सरकार अन्योलमै, प्रतिष्ठानले किन्यो किट
सुर्खेत, २७ बैशाख ।
कर्णाली प्रदेश र संघीय सरकारले समयमै प्रयोगशाला सामग्री खरिद गर्न नसकिरहेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने टेन्डर प्रक्रियाबाट किट खरिद गरेको छ । प्रतिष्ठानमा अहिले पनि पीसीआर परीक्षण रोकिएको छैन ।
प्रतिष्ठानले टेन्डर प्रक्रियामार्फत पहिलो चरणमा एक–एक हजार थान भीटीएम (भाइरल ट्रान्सफर्म मिडियम), प्रोसेसिङको लागि चाहिने आरएनए एक्स्ट्रयाक्सन किट र रिएजेन्ट खरिद गरिसकेको छ । चिनियाँ कम्पनी डिल्याबले बिहीबारसम्म सामान काठमाडौं ल्याउने र दुई÷तीन दिनमा जुम्ला ल्याइपु¥याइने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार डिल्याब करिब एक महिनाअघि आरटी–पीसीआर मेसिन र प्रयोगशाला सामग्री खरिदको लागि टेन्डर प्रक्रियाबाट छनौट भएको थियो ।
प्रतिष्ठानले युरोपियन स्ट्यान्डर्ड (सीई सर्टिफाइड) का रिएजेन्ट र आरएनए एक्स्ट्रयाक्सन किट तथा अमेरिकन स्ट्यान्डर्ड (यूएसएफएडी) का भीटीएम ल्याउन लागेको हो । यी दुवै स्ट्न्यान्डर्ड आइएसओ सर्टिफाइड (इन्टरनेसनल अर्गनाइजेससन फर स्ट्यान्डरडाइजेसन) हुन् । सोही कम्पनीले दुइहजार थान आरडीटी (¥यापिड डाइग्नोस्टिक टेस्ट) किट पनि ल्याउन लागेको छ । यसको लागि खरिद प्रक्रिया सुरु भएको र शनिबारसम्म किट काठमाडौं आइपुग्ने रजिष्ट्रार काफ्लेले बताए ।
प्रतिष्ठानले जुम्ला, मुगु, कालीकोट र हुम्लामा पीसीआर तथा आरडीटी परीक्षणको जिम्मा लिएको छ । यी जिल्लामा ९÷९ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि पठाउन लागिएको रजिष्ट्रार काफ्लेको भनाइ छ । ‘हामीले संघ र प्रदेश सरकारसँग पनि थप प्रयोगशाला सामग्री मागेका छौं,’ उनले भने, ‘ढिलो हुने भएकोले आफैले पनि खरिद सुरु गरेका हौं ।’ सोमबारदेखि पीसीआर परीक्षण सुरु भएको प्रतिष्ठानमा अहिले एकसय ७० वटा स्वाब परीक्षण गर्न सक्ने गरी किट स्टक रहेका उनले बताए ।