प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण

सुर्खेत, ११ भदौं ।
प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार संक्रमण देखिनेहरुमा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका निर्देशक डा. डम्बर खड्काले कोरोना विशेष अस्पतालमा संक्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर संक्रमणको लक्षण देखिएका व्यक्तिबाट जोखिम बढेको बताए ।

हाल कोरोना विशेष अस्पतालमा २३ जना संक्रमित उपचाररत छन् । चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालले बिहीवारदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ । यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

चिया पसलका सञ्चालक र कालीगढमा कोरोना
सुर्खेतमा चिया पसल सञ्चालक, सुरक्षाकर्मी र कालिगढमा कोरोना संक्रमण देखिएको थियो । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका–८ इत्रामका चिया पसल सञ्चालकको परिवारका ४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार वीरेन्द्रनगर–६ का एक सुनचाँदी पसलका कालिगढलाई पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै सुर्खेतको बबइ नाकामा पीसीआर परीक्षण गर्दा धनुषा र कञ्चनपुर घर भएका दुई जना चालकमा पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए । सुर्खेतमै एक प्रहरीमा पनि संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा मंगलबार १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सुर्खेतका पाँच जना, दैलेख र कालीकोटका ४/४ जना, सल्यानका दुई, जुम्ला, धनुषा र कञ्चनपुरका एकरएक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ । कर्णालीमा मंगलबार १५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

इमर्जेन्सीबाहेक सबै सेवा बन्द
जिल्ला अस्पताल मुगुमा मंगलबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको छ । सोमबार स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एक जना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि महामारी फैलिन नदिन जिल्ला अस्पतालको इमर्जेन्सी सेवाबाहेक सबै सेवा एक साताका निम्ति बन्द गरिएको जिल्ला स्वास्थ्य सेवा अधिकृत निर्मल नगरकोटीले बताए ।

मुगु अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी चिकित्सक नर्स, अनमी र अन्य स्थानीयलाई गरी ६२ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँदा एक कर्मचारीको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कोरोना पोजिटिभ कर्मचारीलाई उपचारका लागि सोमबारदेखि नै आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । कोरोना महामारी फैलिन नदिन एक साताका निम्ति गमगढी बजार क्षेत्रलाई नै सिल गर्ने जिल्ला प्रशासन कार्यालयले तयारी थालेको छ ।

तपाईको प्रतिक्रिया