कसम खुवाएर धमाधम क्वारेन्टाइनबाट घर पठाइँदै

सुर्खेत, २३ जेष्ठ ।
दैलेखको नारायण नगरपालिकामा सोमबारसम्म एकहजार चारसय २० जना विभिन्न क्वारेन्टाइनमा बसेका थिए । तिमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । तर मंगलबार मात्रै जिल्ला विपद् व्यवस्थापन समितिबाट नगरपालिकालाई एउटा परिपत्र आयो । त्यसमा लेखिएको थियो १० दिनसम्म क्वारेन्टाइनमा बसेकालाई आरडीटी चेक गर्ने र नेगेटिभ रिपोर्ट आएकाहरुलाई लिखित सम्झौता गरेर घर पठाउने ।

उक्त पत्र प्राप्त भएपछि नारायण नगरपालिकाले आरडीटी टेष्ट गर्ने कामलाई तीब्रता दिएको छ । तीन दिनसम्म झण्डै चारसय भन्दा बढीलाई घर पठाइएको छ । तर क्वारेन्टाइनबाट घर पठाउनु अघि उनीहरुलाई कसम खुवाउने गरिएको छ । साथै एउटा पत्रमा हस्ताक्षर पनि गराउने गरिएको छ । क्वारेन्टाइनबाट घर पठाइएकाहरुलाई हस्ताक्षर गराउने पत्रमा लेखिएको छ,‘म होम क्वारेन्टाइनको मापदण्ड पुरा गरेर घरमा सुरक्षित बस्नेछु, निश्चित अवधिभर पुरा नहुँदासम्म कसैसँग पनि भेटघाट र घुरफिर गर्नेछैन ।’

नगरप्रमुख रत्नबहादुर खड्काले क्वारेन्टाइनबाट घर पठाइए पनि उनीहरुलाई सुरक्षित रहने गरी कसम नै खुवाएर मात्र पठाउने गरिएको बताए । यसले क्वारेन्टाइनबाट घर गएकाहरु सुरक्षित बस्ने उनले दाबी गरे । ‘भारतबाट फर्किएका सबैको पीसीआर परीक्षण सम्भव देखिएन, पहिलेदेखि पठाएका थुप्रै स्वाबहरुको रिपोर्ट नै आएको छैन’ नगरप्रमुख खड्काले भने, ‘विपद् व्यवस्थापन समितिको परिपत्र अनुसार १० दिनसम्म क्वारेन्टाइनमा बसेकालाई आरडीटी चेक गर्ने र रिपोर्ट नेगेटिभ आएका सबैलाई यसरी नै लिखित कसम खुवाएर घर पठाउने गरेका छौँ ।’

उनका अनुसरा कसम खुवाएर क्वारेन्टाइनबाट घर पठाएकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिले पनि रेखदेख गर्नेछन् । ‘नगरपालिकाले कसम मात्रै खुवाएको छैन, वडाका जनप्रतनिधिहरुले पनि उनीहरु होम क्वारेन्टाइनमा बसे नबसेको रेखदेख गर्नेछन्’ उनले भने, ‘ अब आरडीटी पोजेटिभ आएकालाई मात्र क्वारेन्टाइनमा राख्ने र पीसीआर पोजेटिभ आएकालाई आइसोलेसनमा राखिने छ, यो हाम्रो बाध्यता हो ।’ क्वारेन्टाइनको क्षमताभन्दा दोब्बर संख्यामा नागरिकहरु गाउँ फर्किएपछि क्वारेन्टाइनमा थेग्न समस्या भएको उनको भनाइ छ ।

यसरी आरडीटी परीक्षण गरेर हतारमा नागरिकलाई घर पठाउने नारायण नगरपालिका एक्लो होइन । कर्णालीका अधिकांश स्थानीय तहमा क्वारेन्टाइनको क्षमताभन्दा बढी नागरिक गाउँ फर्किएपछि आरडीटी टेष्ट गर्दै घर पठाउने गरिएको छ । १४ दिनभित्र पीसीआर गर्न सम्भव नभएपछि अधिकांश स्थानीय तहले आरडीटी रिपोर्ट नेगेटिभ आएकै भरमा कोरोना संक्रमणभुक्त भएको ठानेर नागरिकलाई घर पठाउने गरेका छन् । उसो त कर्णाली तीन वटा पीसीआर मेसिनले पनि तोकिएको समयभित्र कोरोना परीक्षण गर्न सम्भव छैन । ‘२४ घण्टा खट्दा पनि दैनिक बढीमा पाँचसय जनाको पीसीआर परीक्षण सम्भव गरेका छौं’ कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले भने, ‘पीसीआर मेसिन थप नभएसम्म विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण सम्भव छैन ।’

आठ जनालाई आज डिस्चार्ज गरिदैं
कर्णाली प्रदेशमा आठ जनाले कोरोनालाई जितेका छन् । केही दिनअघि कोरोना संक्रमण देखिएका उनीहरुले दुई हप्तामै कोरोनालाई जितेका हुन् । कोरोना जितेका आठै जनालाई आज (शुक्रबार) घर पठाउने तयारी भइरहेको प्रदेश अस्पताल सर्खेतले जनाएको छ । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलका अनुसार नावालकसहित १० जनाले कोरोनालाई जितेका छन् । यद्यपी आमाले कोरोनालाई जित्न केही समय लाग्ने भएपछि आज आठ जनालाई मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको छ । डिस्चार्ज हुने अधिंकांश सुर्खेतका नागरिकहरु छन् ।

नारायण नगरपालिका कोरोनाको केन्द्र
दैलेखको नारायण नगरपालिका कोरोनाको इपिसेन्टर अर्थात केन्द्र बन्ने देखिएको छ । हालसम्म कोरोना परीक्षण गरिएका पीसीआर रिपोर्टले नारायण नगरपालिकामा सबैभन्दा धेरै संक्रमित पुष्टि भएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङक अनुसार यो नगरपालिकामा एकसय ९४ जना कोरोना संक्रमति छन् । बिहीबार एकैदिन उक्त नगरमा एकसय आठ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितसँगै दैलेखमा मात्रै कोरोना संक्रमितको संख्या दुइसय १७ जना पुगेका छ । हालसम्म सुर्खेतका ६२, सल्यानका ५३, जुम्लाका १९, कालीकोटका २४ र मुगुका दुई जना कोरोना संक्रमित पुष्टि भएका छन् । हाल कर्णालीमा कोरोना संक्रमितको कुल संख्या तीनसय ७७ पुगेको छ भने कर्णाली प्रदेशको प्रयोगशालामा परीक्षण गर्दा तीन सय ८९ जनामा कोरोना संक्रमित पुष्टि भएको छन् । जसमा सुदुरपश्चिमका अछामका १० जना, बझाङ र बाजुराका एक/एक जना रहेका छन् ।

आरडीटी परीक्षणले झुक्यायो
सुर्खेतमा कोरोना संक्रमण भए नभएको थाहा पाउने आरडीटी टेष्टले सुर्खेतमा झक्याएको छ । आरडीटीले झक्याएकै कारण पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेगाउँका २० वर्षीय युवाको ज्यान गएको छ । उनले अकालमा मृत्युवरण गर्नु परेको छ । १४ दिनको क्वारेन्टाइन बसेपछि संक्रमण भए÷नभएको पुष्टि गर्न उनका े आरडीटी परीक्षण गरिएको थियो ।

तर आरडीटीको रिपोर्ट नेगेटिभ आएपछि खुशी भएर क्वारेन्टाइनबाट घर पठाइएका उनको घर पुगेपछि मृत्यु भएको छ । वडाध्यक्ष धनबहादुर थापाका अनुसार मृतक युवा जेठ ९ गते भारतबाट फर्किएका थिए । ‘१४ दिनसम्म विद्यापुरको क्वारेन्टाइनमा बसेर उनी गाउँ आएका थिए’ वडाध्यक्ष थापाले भने, ‘आरडीटी गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, कुनै स्वास्थ्य समस्या थिएन । तर राती एक्कासी उनको मृत्यु भएछ ।’ मृतकसँगै क्वारेन्टाइनमा बसेका साथीहरुको भनाइअनुसार एक्कासी स्वास फेर्न गाह्रो भएको केही घण्टामै उनको मृत्यु भएको थियो ।

६ जना साथीहरु एउटै क्वारेन्टाइनमा बसेका थिए, खाना खाएर सुतेको र राती पौने दुई बजेतिर एक्कासी स्वाव फेर्न गाह्रो भयो भनेछन्’ क्वारेन्टाइनमा बसेका साथीहरुको भनाइ उदृत गर्दै वडाध्यक्ष थापाले भने, ‘स्वास फेर्न गाह्रो भयो भनेपछि पारिवारलाई खबर पनि गरेछन्, तर उपचार हुन नपाउँदै मृत्युभयो ।’ यदी आरटीडी परीक्षण नगरिएको भए उनी थप केहीदिन क्वारेन्टाइनमा बस्नुपथ्र्याे । स्वास्थ्य समस्या आए पनि क्वारेन्टाइनमा उपचार पाउँथे । तर आरडीटी परीक्षणपछि ढक्क भएर घर पुगेका उनको मृत्यु नै भयो ।

तपाईको प्रतिक्रिया