जिशिअले पार्टीको सदस्यता मागेपछि…

निर्मला रेग्मी जिल्ला निर्वाचन कार्यालय सुर्खेतका जिल्ला निर्वाचन अधिकारी हुन् । २०३४ साल कार्तिक २७ गते लेकबेशी नगरपालिका–४ दशरथपुरमा उनको जन्म भएको हो । उनी बुवा यज्ञ र विमला रेग्मीकी दोस्रो सन्तान हुन । एनजीओ/आइएनजीओ, शिक्षक हुँदै निजामति सेवामा प्रवेश गरेकी रेग्मीले जीवनका भोगाइको अनुभवहरु यसरी साटिन् ।

ढोका थुनेर अध्ययन गर्थे
बुवा शिक्षक पेशामा हुनुहुन्छ । बुवाकै कारण छोरीले पनि पढ्नुपर्छ भन्ने मान्यता थियो । २०४० सालबाट गाउँकै जीवनज्योति माविमा औपचारिक शिक्षा सुरु गरेँ । ऊबेला जीवनज्योति विद्यालय शैक्षिक हव (केन्द्र का रुपमा चिनिन्थ्यो । तर छात्राको संख्या निकै न्यून थियो । एकसय ३०÷३२ जना विद्यार्थी मध्ये मुस्किलले २०/२५ जना केटी साथीहरु हुन्थ्यौँ । २०५० सालमा एसएलसी उत्तीर्ण भएपछि सुर्खेत क्याम्पस (शिक्षा) बाट उच्च शिक्षा अध्ययनको प्रारम्भ गरेँ ।

इन्टर, ब्याचलर हुँदै मास्टरसम्म सुर्खेत क्याम्पस शिक्षाबाटै पुरा गरँे । तर इन्टरपछि ब्याचलर र मास्टर आफँै पढाइ खर्च जुटाउँदै अध्ययन पुरा गरेँ । अध्ययनको शिलशिलामा अहिले पनि असफल हुनु परेको छैन । कानूनी ज्ञानका लागि एलएलसीसमेत अध्ययन गरेको छु । जागिर खाएपछि अध्ययन गर्ने फुर्सद नभएका कारण परीक्षाको समयमा ढोका थुनेर अध्ययन गर्थँे । शिक्षक हुँदा बाटोमा हिड्दा हिड्दै संविधान र कानूनका पानाहरु कन्ठ गर्थेँ । अध्ययनकै कारण जीवनमा असफलताको अनुभव गरेकी छैन ।

अछाममा माओवादी आक्रमण भएपछि एनजीओको जागिर छोडे
२०५४ सालमा इन्टरसकेपछि विहे गरे । विहेपछि पढाइ खर्च आफै जुटाउनुपर्ने अवस्था आयो । पढाई खर्च जुटाउन केही समय बोर्डिङ स्कूल पढाउँदै पढ्दै गर्न थाले । विज्ञापनहरु गर्न दैनिक पत्रपत्रिका पढ्थेँ । बोर्डिङ पढाउँदै गर्दा नगरपालिका अन्तर्गत काम गर्ने गरी यूएनडीपीको रुड कार्यक्रममा काम गरेँ । त्यहीबीचमा थप सेवा सुविधाका लागि यूकेको सेभ द चिल्ड्रेनमा काम गर्न अछाम पुगेँ । तर पढाइ रोकिन । उबेला कर्णाली राजामार्गबाट अछाम जाने बाटो खुलेको थिएन । कोहलपुर– अत्तरिया–डोटी हुँदै अछाम पुग्नु पथ्र्याे । सुर्खेतबाट अछाम जान दुई दिन लाग्थ्यो । बसमा करिव पाँचसय रुपैयाँ गाडी भाडा लाग्थ्यो । तर जहाजमा अछाम पुग्न सहज थियो ।

जहाजमा नेपालगञ्जदेखि अछाम पुग्न साढे सातसय भाडा लाग्थ्यो । जसले गर्दा प्रायः जहाजमै यात्रा गर्थे । संकटकालको समय भएका कारण गाउँगाउँ पुग्न समस्या थियो । डरत्रासकाबीच पढाई खर्च जुटाउन जागिर गर्नुको विकल्प थिएन । तर २०५८ साल फागुन ४ गते राति तत्कालीन माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा एकै पटक आक्रमण ग¥यो ।  साँफे र मंगलसेनका सबै संरचना ध्वस्त हुनेगरी ऐतिहासिक बजार खरानी भयो । अछाम र साँफेमा गरी कुल एकसय ४९ जनाले ज्यान गुमाए । संयोगले त्यो घटना हुनुभन्दा केही दिनअघि सुत्केरी बिदाका लागि सुर्खेत आइपुगेकी थिएँ । त्यो घटनापछि भने अछाम जाने आँट आएन । राजीनामा लेखेर एनजीओको जागिर छोडे ।

परीक्षा दिएको आठ वर्षपछि रिजल्ट आयो
अछाम आक्रमणपछि जागिर छोड्नु पर्ने बाध्यता आयो । त्यसबीचमा सुर्खेतमै केयर नेपालमा काम गरेँ । २०५२ सालमा शिक्षक सेवा आयोग खुलेको थियो । एकै साथ बालबच्चा हुर्काउने, जागिर गर्ने र अध्ययन पुरा गर्नुपर्ने बाध्यता थियो । तर पनि शिक्षक सेवा आयोगको परीक्षामा सहभागी भएँ । परीक्षा दिएको झण्डै आठ वर्षपछि अर्थात २०६० मा नतिजा आयो । के पास भईएला भनेर महिलामा लगाइन खुल्लामा मात्रै फर्म भरेकी थिएँ । एकसय २१ सिटमध्ये संयोगले मैले तीन नम्बरमा शिक्षक सेवा आयोगमा उत्तीर्ण भएँ ।

जिशिअले पार्टीको सदस्यता मागेपछि…..
लामो समय एनजीओमा काम गरेकी थिएँ । शिक्षकको चार महिनाको तलव र एनजीओको एक महिनाको तलव बराबरी हुन्थ्यो । तर पनि स्थायी भएका कारण प्राविको शिक्षक बन्न राजी भएँ । २०६० सालमा प्रावि तहको शिक्षक भएर नेराप्रावि साटाखानीमा अध्यापन गर्न पुगेँ । तर २०६२ सालमा स्वास्थ्य अवस्था प्रतिकुल भएन । डाक्टरले करिव दुई महिना आराम गर्न सल्लाह दिए । उपचारपछि गाउँ जाने अवस्था नभएपछि दुई महिना जिल्ला शिक्षा कार्यालयमै काज मागे । स्वास्थ्य अवस्था र अप्रेशनको विषय जिल्ला शिक्षा अधिकारीलाई सुनाएँ ।
तत्कालिन जिल्ला शिक्षा अधिकारीले तपाइँ कुन पार्टीको हो भनेर प्रश्न गरेँ । काजमा खटाउनका लागि संगठनको सिफारिस मागे । मैले कुनै संगठनको सदस्यता लिएकी छैन भने । जिशिअले कुनै पार्टी, शिक्षक संगठनको सदस्यता विना काम नगर्ने अडान लिए । कुनै पार्टीको सदस्यता नभएका कारण फलानोलाई शिक्षकबाट अवकास गरिएको भनेर पत्र मागे । तर पनि काम भएन । अनि निवेदन च्यातेर गेटमा आएको थिए । त्यही बेला एक जना शिक्षक संगठनको अध्यक्षले म तपाइँको काम गरिदिन्छु मेरो संगठनमा आउँ भने । त्यही दिनदेखि मैले लोकसेवा आयोगको तयारी थाले । स्कूल जाँदा आउँदा संविधानका धाराहरु कन्ठ गर्न थालेँ । त्यही घटनाबाट मेरो निजामतिको यात्रा सुरु भएको हो ।

घुस र होटलमा गएर दारुपानी नखानेभएपछि…
करिव साढे चार वर्ष शिक्षक सेवाको जागिरपछि २०६५ सालमा निजामति सेवामा प्रवेश गरँेँ । शिक्षा प्रास पदमा जिल्ला शिक्षा कार्यालयबाट निजामति सेवाको जागिर सुरु भयो । करिव ६ वर्ष सल्यानमा बस्दा विद्यालय प्रशासनको जिम्मेवारी पुरा गरेँ । विद्यालय प्रशासन भनेको जिल्ला शिक्षाको सबैभन्दा संवेदनशिल क्षेत्र पर्छ । त्यो पदमा बस्ने कर्मचारीलाई विभिन्न राजनीतिक दलका संघ/संगठनले विभिन्न बहानामा घुस खुवाउने, होटलमा लिएर खानपिन गर्ने र आफ्ना मान्छेहरुलाई सहज ठाउँमा काम गर्ने गराउने गर्दा रहेछन् । तर मैले राजनीतिक दलबाट पीडा भोगेको कारण रद्दि काम नगर्ने अडान लिएँ । राजनीतिक दल र शिक्षक संगठनलाई फाइल बोकेर नआउन सुझाव दिए । मेरो यस्तो व्यवहार देखेर मैले तेरो काम गर्दिए भनेर जस लिने मान्छेहरुलाई ठूलो समस्या भयो ।

त्यही कारण उहाँहरुले जिल्ला शिक्षा अधिकारीसँग मेरो फाँट परिवर्तन गरिदिन बारम्बार दवाव दिन्थे । तर नयाँ आउने जिसिअले पहिलेको जिसिअसँग कुन कर्मचारीलाई कुन जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर बुझेर आएका हुने रहेछन् । किनकी विद्यालय प्रशासन फाँट भनेकै जिल्ला शिक्षा कार्यालयको मुटु मानिन्थ्यो । त्यो फाँटमा बस्ने कर्मचारीले राम्रोसँग काम गर्न जानेन भने जिसिअ फस्ने हुनाले कुनै पनि जिसिअले मेरो फाँट फरिर्वत गर्न सकेनन् । बरु इमान्दार पूर्वक जिम्मेवारी पुरा गरेका कारण राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरँे ।

बुढापाकाको आर्शिवादले अधिकृत पास भएँ
सल्यानमा हुँदा मैले इमान्दार पूर्वक काम मात्रै गरिन । उमेर र कुन ठाउँबाट आएको हो भनेर काम गर्थेँ । जिल्लाको सिमाना (टाढा)बाट आएका व्यक्तिहरुको काम पहिले गर्थेँ । यही कारण सोझा र इमान्दार व्यक्तिको सहजै काम हुन्थ्यो । जसका कारण बुढापाका शिक्षकहरुले अहिले पनि सम्झनु हुन्छ । सायद उहाँहरुकै आर्शिवादले मैले अधिकृत पास गरे जस्तो लाग्छ । स्वअध्ययन गरेरै २०७० मा अधिकृत पदमा सफल भएँ । त्यसपछि करिव चार वर्षमा क्षेत्रिय हुलाकमा काम गरेँ । त्यही समय तालिमको लागि हुलाक सेवा विभागले थाइल्यान्ड पठायो । ट्याकिङ सिस्टम अर्थात हुलाकबाट पठाएको चिठ्ठी कुन ठाउँमा पुगेको छ भन्ने पत्ता लगाउने प्रविधिको तालिम लिने अवसर मिल्यो ।

अनि सांसदले धन्यवाद दिए…
कर्मचारी समायोजनापछि प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएँ । त्यहाँ प्रदेश प्रमुखको कार्यालय स्थापना गर्ने जिम्मेवारी थियो । त्यो बेला क्षेत्रीय वन तालिम केन्द्र र क्षेत्रीय वन कार्यालय चलिरहेकै अवस्थामा थिए । चार जना कर्मचारी थियौँ तर बस्ने कुर्चिसमेत थिएन ।
कार्यालयको अवस्था हेरेर आएका दुई जना उपसचिव पनि फर्किए । १५ दिनपछि अवकाश हुने सचिवलाई प्रदेश प्रमुखको कार्यालयमा खटायो । उहाँ पनि मलाई निमित्त दिएर घर जानुभयो । त्यतिबेलासम्म सभामुख, मुख्यमन्त्री र मन्त्रीको सपथ कार्यक्रम तयार पार्ने जिम्मेवारी मेरो काँधमा आइपुग्यो । त्यो समय सपथ ग्रहणको नीति नियम, नियमावली, यो, यो गर्नु भनेर कुनै खाकासमेत कसैले उपलब्ध गराएनन् ।

मभन्दा अगाडिको कर्मचारी नै नभएपछि युट्वमा भिडियो हेरेर सभामुख, मुख्यमन्त्री, मन्त्री र मुख्यन्यायाधिवत्तासम्मको सपथ ग्रहणको मोडालिटी तयार पारेँ । मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा स्वयम मुख्यमन्त्रीले कार्यक्रम बिग्रीन्छ क्यारे भन्ने सांसद धर्मराज रेग्मीलाई सुनाउनु भएको रहेछ । त्यतिबेला उहाँले ढुक्क हुनोस् रेग्मीको छोरी हो केही पनि मिस्टेक हुँदैन भन्नु भएको रहेछ । कतिपयलाई महिलाले कार्यक्रम सञ्चालन गर्न सक्दैन भन्ने लागेको रहेछ । कतिले बोल्दाबोल्दै बिगार्छे भन्ने ठानेका रहेछन् । तर कही गल्ती नभएर सानदार रुपमा मुख्यमन्त्रीको सपथ ग्रहण सकियो । त्यही दिनसाँझ तिमीलाई धन्यवाद । मेरो र रेग्मी परिवारको इज्जत बचायो भनेर सांसद धर्मराज रेग्मीको फोन आयो । मैले किन भनेर सोध्दा त मुख्यमन्त्रीसँग यस्तो कुरा गरेको थिएँ उहाँले सुनाउनु भयो । प्रदेश प्रमुखको कार्यालयपछि हाल जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा निर्वाचन अधिकृतको रुपमा कार्यरत छु । आजसम्म जीवनमा पछुताउनु परेको छैन । तर निजामति सेवामा प्रवशे गर्दा जीवनमा सबैभन्दा धेरै खुशी भएकी थिएँ ।  (२०७७ बैशाख २८ गते आइतबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित साताको राष्ट्रसेवक स्तम्भ)

जिशिअले पार्टीको सदस्यता मागेपछि…

यसरी चल्नेछ कर्णालीको संसद

जिशिअले पार्टीको सदस्यता मागेपछि…

पर्साका पत्रकारसहित कोरोना संक्रमित १९१ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *