सुर्खेत, ४ भदौं ।
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय वीरेन्द्रनगर आइतबार एक कार्यक्रमवीच उद्घाटन गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सेवाग्राहीको चाप बढेपछि एउटा शाखा थप गरिएको हो । यस अगाडी बाणिज्य बैंकको सुर्खेत शाखा जुम्लारोडबाट सञ्चालन हुँदै आएको छ ।
२४१ औं शाखाको रुपमा वीरेन्द्रनगर–६ वीरेन्द्र चोकबाट वीरेन्द्रनगर दोस्रो शाखा उद्घाटन गरिएको हो । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमवीच वीरेन्द्रनगर शाखाको उद्घाटन गर्नुभएको छ । उद्घाटनका अवसरमा बोल्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशमा सरकारी तथा निजी बैंक तथा वित्तिय संस्थाहरुको पहुँच बृद्धि भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो ‘सबै क्षेत्रमा पछाडी परेको कर्णाली प्रदेशको समग्र विकास र समृद्धिका लागि आर्थिक चलायमान हुन आवश्यक छ ।’ सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा थप प्रभावकारी बनाउन वीरेन्द्रनगरमा दुई वटा शाखा सञ्चालनमा ल्याएकोमा धन्यवाद व्यक्त गर्दै बाणिज्य बैंकको सेवा अन्य बैंकको तुलनामा उत्कृष्ट, प्रभावकारी र जनमैत्री हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रादेशिक प्रवन्धक राम कुमार थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा, नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख डा. शालिकराम पोख्रेलको विशेष आतिथ्यतामा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम सञ्चालन प्रादेशिक कार्यालयका सहायक नेम बहादुर शाहीले गर्नुभएको थियो । अन्य शाखा कार्यालय प्रवन्धकहरु लिलामराम ढुङ्गाना, हिक्मत बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । शाखा प्रवन्धकको रुपमा जय प्रकाश बराल रहनुभएको छ ।




