पाँच दिनदेखि मोबाइल नेटवर्कमा समस्या
हुम्ला, २२ मंसिर ।
विगत पाँच दिनदेखि हुम्लामा नेपाल टेलिकम तथा एनसेलको मोबाइल नेटवर्कमा खराबी आउँदा सेवाग्राहीलाई समस्या भएको छ । दुबै कम्पनीको मोबाइल नेटवर्कमा घण्टी जाने तर आवाज नसुनिने समस्या देखिएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो । स्थानीय नन्दबहादुर सिंहले मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट नसुनिने गुनासो गरे। बिहान र बेलुका नेटवर्कले केही काम गरेपनि दिउँसो बढी समस्या देखिएको उनले बताए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले पनि मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको बताए । नागरिकबाट मोबाइल नेटवर्कले काम नगरेको गुनासो आएपछि टेलिकमलाई सो अवरोध हटाउन पत्राचार गरेको उनले जानकारी दिए । हाल टेलिकमको मोबाइल नेटवर्कमा देखिएको समस्याले सेवाग्राहीलाई मर्का परेको बताउँदै टेलिकम प्रमुख शिव भट्टराईले यो हुम्लाको मात्रै समस्या नभएको बताए । उनले यो समस्या जुम्ला र कालिकोटमा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको बताए । मोबाइल टावरको क्षमता कम र सिम बढी वतरण भएको हुँदा पनि यो समस्या देखिएको भट्टराईको भनाइ छ ।
प्रमुख भट्टराईले जिल्लामा मोबाइल नेटवर्कमा देखिएको समस्याका सम्बन्धमा टेलिकमको क्षेत्रीय कार्यालयलाई जानकारी गराइसकेको बताए । हुम्लामा नेपाल टेलिकममा मात्र नभई निजी क्षेत्रको एनसेलमा पनि आवाज नसुनिने समस्या छ ।