पाँच महिनादेखि बेपत्ता शिवरामको साथीबाटै हत्या

सुर्खेत, ४ साउन ।
पाँच महिनाअघि बेपत्ता भएका बराहताल गाउँपालिका–१ का शिवराम रानालाई उनकै साथीहरुले हत्या गरेको खुलेको छ । सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका रानालाई उनकै साथीहरुले हत्या गरेको खुलेको हो ।

छिमेकी यामबहादुर सम्सेली मगर र सूर्यबहादुर वलीसँगै निकुञ्जमा सिकार खेल्न गएका ३० वर्षीय शिवराम फागुन १० गतेदेखि बेपत्ता थिए । निकुञ्जमा सिकार खेल्न गएका तीन मध्ये मनरुपा रानाले श्रीमान बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । कोरोना संक्रमणका कारण भइरहेको लकडाउन ९बन्दाबन्दी० कै बीचमा शिवरामसँगै सिकार खेल्न गएका मध्येका यामबहादुर र सूर्यबहादुर घर फर्किएपछि शिवरामको हत्या भएको खुलेको हो ।
प्रहरी अनुसन्धानबाट सिकार खेल्ने क्रममा विवाद हुँदा यामबहादुर र सूर्यबहादुरले शिवरामको हत्या गरेर त्यहीँबाट उनीहरु भारत गएको खुलेको छ । भारतबाट घर फर्केका यामबहादुर र सूर्यबहादुरले मृतकका परिवारलाई सिकार खेल्नेक्रममा शिवरामलाई बाघले खाएको भन्दै पैसाको प्रलोभन देखाएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टका अनुसार अभियुक्तद्वयले बर्दिया राष्ट्रिय निकुञ्जको पाँडेखोलामा बाघले आक्रमण गरेको बयान दिएका थिए । एसपी भट्टले घटनास्थल पुगेर खानतलासी गर्दा बेपत्ता भनिएका शिजरामको हत्या भएको खुलेको जानकारी दिए ।
बर्दिया राष्ट्रिय निकुञ्जको समन्वयमा र प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा असार ३१ गते घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, मानव कंकाल, कपडा, झोला, गनपाउडर, खुकुरी, खाने थाल लगायतका सामाग्रीहरु बरामद गरेको थियो । घटनास्थलबाट संकलन गरिएका मानव कंकाल र कपडाको आधारमा बुवा हरिराम राना र श्रीमती मनरुपाले मृतक शिवराम नै भएको पुष्टि गरेको एसपी भट्टले बताए । उनले व्यक्ति बेपत्ता सम्वन्धी कसुरको ठाउँमा कर्तव्य ज्यान मुद्धामा जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको बताए ।
प्रहरीले शिवराज र सूर्यबहादुर विरुद्ध हातहतियार सम्वन्धी मुद्धा र बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी कसुरमा पनि मुद्धा चलाउने भएको छ ।






