बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

सल्यान, १६ कार्तिक ।

कालीमाटी गाउँपालिकाका किसानहरू बेमौसमी तरकारीतर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानी र कम जमिनमा मनग्य आम्दानी गर्न सकिने भएपछि उनीहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

मौसमी खेतीभन्दा बेमौसमी तरकारी खेती गर्दा तरकारीले राम्रो मूल्य पाउने र बजारको पनि अभाव नहुने गरेको कालीमाटी–२ की कृषक खुमा भण्डारी पंगालीले बताइन् । ‘विगतमा वर्षहरूमा त हामीले मौसमी तरकारी खेती गर्दै आइरहेका थियौ, बजारमा मूल्य नहुँदा घाटा खाएर भएपनि बिक्री गर्न बाध्य हुन्थ्यौं,’ उनले भनिन्, ‘तर बेमौसमी तरकारी खेती गर्न थालेपछि राम्रै आम्दानी हुँदै आइरहेको छ ।’ मौसमी तरकारी खेती गर्दा विगतका वर्षमा वर्षभरिमा ५०÷६० हजार रुपैयाँ आम्दानी लिन पनि निकै गाह्रो हुने गरेको पंगालीले सुनाइन् ।

तर बेमौसमी तरकारी खेती गर्न थालेपछि एक वर्षमा सबै खर्च कटाएर दुई लाख रुपैयाँ आम्दानी भएको उनले बताइन् । एक रोपनी जग्गामा तरकारी खेतीबाट सुरु गरेकी पंगालीले अहिले सात रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेती गर्दै आइरहेकी छन् । बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी भए पनि रोग तथा किराको संक्रमण धेरै हुने उनको अनुभव छ । रोग तथा किराबाट जोगाउन उनले विभिन्न जैविक विषादीको प्रयोग गर्दै आएकी छन् ।

यस्तै, कालीमाटी–२ का पूर्णप्रसाद खनालले पनि बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी हुने गरेका बताए । ‘पहिले आम्दानीको स्रोत भनेको गाउँमा नभई भारतको सिम्ला थियो । आफ्नो गाउँ ठाउँलाई वास्ता नगरी घर छोडेर जानु परेको थियो,’ उनले भने, ‘तर गाउँमै बसेर पनि राम्रो आम्दानी लिन सकिने भएपछि तरकारी खेतीतर्फ लागेको हुँ । यही तरकारी खेतीबाट आजभोलि मैले पाँचजनाको परिवार पाल्दै आइरहेको छु ।’ नेपालका युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेको बताउँदै उनले आफ्नै गाउँमा पनि पसिना बगाउन सक्ने हो भने सुन फलाउन सकिने उनको अनुभव छ ।

बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी

डिजिटल कर प्रणाली लागु

Leave a comment

Your email address will not be published. Required fields are marked *