । यहाँ अध्यापन गराउँदा गराउँदै मैले वीएल प्राईभेटबाट पास गरँे । यसरी जागिरको शिलसिलामा क्याम्पस अध्यापन पेशामा मात्रै १४ वर्ष काम गरेको छु । शिक्षा क्याम्पसमा ६ वर्ष र बाँकी समय वीरेन्द्रनगर बहुमुखी क्याम्पसमै काम गरियो ।

अबको बाटो
अहिले जागिरबाट अवकाशको जिन्दगी बिताइरहेको छु । आगामी दिनमा राजनीति गर्ने सोच छैन । सबैप्रति समान धारणा राख्नुपर्छ । आगामी दिनमा समाज सेवा गर्नेछु । किताब, आर्टिकल लेख्ने गरिरहेको छु । कसैले मेरो अनुभव लिन र मैले जाने बुझेका केही राय सल्लाह लिन आएमा सजिलै व्यक्त गर्छु । धेरैले मसँग आएर शैक्षिक क्षेत्रको बिषयमा सल्लाह पनि लिन्छन् । अहिलेको सन्दर्भमा जनरल एजुकेशन भन्दा प्राविधिक शिक्षा जरुरी छ ।

जनरल एजुकेशनको पनि आफ्नै ठाउँ छ । तर प्राविधिक शिक्षाले व्यक्तिलाई सरकारी जागिरै खानुपर्छ भन्ने छैन । आफै स्वरोजगारका कार्यक्रम सर्जना गरेर आत्मनिर्भर बन्न सक्छन् । आफु पनि छिटो बन्ने र देशलाई पनि छिटो बनाउने हो, भने प्राविधिक शिक्षा नै उपयुक्त छ । त्यसैले अब मेरो बाँकी जीवनमा यसअघिको अनुभव र ज्ञानका आधारमा समाज सेवासँगै शैक्षिक क्षेत्रको सुधारमा लाग्नेछु । आत्म सन्तुष्टी मिलेको छ । बाँकी महोत्वकांक्षी, लोभ र लालच छैन । सकेसम्म समाज सेवामै बाँकी जीवन बिताउने रहर छ । (२०७७ भदौं ५ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकको साताको जम्काभेट स्तम्भमा प्रकाशित)

स्थायी जागिर नै छोडेर पढ्न गएँ

पहिरोमा बेपत्ता बालकको शव फेला

स्थायी जागिर नै छोडेर पढ्न गएँ

YUGAAWHAN NATIONAL DAILY (2077-05-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *